काठमाडौँ बैशाख १४ । पूर्व संघीय समाजवादीका सांसद डा. सुरेन्द्र यादवको अपहरण भएको भन्दै पूर्व आईजिपी सर्वेन्द्र खनाल, नेकपाका सांसद महेश बस्नेत र किसन श्रेष्ठ विरुद्ध महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दिन जनता समाजवादी पार्टीका नेताहरु टेकुमा पुगेर छलफल गरीरहेका छन् ।
पार्टी अध्यक्ष बाबुराम भट्टराईकै नेतृत्वमा अन्य नेताहरु समेत गएर जाहेरी पार्टीका नेताहरु उपेन्द्र यादव, राजेन्द्र महतो, हिसिला यमि तथा अपहरित भनिएका सांसद सुरेन्द्र यादव पनि परिसर पुगेका छन् । उनीहरु जाहेरी हातमा बोकेर बसे पनि प्रहरीले अहिले सम्म दर्ता गर्न भने बाँकी छ । हालै एकीकरण भएका राजपा र समाजवादीका नेताहरु टेकुस्थित नेपाल उद्योग वाणिज्य महासंघ परिसरमा आन्तरिक छलफल गरी परिसर पुगेका हुन् ।
वैशाख १० गते राति महोत्तरीस्थित घरबाटै सांसद यादवलाई पूर्व आईजीपी खनाल तथा सांसदद्वय बस्नेत र श्रेष्ठले जबर्जस्ती काठमाडौं ल्याएको आरोपमा समाजवादी पार्टीले लगाउँदै आएको छ ।
अब प्रहरीले के गर्ला त्यो भने प्रतिक्षाको बिषय छ । संलग्न भनिएका सांसदहरु र पूर्व आईजिपी खनालले भने आफूहरुले अपहरण नगरेको दाबी गर्दै आएका छन् ।
समाजवादी पार्टी विभाजन गर्न सांसदको संख्या नपुगे पछि महोत्तरी पुगेर डा. यादवलाई उनीहरुले ल्याएका थिए ।
