बैशाख १२ काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले समाजवादी पार्टीका सांसदलाई अपहरणको शैलीमा राजधानी ल्याउने कार्यमा संलग्नहरुलाई कार्बाही गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
विवादीत अध्यादेश फिर्तालिएकोमा प्रधानमन्त्रीलाई धन्यवाद दिदै सांसद कब्जा काण्डमा संलग्नलाई कार्बाही गर्न माग गरेका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्रीलाई भेटेरै देउवाले यस्तो ध्यानाकर्षण गराएका हुन् ।
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको प्रेस नोटमा देउवाले एक सासदलाई अपहरणको शैलीमा काठमाण्डौं ल्याउनेमाथि कार्बाहीको माग देशभर उठेको छ , मेरो पनि माग यही छ दोषीमाथि निस्पक्ष छानविन र अनुसन्धान गरी कार्बाही गर्नु पर्छ भनेर प्रधानमन्त्रीसगँ माग गरेको उल्लेख छ ।
समाजवादी पार्टी फुटाउन सो पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई नेकपाका सांसदहरु महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्व आइजिपी सर्वेन्द्र खनालले अपहरण गरेर काठमाडौं ल्याएको समाजवादी पार्टीको दाबी छ ।
समाजवादी पार्टी फोर्ने उद्देश्यले ओलीकै निर्देशनमा उनको अपरहण गरिएको आरोप समाजवादीले आरोप लगाएको थियो । यादवलाई बस्नेत, श्रेष्ठ र खनालले काठमाडौं ल्याएका भए पनि समाजवादी र राजपाबीच एकता भएपछि उनी काठमाडौंको मेरियट होटलबाट फुत्केर बाहिर जान सफल भएका थिए ।
स्वास्थ्यकर्मीलाई हतोत्साहित नबनाउन, श्रमिकलाई खान दिन र गाँउ जान दिन पनि देउवाले माग गरेको प्रेस नोटमा उल्लेख छ । सबै श्रमिक, विद्यार्थी र पीडित नागरिकका लागि अर्को राहत प्याकेज ल्याउन देउवाको माग छ ।
त्यसै गरी विदेशमा रहेका श्रमिक नेपालीहरुलाई तत्काल उद्धार गर्ने बारे योजना ल्याउन समेत देउवाले माग गरेका छन् ।
’बिदेशमा रहेका नेपालीले हिजो देशलाई रेमिटेन्स पठाएर योगदान गरे, आज उनीहरु अप्ठ्यारोमा परेका छन्। त्यस्तो स्थितिमा रहेका नेपालीलाई उद्दार गर्ने बारे तत्काल योजना सार्वजनिक गर्नोस् र कार्यान्वयन थाल्नोस्,’ देउवाले प्रधानमन्त्रीसगँ माग गरेका छन् ।