धरान ६ बैशाख । प्रदेश एक अन्तर्गत उदयपुरको त्रियुगा नगरपालिकाको भुल्केमा मस्जिदमा बसिरहेका ११ जना भारतीय सहित एक नेपालीमा कोरोना संक्रमण पुष्टी भए पछि प्रदेशभरी प्रहरीले मस्जिद, चर्च, गुम्बा,मन्दिर आदि धार्मिक प्रतिष्ठानहरुमा समेत निगरानी बढाउन शुरु गरेको छ ।
धार्मिक स्थलहरुमा प्रार्थना, पुजा, नमाज पढ्ने आदि कारणले बाक्लो मानिसको भीड हुन सक्ने र त्यसबाट बढी संक्रमित फैलिन सक्ने देखिए पछि निगरानी बढाउन शुरु गरिएको प्रदेश प्रहरी कार्यलय स्रोतले जनाएको छ ।
स्रोतका अनुसार प्रदेश एक अन्तर्गत सुनसरीमा सबै भन्दा धेरै एक सय ९२ वटा मस्जिद रहेको छने मोरगंमा एक सय ३६, झापामा एक सय १९ र उदयपुरमा १३ वटा रहेका छन् ।
यस्तै ठूलो संख्यामा मन्दिर, चर्च, गुम्वाहरु समेत रहेको छ ।
प्रदेश एक मा पहिलो पटक मस्दिजबाट कोरोना फैलिएको पुष्टी भए पछि प्रहरीले सामान्य निगरानी बढाएको हो ।
उदयपुरमा फेला परेका ११ भारतीय नागरिक र एक नेपालीलाई अहिले बिराटनगर स्थित कोशी अञ्चल अस्पतालको आईसोलेसनमा राखेर उपचार शुरु गरिएको छ ।
यस्तै सिमा जोडिएका झापा, मोरगं, सुनसरीका भारतीय नाका र सिमाहरुमा समेत थप कडाई शुरु गरिएको प्रहरीले बताएको छ । नेपालमा अधिकाश कोरोना संक्रमित भारतबाट आएका नागरिकमा देखिए पछि नाकामा कडाई गर्ने सरकारले निर्णय गरको छ ।
यस अघि बीरगञ्जमा तीत जना भारतीय नागरिकमा कोरोना देखिएको थियो भने रौतहटमा पनि भारतको दिल्लीबाट आएका युवामा कोरोना देखिएको थियो । त्यस पछि हिजो एकै पटक ठूलो समुहमा भारतीय नागरिक संक्रमित भएर पनि लुकेर बसेको फेला परेपछि त्रास बढेको छ ।