काठमाडौं, ११ वैशाख ।
कोरोना संक्रमित दुई जना आज निको भएर घर फर्किएका छन् । पाटन अस्पतालमा उपचारत कागेश्वरी मनोहरा नगरपालिका ९ पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका ५८ वर्षीय पुरुष र ८१ वर्षीय महिला बिहीबार डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यो संगै नेपालमा कोरोना संक्रमण भएर निको भई डिस्चार्ज हुनेको संख्या ९ पुगेको छ। काठमाडौंको पेप्सिकोलाका पुरुष र महिला निको भएर डिस्चार्ज भएको आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकाश देवकोटाले जानकारी दिनुभयो ।
काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टबाट उनीहरुलाई संक्रमण पुस्टि भएपछि वैशाख १ गते पाटन अस्पताल भर्ना गरिएकाे थियाे ।उनीहरु गत चैत्र ५ गते नेपाल बेलायतबाट नेपाल आएका थिए।
आरडीटी प्रविधिबाट परीक्षण गर्दा उक्त अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका तीनजनामा कोरोना संक्रमण देखिएको थियो। पुन: परीक्षण गराउँदा दुईजनामा मात्र संक्रमण देखिएको थियो।
उनीहरुलाई मूलपानीस्थित नगर अस्पतालका सुरक्षाकर्मी र सेनाको टोलीले र्यापिड टेस्ट प्रविधिमार्फत परीक्षण गरेको थियो। नमूना रिपोर्टमा पोजेटिभ देखिएपछि पुन: परीक्षण गर्दा कोरोना रिपोर्ट नेगेटिभ आएको थियो।
यस्तै बिहीबार थप दुईजनामा कोरोना संक्रमण देखिएको छ।कोरोना संक्रमितको संख्या ४७ पुगेको छ। थप दुई जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा भएको परीक्षणमा जनकपुरका १४ वर्षीय बालक र उदयपुरकी ५५ वर्षीया महिलामा कोरोना पोजिटिभ देखिएको जानकारी दिए। यो सँगै संक्रमितको संख्या ४७ पुगेको हो।