वैशाख १०, काठमाडौँ । स्थायी समितिको बैठक माग गर्दै सत्तनरुढ नेकपाका २० स्थायी समिमि सदस्यले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पत्र बुझाएका छन् ।
बुधवार २० जना स्थायी कमिटी सदस्यहरुले अध्यक्षद्धयलाई संयुक्त पत्र लेखेर तत्काल स्थायी समिति र केन्द्रीय समिति बैठक बोलाउन माग गरेका हुन् ।
पत्रमा सरकारले ल्याएको अध्यादेश र कोरोना संक्रमणको विषयमा छलफल गर्न माग गर्दै बैठक बोलाउन माग गरिएको छ ।
यसरी बैठक बोलाउन माग गर्नेहरुमा अष्टलक्ष्मी शाक्य, गणेश शाह, गोकर्ण विष्ट, चक्रपाणी खनाल, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, पम्फा भुसाल, वेदुराम भुसाल र भीमप्रसाद आचार्य छन् ।
त्यस्तै भीमबहादुर रावल, मणिचन्द्र थापा, मातृकाप्रसाद यादव, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, रघुजी पन्त, लिलामणि पोखरेल, सुरेन्द्रप्रसाद पाण्डे र हरिबोल गजुरेलले पनि बैठक बोलाउन माग गरिएको पत्रमा हस्ताक्षर गरेका छन् ।
पार्टीमा कुनै छलफल नगरी राजनीतिक दलसम्बन्धी ऐन, २०७३ र संवैधानिक परिषद् (काम, कर्तब्य र अधिकार) सम्बन्धी ऐन, २०६६ मा संशोधन गरी अध्यादेश जारी गरिएको र यसले राष्ट्रका सामु उपस्थित मूल समस्या समाधान गर्ने जिम्मेवारीबाट ध्यान अनावश्यक विषयमा अन्यत्र मोडिनसक्ने देखिएको भन्दै छलफलका लागि सदस्यहरुले बैठक माग गरेका छन् ।
पत्र बुधबार नै ईमेल मार्फत अध्यक्षद्वयलाई बुझाइएको नेता बेदुराम भुसालले बताउनु भयो । देश र जनता सामु आएको कोरोना भाइरस संक्रमणको गम्भीर स्वास्थ्य संकट र त्यसबाट सिर्जित समस्याहरु तथा नेपालको राजनीतिक प्रणाली तथा संविधानको मर्ममा असर पार्ने कानुन संशोधन गर्ने अध्यादेश जस्तो संवदेनशील विषयमा पार्टीमा गहन र व्यापक छलफल गरिनु पर्दछ । यसका लागि स्थायी कमिटीको बैठक तत्काल बोलाइयोस् भनी माग गर्दछौं,’ पत्रमा लेखिएको छ ।
यस्तै ‘स्थायी कमिटीको बैठकपछि केन्द्रीय कमिटीको बैठकमा समेत यी विषयमा छलफल गरी विद्यमान चुनौतीको सामना गर्न सामूहिक निर्णय र संकल्प गरियोस् भन्नेमा जोड दिन चाहन्छा,ैं पत्रमा उल्लेख गरिएको छ ।’
पार्टीको सामूहिक विवेक, बुद्धि र शक्ति लगाएर समस्याको समाधानलाई सहज तुल्याउने एवं पार्टीप्रतिको जनविश्वासलाई बलियो बनाउनेतर्फ नेतृत्वबाट पहल हुने उनीहरुले अपेक्षा गरेका छन् ।