दार्चुला, १२ वैशाख । कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी भएको एकमहिना पुरा भयो । सिमानाकामा धेरै नेपाली रोकिएका छन् । “भारत पिथौरागढको दार्चुलाको क्वारेन्टाइनमा मात्र बसेको एक महिना बित्न लाग्योे । पौडिन सक्ने जति महाकाली तरेर दिनहुँ गइरहन्छन् । हामी पौडन नसकेरै क्वारेन्टाइनमै छौँ”, बैतडीका दीपक चुनाराले भने, “स्वदेश फिर्ता ल्याउँछाँै ल्याउँछौँ भनेर भन्छन्, तर हामी कहिले आउन पाउने हो ?”
उनले क्वारेन्टाइनमा अहिलेसम्म स्वास्थ्य जाँच नभएकोमा दुःखेसो पोखे । गत चैत १३ गते दार्चुला पुगेदेखिका नेपालीहरू घर फर्किन पाएका छैनन् । क्वारेन्टाइनमा बसेकाहरू अझै स्वदेश फर्किन नपाउँदा निराश भएका छन् ।
भारत पिथौरागढको दार्चुलास्थित मिनीस्टडियममा बस्नुभएका उनीहरूले अहिलेसम्म आफूहरूको स्वास्थ्यप्रति सरकारले ध्यान नदिएको गुनासो गरेका छन् । उनीहरू एक महिनासम्म आफूहरूलाई सरकारले घर फर्काउन पहल नभएकोमा चिन्तित छन् ।
अमृत बोहरा भन्छन् , “क्वारेन्टाइनमा न खाना समयमा पाइन्छ, न बास बस्न नै राम्रो व्यवस्था छ । एउटै देशका नागरिकमाथि किन विभेद ।” नेपालमा पौडिएर गएकाहरू राम्रो गाउँघरका क्वारेन्टाइनमा छन् भने कोही गाउँ पुगिसके । हामी भाग्न नसक्नेहरू यहाँ बस्नुपरेको बोहराको भनाइ छ ।
उनले भने, “क्वारेन्टाइनबाट भागेर जानेहरूका कारण आफूहरूले समस्या झेल्नुपरेको छ । शौचालय जाँदा पनि केरकार गर्न थालेका छन् । दिशा गर्न महाकाली किनार जानुपर्छ । प्रत्येकलाई पाँच मिनेटको समयावधि दिइएको छ । गालीगलौच र कुटपिट हुन्छ, हाम्रो कहिले उद्धार हुन्छ”, उनले भने ।
तर उनीहरुसँगै क्वारेन्टाइनबाट भागेर आउने तथा ट्युब, महाकाली पौडिएर शुक्रबारसम्म २२० जना नेपाल प्रवेश गरेका छन् । लकडाउन अवधिमा अन्तर्राष्ट्रिय सीमानाका बन्द गरी सीमानाकामा हुने अवैध आवतजावतलाई पूर्णरूपमा नियन्त्रण गर्ने भनिए पनि उनीहरू महाकालीबाट अवैध रूपमा भित्रिएका हुन् ।
गत शुक्रबार मात्र मार्मा गाउँपालिका–६ का २५ वर्षीय प्रजापति देउरुखी र उहाँका श्रीमती २२ वर्षीया रेखा बोहरा महाकालीमा ट्युबमार्फत नेपाल भित्रिएका छन् । उनीहरू महाकाली नगरपालिका–९ उडै क्षेत्रबाट स्वदेश प्रवेश गरेको महाकाली नगरपालिका विपद् शाखा संयोजक भुवन जोशीले जानकारी दिनुभयो ।
रोजगारीको सिलसिलामा गएका दार्चुला, बैतडी, बझाङलगायत क्षेत्रका स्थानीयवासी दिनहुँजसो महाकाली नदी तरेर स्वदेश भित्रिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक भाष्कर चन्दले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको अध्यक्षतामा बसेको बैठकले जिल्लामा क्वारेन्टाइनमा रहेकाकोे समयावधि पुगिसकेका कारण स्वदेश ल्याउनका लागि सरकारलाई आग्रह गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।
“चार सातादेखि उनीहरू अप्ठ्यारोमा छन्”, उहाँले भन्नुभयो, “उनीहरूलाई तत्काल ल्याउने व्यवस्था मिलाउनुपर्छ ।” जिल्ला समन्वय समिति प्रमुख करवीरबहादुर कार्की बैठकले सरकारलाई धार्चुलामा रहेकाहरूलाई उद्धारका लागि आग्रह गर्ने निर्णय गरेको बताउनुभयो । तर १५ गतेसम्म पनि कुनै निर्णय नआए पनि दार्चुलाका स्थानीय तहहरूले व्यवस्थापन गर्ने गरी उद्धार गर्नुपर्छ भन्ने बैठकको निष्कर्ष रहेको उहाँल जानकारी दिनुभयो ।