काठमाडौँ बैशाख १० । सरकारले ल्याएका अध्यादेशले लोकतान्त्रिक मूल्य र मान्यता समाप्त पारेको ठहर सति काँग्रेस सहितका बिपक्षी दलहरुले मोर्चा बनाउदै लगेका छन् । काँग्रेसको नेतृत्वमा आज बसेको बिपक्षी दलहरुको बैठकले अध्यादेश अविलम्व फिर्ता लिएर संसद बैठक बोलाउन माग गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको बिपक्षी दलहरुको बैठकले तत्काल संसद अधिवेशन बोलाउने सहितका ६ बुँदे सरोकारका बिषय अघि सारेका छन्। कांग्रेसले बोलाएको विपक्षीहरुको बैठकमा समाजवादी, राजापा र राप्रपाका नेताहरु सहभागी थिए ।
कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले सरकारले अध्यादेश मार्फत थप निरकुश बन्ने देखिएको भन्दै अब नागरिक समाज सहित सबै पक्षसगँ छलफल गरेर प्रतिवाद गर्ने बताए ।
कोरोना भाईरसको संक्रमणका कारण आम जनजीवन अस्तव्यस्त भएको र नागरिकको दुःखप्रति सरकार संवेदेनशील नभएको भन्दै बिपक्षीहरुले यस कदमको विरोध गर्न अपील गरेको छ । काँग्रेसले यसलाई लोकतन्त्रका लागि अशुभ संकेत भन्दै यसको प्रतिवाद गर्ने यस अघि निर्णय गरेको थियो ।