लकडाउन लम्बिन्छ, हट्छ या खुकुलो हुन्छ ?उच्चस्तरीय समितिको बैठक बस्दै, यस्तो छ सरकारको तयारी

लकडाउन लम्बिन्छ, हट्छ या खुकुलो हुन्छ ?उच्चस्तरीय समितिको बैठक बस्दै, यस्तो छ सरकारको तयारी

  • शनिबार, बैशाख १३, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.4K
    SHARES

काठमाडौं, १३ वैशाख । लकडाउनको समयअवधि सकिन दुई दिन बाकीँ रहदा आज कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक बस्दै छ ।
बैठकले लकडाउनको मोडालिटी तयार पार्ने छ । तेस्रो पटक समय थप गरेर वैशाख १५ गते सम्म लकडाउन गरेको सरकारले नयाँ मोटालिटि तयार पारेर लकडाउनलाई बढाउने तयारी गरेको छ ।
उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिको आजको बैठकले सरकारको योजना अनुरुप त्यसबारे छलफल गरि निर्णय गर्ने छ । विज्ञहरूले कोभिड–१९ को महामारी विश्वमा कायम रहेसम्म नेपालले लकडाउन सहज बनाए पनि पहिलेजस्तै ‘पूर्ण स्वतन्त्र’ रूपमा काम गर्ने स्थिति नरहने बताएका छन् । लामो समयसम्म लकडाउन जान नसक्ने अवस्थामा कोभिड–१९ संक्रमण रोकेर कसरी सुरक्षित रूपमा दैनिक काम गर्ने विषयमा छलफल सुरु भएको छ । त्यसको उपायको खोजी गर्न थालिएको छ ।

यता,प्रधानमन्त्री केपी शर्मा ओलीले पनि लकडाउनको मोडालिटीबारे गृहकार्य गर्न समितिलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटरमा बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री ओलीले लकडाउन जारी रहने तर यसबारे केही सोच्न जरूरी रहेको बताएको एक मन्त्रीले जानकारी दिएका छन् ।
आजको समिति बैठकले दिएको सुझावका आधारमा मन्त्रिपरिषदको बैठकले अन्तिम निर्णय लिने छ । समितिले लकडाउनको मोडालिटी तयार पार्ने भए पनि आइतबारसम्म बस्ने मन्त्रिपरिषदले त्यसलाई अन्तिम रूप दिने ती मन्त्रीले बताएका छन् ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक एवं जनस्वास्थ्यविद् महेन्द्रप्रसाद श्रेष्ठले पनि मुलुकमा लकडाउन कसरी खोल्ने, कुन मोडेलमा जाने, कसरी संक्रमणको स्तर न्यून राख्दै मुलुकलाई विस्तारै कार्य व्यवहारमा फर्काउनेबारे छलफल सुरु गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘लकडाउन पूर्ण तयारीसाथ खोल्नुपर्छ, त्यसमा पनि मुलुककै स्थान विशेषका लागि त्यहाँको स्थितिअनुसार फरक–फरक प्रक्रिया अपनाउनुपर्ने हुन्छ ।’

वैशाख १५ गते लकडाउन सकिन लागेको अवस्थामा विज्ञहरूले संक्रमण न्यून गर्दै सुरक्षित विकल्पबारे छलफल सुरु गरेका हुन् । लकडाउनको एक महिनापछि राजधानीमा बिहीबारदेखि कोभिड–१९ का बिरामीविहीन बनेपछि अझ एक/दुई साता यहाँ कुनै केस नदेखिँदा भीडभाड नहुने गरी व्यक्तिगत दूरी कायम राखेर राजधानी केही खुकुलो गर्ने संकेत स्वास्थ्य मन्त्रालयका अधिकारीले दिएका छन् । उनीहरूले संक्रमण नियन्त्रणको उपायअनुसार केही ‘नियन्त्रण’ सहित काम गर्ने सुझाव दिएका हुन् ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक डा. टेड्रोस एडहेनोम घेबरेयेससले समेत भर्चुअल पत्रकार सम्मेलनमा ‘लकडाउन’ वा नियन्त्रण हटाउनुको अर्थ कुनै पनि देशमा महामारीको अन्त्य नभई यो दोस्रो चरणको सुरुवात मात्र रहेको बताउनु भएको छ । उहाँले भन्नुभएको छ, ‘दोस्रो चरणमा मुलुकहरूले आफ्नो नागरिकसँग कुराकानी गरेर उनीहरूलाई शिक्षित र सशक्त बनाउनुपर्छ, जसले गर्दा यो समस्या (भाइरसको संक्रमण) पुनः तीव्र गतिले उदय हुँदा जवाफी कारबाही गर्न सकियोस् ।’

उहाँले विभिन्न मुलुकहरू आफ्नो देशको अवस्था हेरेर लकडाउन खुकुलो पार्नु वा हटाए पनि पहिलेजस्तै ओहोरदोहोर आवागमन र पूर्ण स्वतन्त्र भएर हिँडडुल गर्न ध्यान दिनुपर्ने बताउनुभयो ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार राजधानीमा क्वारेन्टाइन सेन्टर, स्क्रिनिङ, अन द स्पोट टेस्ट’, निगरानीको व्यवस्थालगायतका प्रक्रिया अपनाएर लकडाउन खुकुलो बनाउन सकिन्छ । यही प्रक्रिया केही खास समयसम्म संक्रमण, नयाँ केस नदेखिएका अन्य सहर, गाउँ, ठाउँ, जिल्ला, प्रदेशमा खुकुलो नीति लिन सकिन्छ ।
इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलजिस्ट डा.वासुदेव पाण्डेले पनि नेपाल सुहाउँदो लकडाउन एक्जिट प्लान (लकडाउनबाट निस्किने योजना) बनाउने रसोहि अनुसार अघि बढ्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘संक्रमणको सम्भावित विस्तारलाई रोक्ने प्रक्रिया अपनाउँदै नियन्त्रित जीवनशैली अपनाएर दैनिक कार्य व्यवहार गर्नुपर्छ ।’

हाल मुलुकलाई लकडाउनबाट खुकुलो गर्ने विषयमा सरकारका उच्च निकायबीच छलफल सुरु भएको छ । दुई दिनभित्र राजधानी खुकुलो पार्नेरनपार्ने विषयमा निर्णय हुनेछ । तर लकडाउन खोल्दासमेत पहिलेजस्तै आम नागरिकलगायत सबैको स्वच्छन्द व्यवहार हाल सम्भव नरहेको औंल्याउँदै महानिर्देशक श्रेष्ठले भन्नुभयो, ‘स्थान विशेषमा लकडाउन खुले पनि व्यक्तिगत व्यवहार सुरक्षित हुनुपर्छ, घर बाहिर निस्किँदा सबैले मास्क लगाउनुपर्‍यो, नियमित रूपमा साबुन पानीले हात धुनुपर्‍यो, सामाजिक दूरी कायम राख्नुपर्‍यो । हाम्रो यस्तो व्यवहार हुनुपर्‍यो, जसले एकबाट अर्कोमा संक्रमणको विस्तार नहोस् ।’ तर सरकारले प्रदेश १ लाई न्यूनतम दुई महिना लकडाउन गर्नुपर्ने, प्रदेश २ मा स्थिति हेर्न व्यापक रूपमा संक्रमणको खोजी गर्ने रणनीति लिएको स्रोतले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ