काठमाडौं, ९ वैशाख । नेपालमा पहिलाे पटक स्वास्थ्यकर्मीमा आरडिटी परीक्षणमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएको छ ।
काठमाडौमा २ जना नर्सलाई आरडिटी परीक्षणमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएको हाे । त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारमा खटिएका २ जना नर्समा २ पटक गरिएको र्यापिड टेष्ट परीक्षणमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएको हो ।
आरडिटी परीक्षणमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएपछि उनीहरुलाई पीसीआर विधिबाट परीक्षण गरिने भएको छ ।
उनीहरु दुवैलाई अहिले काठमाडौंको टेकु अस्पतालमा आइसोलेसनमा राखिएको अस्पतालका प्रवक्ता अनुप बास्तोलाले जानकारी दिएका छन्। आइसोलेसनमा राखिएका उनीहरुको पीसीआर विधिबाट परीक्षण हुँदै गरेको बास्तोलाले बताए ।
यद्वपि उनीहरुमा कोरोना संक्रमण भए नभएको अन्तिम पुष्टि भने पीसीआर विधिबाट गरिएको परीक्षणबाट मात्रै हुने उनले बताए । नर्सहरुको अवस्था अहिले सामान्य रहेको छ ।
आज मात्रै उदयपुरका ११ जनामा काेराेना संक्रमण पुष्टि भएको थियो । योसहित अहिलेसम्म नेपालमा ४२ जनामा कोरोना संक्रमण भएको पुष्टि भैसकेको छ । जसमा ५ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।मंगलवार नै एक जना निकाे भएर घर फर्किएका हुन् । अहिलेसम्म ८ हजार ७ सय ७४ जनामा स्वास्थ्य परीक्षण गरिएको छ । तीमध्ये ८ हजार ७ सय ३२ जनामा संक्रमण देखिएको छैन ।