वैशाख १०, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच एकीकरण गर्ने सहमति भएको छ । नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल राखिएको छ ।
राजपा अध्यक्ष मण्डलका संयोजक शरदसिंह भण्डारीको निवासमा बुधबार राति भएको वार्तामा दुई पार्टीबिच एकता गर्ने सहमती जुटेको हो ।
एकिकृत पार्टीको झण्डा समाजवादी पार्टीको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा राख्ने सहमति गरिएको छ। त्यसैगरि चुनाव चिन्ह भने राजपा नेपालले प्रयोग गर्ने छातालाई राख्ने सहमति गरिएको छ।
सहमतिमा दुवै पार्टीका चार–चार जना नेताले हस्ताक्षर गरेका छन् । समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले एकतामा सहमति जुटेको र एकीकृत पार्टीको नाम जनता समाजवादी राखिएको बताए।राजपाका नेता राजेन्द्र महतोले बिहिवार नै निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गरिने बताउनु भयो ।
करीब ११ बजे राति भएको सहमतिमा राजपबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरतसिंह भण्डारीले हस्ताक्षर गरेका छन् भने समाजवादीबाट बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
दल विभाजन खुकुलो हुनेगरी सरकारले सोमबार अध्यादेश जारी गरेपछि समाजवादी फुट्ने अनुमान गरिएका बेला समाजवादी र जनता पार्टीबीच रातारात एकता भएपछि राष्ट्रिय राजनीतिक नयाँ तरंग पैदा भएको छ ।
समाजवादी पार्टीको एउटा समूह अलग गराउने योजना अनुरुप प्रधानमन्त्री केपी ओलीले अचानक अध्यादेश ल्याएपछि त्यसलाई रोक्ने प्रयाससँगै दुई दलले एकता वार्तालाई टुंगोमा र्पुयाएका हुन् ।
स्रोतका अनुसार नेतृत्वको विषय टुंगिएको छैन । तर दुवै पार्टीका नेताहरुले यसमा समस्या नहुने बताएका छन् ।
