फेरी अर्की संक्रमित वद्धाले जित्दैछिन् कोरोनालाई….

फेरी अर्की संक्रमित वद्धाले जित्दैछिन् कोरोनालाई….

  • शनिबार, बैशाख ६, २०७७
  • – रामबहादुर थापा

  • 8.8K
    SHARES

“बाबुलाई नि धन्यवाद छ, आमाको”, उहाँले कुराकानीको बिट मार्नुभयो । लाग्यो, उहाँ अस्पतालको श्ययाबाट बोल्दै हुनुहुन्थ्यो । विनम्र र ठेट शैलीमा गफिने बानीले त झन् बिरामीको छनकै दिन्नथ्यो ।
“जाती नै छु बा, स्वास्थ्य ठिक छ”, पहिलो जवाफमै उहाँ दृढ सुनिनुभयो, “रोग जित्न आत्मबल चाहिने रहेछ ।” कोभिड–१९ बाट सङ्क्रमित बागलुङ नगरपालिका–३ की ६५ वर्षीया उहाँ चाँडै अस्पतालबाट घर फर्कनेमा निश्चिन्त हुनुहुन्छ । बिहीबार तेस्रोपटक जाँच्दा उहाँमा कोरोना नेगेटिभ देखिएको थियो । चौँथो रिपोर्ट पनि नेगेटिभ आए अस्पताल बसाइ टुङ्गिनेछ । “अस्पताल आएको आज १७ दिन भयो, फेरि जाँच्ने भनेर चिकित्सले स्वाब लानुभएको छ”, उहाँले भन्नुभयो, “अबको रिपोर्ट पनि नेगेटिभ आए हजुरलाई घर पठाउँछौँ भन्नुभएको छ ।”
धवलागिरि अञ्चल अस्पतालको आइसोलेसन कक्षमा उपचाररत उहाँको अवस्था सामान्य छ । चिकित्सकका अनुसार पुरानै उच्च रक्तचाप र दमको औषधि नियमित दिइएको छ । “दाँत किराले खाएको भएर प्रेसर केही बढेजस्तो भयो, बीचमा अलिअलि कान दुख्यो, अहिले त एकदम ठिक छु”, उहाँले भन्नुभयो ।

उहाँमा कोभिड–१९ को लक्षण न पहिले देखियो न अहिले छ । “दम शुरु भएको १५÷१६ वर्षअघि हो, पुरानो समस्याबाहेक अर मलाई केही छैन”, उहाँले भन्नुभयो, “कोरोना लागेपछि पनि मलाई केही हुँदैन भन्ने लाग्थ्यो, यसलाई जितेरै छोड्छु भन्ने सोच आउँथ्यो ।” उहाँमा अहिले पनि उस्तै इच्छाशक्ति छ । “मन बलियो बनाउने र खानपानमा ख्याल गर्ने हो भने रोगसँग लड्न सकिन्छ”, उहाँले भन्नुभयो, “पानी धेरै पिउनुपर्ने रहेछ, अहिले पनि दिनमा पाँच लिटरसम्म उमालेको पानी पिउँछु ।”

पहिले अझ धेरै पानी पिउने गरेको र शरीर गलेजस्तो भएपछि मात्रा केही घटाएको उहाँको भनाइ छ । उहाँले अहिले दैनिक बिहान, बेलुका दूध पिउने गर्नुभएको छ । नियमित खाना, खाजाको प्रबन्ध अस्पतालले नै मिलाएको छ । “खाना, खाजा लिएर नर्स नानीहरु आउनुहुन्छ, चिकित्सकहरु पनि बेलाबेला आउनुहुन्छ, फोन गरेर पनि सोध्नुहुन्छ”, उहाँले भन्नुभयो, “सबै कुरा राम्रो छ, आफ्नै ठाउँको अस्पतालमा बस्न पाइएको छ, सबैले सम्झनुभएको छ, बोल्न पाएकी छु ।”

आइसोलेसन कक्षमा बस्दा मोबाइलमा गीत सुनेर, ‘भिडियो’ हेरेर समय बिताउने गरेको उहाँको भनाइ छ । बरु, आफूसँगै बेल्जियमबाट आएकी अर्की सङ्क्रमित युवतीको चौथो जाँचको रिपोर्ट पनि पोजेटिभ आएपछि उहाँलाई ननिको लागेको छ । “उनी पनि मसँगै आएकी नानी हुन्, उनमा पनि नेगेटिभ देखिए कति खुशी हुने थिएँ, जे भए पनि सँगै आइयो, अहिले एउटै अस्पतालमा छौँ”, उहाँले भन्नुभयो । सोही नगरपालिका–४ की १९ वर्षीया युवती पनि अहिले आइसोलेसनमा उपचाररत हुनुहुन्छ ।

सङ्क्रमित दुवै बेल्जियमबाट दोहा हुँदै कतार एयरको क्यूआर ६५२ मा गत चैत ४ गते नेपाल आएका थिए । युवतीमा चैत १५ र महिलामा चैत २० गते कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको थियो । युवतीको पनि स्वास्थ्य अवस्था सामान्य छ । दुवै जना परिवार र आफन्त भेट्न बेल्जियम पुगेका थिए । “घरबाट फागुन १३ गते हिँडे, काठमाडौँबाट १४ गते उडियो, त्यही राति नै बेल्जियम पुगेँ”, उहाँले भन्नुभयो, “कान्छी छोरीले बोलाएर एक महिनालाई घुम्न गएकी थिएँ ।” युवती भने बुबाआमा भेट्न गत माघमै बेल्जियम पुग्नुभएको थियो ।

बेलिज्यममा महिलाकी कान्छी छोरी, ज्वाइँ र नातिनातिना बस्छन् । कोरोना सङ्क्रमणको विश्वव्यापी सन्त्रासबीच उहाँ गत चैत ४ गते बेल्जियमबाट नेपाल फर्कनुभएको थियो । घर फर्केपछि पनि सबै ठिकठाकै थियो । कोरोना सङ्क्रमणको न कुनै आशङ्का थियो । “घरमा श्रीमान्को श्राद्ध पनि थियो, घरमै बसेँ, नुहाउने, धुने आफैँ गरेँ”, महिलाले भन्नुभयो, “सँगै आएकी नानीलाई कोरोना लागेको थाहा पाएपछि मेरो पनि जाँच भयो, रिपोर्ट पोजेटिभ आयो ।” फ्रान्सबाट दोहा हुँदै आएकी काठमाडौँकी युवतीमा कोरोना देखिएपछि सोही विमानमा फर्किएकी बागलुङकी युवतीमा पनि कोरोना जाँच्दा सङ्क्रमण पुष्टि भएको थियो ।
बागलुङकी १९ वर्षीया युवती नेपालकै पाँचौँ र ६५ वर्षीया महिला छैटौँ सङ्क्रमित हुनुहुन्छ । महिलाको घरमा दुई छोरा, बुहारी, नातिनातिनालगायत छन् । जेठी छोरी पनि बागलुङमै हुनुहुन्छ । उहाँलाई रिपोर्ट नेगेटिभ आएको पहिलो खबर बिहीबार साँझ छोरीले नै सुनाउनुभएको थियो । “रिपोर्ट नेगेटिभ आएको कुरा पछि अस्पतालका नानीहरुले पनि सुनाए, हिजो तेल, काइँयो पनि ल्याइदिए, आज त बिहानै कपाल कोरेर, नङ्ग काटेर बसेकी छु”, उहाँले भन्नुभयो । घर फर्कन र परिवारका सदस्यलाई भेट्न उहाँ व्यग्र प्रतिक्षारत हुनुहुन्छ ।
अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले कुनै औषधिबिनै सङ्क्रमित महिला कोरोना भाइरससँग लडिरहेको बताउनुभयो । “कोरोनाको कुनै लक्षण पनि देखिएको छैन, उहाँमा उच्च रक्तचाप र दमको पुरानै समस्या भएकाले विशेष निगरानी भने गरिरहेका छौँ”, उहाँले भन्नुभयो । प्रमुख चिकित्सक पोखरेलका अनुसार चौथो जाँचका लागि महिलाको स्वाब शुक्रबार पोखरास्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ । “कहिलेकाहीँ रिपोर्ट ढिलो आउँछ, दोहो¥याएर पनि जाँच्नुपर्ने हुनुसक्छ”, उहाँले भन्नुभयो, “आशा गरौँ, आजै साँझसम्ममा रिपोर्ट आउनेछ ।”

चौथो जाँचको रिपोर्ट पनि नेगेटिभ आए महिलालाई ‘डिस्चार्ज’ गर्ने अस्पतालको तयारी छ । लगातार दुईपटक जाँच्दा कोरोना भाइरस नेगेटिभ देखिएमा मात्र सङ्क्रमितलाई घर पठाउन मिल्ने चिकित्सक बताउँछन् । पछिल्लोपटक गरिएको जाँचमा नेगेटिभ रिर्पोट आएपछि उपचारमा संलग्न चिकित्सकसमेत उत्साहित छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ