सत्तारुढ नेकपाका कार्यकर्ताले जाजरकोटको भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीलाईआक्रमण गरेका छन् । मेयर आफै नेकपाका नेता पनि हुन् । उनलाई आफ्नै कार्यकर्ताले योजनामा विभेद गरेको भन्दै मलामी गएका बेला मुख र आखाँमा मुक्का हानेका थिए । नेकपाका नेता एवम् नगरप्रमुख घर्ती माथि शनिबार बिहान सत्तारुढ नेकपाकै युवा दस्ता युवा संघ नेपालका जिल्ला संयोजक दिपेन्द्र शाही सहितको एक समूहले मुक्का प्रहार गरेको हो ।
जिल्लाको भेरी नगरपालिका वडा नम्वर १० को फेराखोला स्थित भेरी किनारमा उक्त समुहले हातपात गरेको नेकपा जाजरकोटले जनाएको छ । सत्तारुढ नेकपाका कार्यकर्ता एवम् साविकको पुन्मा गाविसका अध्यक्ष मधु चन्दको मृत्युपछि उनको मलामी गएका नगरप्रमुख घर्तीलाई हातपात गरिएको नेकपा जाजरकोटका अध्यक्ष ढकवीर रानाले बताए । शाहीको समुहले गरेको मुक्का प्रहारबाट मेयर घर्तीको आँखा र मुखमा चोट लागेको अध्यक्ष रानाले बताए ।
नगर प्रमुख घर्ती पूर्वएमाले जाजरकोटका सचिव र अहिले नेकपाको कर्णाली प्रदेश समिति सदस्य हुन् । युवा संघका संयोजक शाही पूर्व एमाले निकट युवा संघ नेपाल जाजरकोटका पूर्वअध्यक्ष हुन् ।
मेयर घर्तीलाई आक्रमण गर्नेको खोजी भइरहेको जाजरकोट प्रहरी प्रमुख डिएसपी किशोरकुमार श्रेष्ठले बताए ।