५ बैशाख ,काठमाडौं । प्रधानमन्त्री केपी ओलीले कोरोना संक्रमणको जोखिम उच्च रहेकोले नागरिकलाई लकडाउनको समयमा हिँडडुललाई पूर्ण नियन्त्रण गर्न निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री ओलीले शुक्रबार बालुवाटारमा कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति र सीसीएमसीमा सहभागी मन्त्री तथा सुरक्षा निकायका प्रमुखलाई खाने बस्ने व्यावस्था मिलाउन तर हिडडुल पूर्ण नियन्त्रण गर्न निर्देशन दिनुभएको हो ।
लकडाउन लम्बिएपछि खान÷बस्नकै समस्या परेको भन्दै हुलका हुल मजदुरहरू कोसौं टाढा पैदलै हिँडेरै घर जान थालेपछि प्रधानमन्त्री ओलीको त्यस्तो निर्देशन आएको हो।
प्रधानमन्त्री ओलीले विश्वका मै हुँ भन्ने शक्ति राष्ट्रसम्मलाई कोरोनाले आच्छु–आच्छु पारिरहेको बेला नेपालले यो संवेदनशील अवस्थालाई खेलाँची गर्न नहुने भन्दै अत्यावश्यक सेवावाहेक अन्यको आवतजावत पूर्णरूपमा बन्द गराउन निर्देशन दिनुभयो ।
उहाँले भन्नुभयो, अहिले जो जहाँ छन्, उनीहरूलाई त्यहीं नै सुरक्षित रूपमा खान र बस्नको ब्यवस्था मिलाउनु । अहिलेको विषम परिस्थितीलाई सवैले वुझिदिनुपर्छ। खानै नपाएर पैदलै दिनरात नभनी घण्टौं हिँडेर घर जान खोजेका हुन् भने उनीहरूलाई खान र बस्नको ब्यवस्था मिलाऔं यो सरकारको दायित्व पनि हो ।’
देशका विभिन्न स्थानमा रोजीरोटीका लागि पुगेका मजदुरहरु घण्टौं हिँडेर कोसौ टाढाको घर जान निस्केका लावालस्कर राजमार्गका सडकमा देखिन थालेपछि सरकारको चौतर्फी आलोचना सुरु भएको थियो।
मजदुरहरू घर पैदलै हिँडेर जान थालेपछि नेकपाका सांसदहरूले शुक्रबार नै संसदीय दलको कार्यालय सिंहदरबारमा छलफल गरेका थिए।
यसैबीच, लकडाउनका कारण समस्या भएर कयौँ मजदूर हिँडेरै गाउँ फर्किन थालेपछि उपत्यका नगरपालिका फोरम काठमाडौँले उपत्यका नछाड्न आग्रह गरेको छ ।
उपत्यकाका १८ नगरपालिकाका प्रमुख, उपप्रमुख संलग्न नगरपालिका फोरमलेले आज सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदेयश त्रिपाठी र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसँगको छलफलका काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भन्नुभयो, “लकडाउनका बेला एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जानसमेत प्रतिबन्ध गरेको अवस्थामा तपाईं जो जहाँ रहनुभएको छ, त्यही सुरक्षित बस्नुहोला, आवश्यक सहयोग गर्न तयार छौँ ।”
केही समस्या भए उपत्यकाका सम्बन्धित वडा कार्यलयमा सम्पर्क गर्न सो फोरमले व्यवस्था मिलाइएको जनाएको छ । मध्यपुरथिमि नगरपालिकाका प्रमुख एवं फोरमका सचिव मदनसुन्दर श्रेष्ठले पनि विज्ञप्ति जारी गर्दै सबैलाई लकडाउनको पालना गर्न आग्रह गर्नुभएको छ ।
“यस्तो प्रतिकूल अवस्थामा पनि काठमाडौँ उपत्यका छाडी सयौँ किलोमिटर पैदलयात्रा गरी आफ्नो घर जाने र बाटोमा दुःख कष्ट भोगिरहेका समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ”, विज्ञप्तिमा भनिएको छ ।