काठमाडौँ, ६ वैशाख । नेपालमा थप एक जनामा काेराेना भाइरस (कोभिड १९) संक्रमण देखिएको छ । उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका थप एक जना भारतीय नागरिकमा शनिबार कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयले आफ्नो आधिकारिक वेवसाइटमा अध्यावधिक गरेको तथ्यांकअनुसार अब नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ ।
मन्त्रालयका अनुसार संक्रमित ६५ वर्षीय पुरुष हुन्। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डेका अनुसार विराटनगरको कोशी अञ्चल अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा ती भारतीय नागरिकमा संक्रमण देखिएको हो ।
यसअघि शुक्रवार उदयपुरको भुल्केस्थित नुरी मस्जिदमा एकै दिन ११ भारतीय र १ नेपाली सहित १२ र चितवनमा दुई जनामा काेरोना संक्रमण पुष्टि भएको थियो ।
उदयपुरमा भेटिएका कोरोना संक्रमित सबैलाई शुक्रबार राति नै मोरङको टाँडीस्थित कोरोना अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ । उनीहरुको अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ ।
उदायपुरमा उनीहरुसँगै कोरोना टेस्ट गरिएका अन्य चार जनामा भने कोरोना नेगेटिभ देखिएको थियो ।ती व्याक्तिलाई सोहि जिल्लाको नै क्वारेन्टाइनमा राखिएको छ ।
आज फेला परेका संक्रमित हिजाे शुक्रवार उदयपुरकाे गाइघाटबाट माेरडल्याएर टाँडीमा क्वारेन्टाइनमा राखिएका व्यक्ति भएकाे काेशी अस्पतालका काेभिड युनिटका इन्चर्ज डा.दीपक सिग्देलले जानकारी दिए ।
शनिवार संक्रमितमध्ये २८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । अन्य तीनजना भने निको भएर डिस्चार्ज भएका छन् ।
काठमाडौंको टेकु अस्पतालबाट एक र बाग्लुगङस्थित धौलागिरी अञ्चल अस्पतालबाट एकजना निको भएर डिस्चार्ज भएका हुन् ।बागलुङको धौलागिरी अस्पतालमा १८ दिन उपचारपछि ६५ वर्षीय महिला डिस्चार्ज भएकी छन् ।
त्यसैगरी शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा २७ दिन लामो उपचार गराएकी काठमाडौंकी १९ वर्षीया युवती निको भएर डिस्चार्ज भएकी छन् । नेपालको पहिलो कोरोना संक्रमित विरामी एक युवक भने गत माघमै निको भएर डिस्चार्ज भएका थिए ।
कोरोना संक्रमित २८ जनामध्ये १२ जनाको विराटनगरस्थित कोरोना अस्पताल, पाँचको कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पताल, चारको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार हुँदैछ।
अन्य सात जनामध्ये एकको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकु र ६ जनाको पाटन अस्पताल, लगनखेल, धौलागिरी अस्पताल, बागलुङ र भरतपुर कोभिड–१९ डायग्नोस्टिक प्रयोगशाला, चितवनमा दुईदुई जनाको उपचार भइरहेको छ ।