काठमाण्डौं बैशाख ११ । अप्रत्यासीत रुपमा गत सोमबार दल विभाजन सम्बन्धि खुकुलो प्रावधान राखेर ल्याईएको अध्यादेश पार्टी भित्रै र बाहिर पनि चौतर्फी विवादमा परे पछि फिर्ता लिने मनस्थितिमा प्रधानमन्त्री पुगेका छन् ।
आज बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधव कुमार नेपालसँगको भेटमा अलग अलग भेटमा ओलीले अध्यादेशले नकारात्मक विवाद सिर्जना गरेको भन्दै आफू फिर्ता लिन तयार भएको सन्देश दिएको बताईएको छ ।
अध्यादेश फिर्ता लिने मनशाय बनाए पछि पार्टीका संघीय सांसदहरुसगँको आजको छलफल समेत स्थगित गरिएको नेकपा स्रोतले जनाएको छ ।
यदी प्रधानमन्त्री बचनमा अडिए भने आज बेलुका सम्ममा त्यो दुवै अध्यादेश पिर्ता हुन सक्ने छ ।
संविधानको धारा ११४ को उपधारा २ ’ख’मा सरकारको सिफारिसमा राष्ट्रपतिले अध्यादेश खारेज गर्न सक्ने व्यवस्था छ ।
राष्ट्रपति कार्यालयले पनि बिहीबार नै केही कानुन व्यवसायीलाई अध्यादेश फिर्ता लिने बारे छलफल गरेको छ । जसबाट अध्यादेश पिर्ताको तयारीको अनुमान गरिएको हो ।
नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले अन्य दल फुटाउनका लागि अध्यादेश ल्याएको बताएका थिए । अध्यादेश लगत्तै समाजवादी र राजपाबीच बुधबार एकता भइसकेको छ । फुट्न तयार भएका समाजवादी पार्टीका केही सांसद समेत मेरियट होटलबाट निस्केको सार्वजनिक भएको थियो ।
यस्तै विपक्षीहरु काँग्रेसको नेतृत्वमा गोलबद्ध हुदै अघि बढ्न थाले पछि , पार्टी भित्रै शीर्ष नेताहरु नै अध्यादेशको विपक्षमा रहे पछि , कानुन व्यवशायी एवं नागरिक समाज चारैतिरबाट आलोचना भए पछि प्रधानमन्त्री ओली यसलाई फिर्ता गर्ने दिशामा अघि बढेको बताईएको छ ।