वैशाख ७, काठमाडौँ ।
कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण आफूहरूले खाना र बस्न नपाएको भन्दै राजधानी काठमाडौंकै ५ सय २ जना मजदुरले तत्काल राहत दिन र उद्धार गरिदिन सरकारसँग माग गरेका छन् ।
आइतवार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको संयन्त्रमा फोन सम्पर्क गरी ती मजदुरहरुले आफूहरूलाई तत्काल खानपान र घर जाने व्यवस्था मिलाइदिन सरकारसँग आग्रह गरेका हुन् ।
उनीहरूले लकडाउनका कारण आफू कार्यरत उद्योगहरू बन्द भएका कारण खाना नै नपाएको उल्लेख गर्दै आफूहरूलाई घर फर्कने व्यवस्था मिलाइदिन आग्रह गरेकोसंघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव वसन्त अधिकारीले जानकारी दिनुभयो ।
अधिकारीका अनुसार त्यसरी आग्रह गर्नेहरुमा चाँगुनारायण नगरपालिका– ८ को मञ्जुश्री इँटाभट्टाका १ सय ५२, सूर्य्विनायक–९ को हनुमान ५ नं. इँटाभट्टाका १ सय ९, भक्तपुर ताथलीको हनुमान ३ नं. इँटाभट्टाका १ सय ८, ललितपुरको दक्षिणकाली इँटा उद्योगका ४०, गोदामचौरको मनकामना इँटाभट्टाका ५३, जगातीमा रहेका विभिन्न उद्योगका ४० जना मजदुर रहेका छन् ।
उनीहरु सबैले लकडाउनपछि आफूहरू कार्यरत उद्योग बन्द हुँदा रोजीरोटी खोसिएको उल्लेख गर्दै तत्काल खानपान र घर फर्कने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् । गुहार माग्ने मजदुर धेरैजसो रुकुम र रोल्पाको रहेको जानकारीसमेत अधिकारीले दिनुभयो ।
अधिकारीका अनुसार संघीय मामिला मन्त्रालयले ती मजदुर रहेका पालिकाहरूका प्रमुख कार्यकारी अधिकृतलाई आइतबार नै फोन सम्पर्क गरी उनीहरूलाई राहत दिई खानपिनको व्यवस्था मिलाउन निर्देशन दिइसकेको छ ।
सम्बन्धित पालिकाहरूले उनीहरूलाई आज सोमबार नै राहत दिई खानपिनको व्यवस्था मिलाउने छन् । संघीय मामिला मन्त्रालयले लकडाउन अवधिभर उनीहरूलाई घर फर्काउन ँ नसकिने जानकारी गराउँदै अहिले भएकै ठाउँमा बसिदिन आग्रह गरेको छ ।
मन्त्रालयले मजदुर, असंगठित क्षेत्रका श्रमिक र विपन्न तथा असहाय वर्गलाई लकडाउनका कारण खानपानमा समस्या आएको जानकारी पाउनासाथ तत्काल राहतको व्यवस्था गर्न सात जना फोकल पर्सन तोकेको छ ।
जानकारी पाउनासाथ ती फोकल पर्सनले सम्बन्धित पालिकाका प्रमुख कार्यकारी अधिकृतलाई निर्देशन दिई श्रमिक, विपन्न र असहायलाई राहत उपलब्ध गराउने जानकारी अधिकारीले दिनुभयो ।
प्रदेश १ मा प्रह्लाद कार्की, प्रदेश २मा ऋषिराज आचार्य, बागमती प्रदेशमा अच्युत रेग्मी, गण्डकी प्रदेश बाबुराम भुसाल, ५ नं. प्रदेशमा डिलाराम पन्थी, कर्णाली प्रदेशमा रामप्रसाद वाग्ले र सुदूर पश्चिम प्रदेशमा रेशमलाल कँडेललाई फोकल पर्सन तोकिएको जनाईएको छ ।
उता, आइतवार भक्तपुर र ललितपुरमा अलपत्र परेका ४ सयभन्दा बढी मजदुरलाई गन्तव्यमा पठाइएको छ ।
लकडाउन गरेपछि अलपत्र परेपछि आफ्नो जिल्ला फर्किन हिँडेका काभ्रे, सिन्धुपाल्चोक र भक्तपुरका इँटाभट्टामा काम गर्ने मजदुरहरूलाई शंकरापुरमा सुरक्षाकर्मीले रोकेका थिए।
ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुन आफैं जगाती पुगेर ८ वटा बसमा उनीहरूलाई गन्तव्यसम्म पुग्न समन्वय गरेको उनका प्रेस संयोजक दयानिधि भट्टले बताउनुभयो ।
यसैबीच लकडाउनपछि मध्यरातमा हिँडेरै १७ हजारले कान्तिलोकपथ पार गरेका छन् ।
बागमती गाउँपालिकाको तथ्यांकअनुसार करिब १७ हजार मानिस कान्तिलोकपथ हुँदै बाहिरिएको गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले बताउनु भयो ।
उनीहरुले भोगेको पीडा शब्दमा व्याख्या गर्न नसकिने प्रकृतिको भएको भन्दै उहाँले शनिबार मेघगर्जनसहित पानी पर्दै गर्दा समेत एक सय जना मानिस भट्टेडाँडा पुगेको बताउनु भयो ।
लोप्चनका अनुसार सिन्धुली, मकवानपुर, सर्लाही, बारा, रौतहट लगायत विभिन्न जिल्ला जाने यात्रु यसरी आएका हुन् । उनीहरुलाई खाना र सुत्ने ब्यवस्था मिलाएर स्थानीय ठेकेदारहरुको सवारीमा गन्तव्यमा पुर्याइएको थियो ।
बागमती गाउपालीका वडा न २ का अध्यक्ष नारायन घलेका अनुसार ५ गते दुई सय २६ जनालाई वडाले खानाको व्यवस्था गरेको थियो । ’कुखुरा फर्म खाली थियो केही त्यहाँ सुते, केहीलाई स्कुलमा भुइँमा त्रीपाल ओछ्याएर सुतायौँ ’, वडाअध्यक्ष घलेले भन्नुभयो, ’गर्भवती र बच्चाहरु देख्दा मनै कटक्क हुन्छ ।’