गाइघाट, ५ वैशाख ।
उदयपुरका कोरोना संक्रमित १२ जनालाई नै प्रदेश १ स्थित कोरोना विशेष अस्पतालमा लगिएको छ । संक्रमित बिरामीमा उदयपुरको त्रियुगा नगरपालिका–३, भुल्केस्थित मस्जिदमा बसेका ११ जना भारतीय र १ जना नेपाली नागरिक रहेका छन् ।
यसअघि सुरुमा ८ र पछि १२ जना नै भारतीय नागरिक भनिएको भएपनि अन्तत ११ भारतीय र १ नेपाली नागरिक रहेको खुलेको स्वास्थ्य कार्यलय प्रमुख उदयपुरका मोहन सुवेदीले जानकारी दिनुभयो । नेपाली र भारतीय गरी १६ जनाकाे काेराेना परिक्षण गरिएकाे थियाे ।
स्वास्थ्य मन्त्रालयले उनीहरुमा संक्रमण देखिएको पुष्टि गरेको हो । लकडाउनकै अवधिमा भुल्के मस्जिदमा आएर बसेका ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ बर्षका पुरुषमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरुसँगै रहेका अन्य ४ नेपालीको पनि स्वाबको पिसिआर परीक्षण गरिएको थियो । उनीहरुमा भने पोजिटिभ देखिएको छैन ।
कोशी अञ्चल अस्पतालमा गरिएको पिसिआर परीक्षणमा पोजिटिभ देखिएको हो। लगत्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पनि उनीहरुको स्वाब परिक्षण्का लागि पठाईएकोमा अन्ति रिपोर्टमा पनि पोजेटिभ देखिएपछि उनीहरुलाई कोरोना विशेष अस्पताल लगिएको सुवेदीले जानकारी दिनुभयो ।
प्रदेश सरकारको समन्वयमा राति करिब ९ बजेतिर उदयपुरबाट संक्रमितहरुलाई कोरोना विशेष अस्पताल विराटनगर लगिएको उहाँले बताउनु भयो ।
उनीहरुलाई उदयपुरबाट हिडाउनु अघि नै उक्त अस्पतालमा चिकित्सक टोली तथा सम्पूर्ण उपकरण तयारी अवस्थामा राखिएको प्रदेश १ सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले बताउनु भयो ।
पर्सा जिल्लाको छपकैयाँस्थित मस्जिदमा बसेका तीन भारतीय धर्मगुरुमा संक्रमण देखिएपछि उनीहरुसँग सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गरी र्यापिड टेस्ट गरिएको थियो । उनीहरुको स्वाब कोशी अञ्चल अस्पतालमा परीक्षण गरिएको थियो ।
संक्रमण पुष्टि भएपछि अहिले मस्जिद र आसपासका क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ । सुरक्षाकर्मीले मस्जिद र आसपासको क्षेत्रमा हिँडडुलमा रोक लगाएका छन् । यो क्षेत्रलाई सिल गर्ने र संक्रमितलाई कोशी अस्पतालको आइसोलेसनमा राख्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीले बताउनुभयाे ।
कोरोना पोजेटिभ देखिएका १२ भारतीय विराटनगरबाट सप्तरी हुँदै उदयपुर आएको प्रारम्भिक जानकारी आएको प्रमुख जिल्ला अधिकारी पहाडीले बताउनुभयाे । भारतीयले आफूहरु मोरङबाट राजविराज हुँदै आएको बताएका छन् । उनीहरुले सप्तरीको वोदेबर्साइन नगरपालिका– ५ जाँजरमा फागुन ३ तीनदेखि ५ सम्म भएको धार्मिक सम्मेलनमा सहभागी हुन आएको बताएका छन् । उनीहरुसँगै आएका ४ नेपाली मोरङका हुन् ।
यसअघि वीरगन्जको मस्जिदमा बसेका तीनजना धर्मगुरुमा कोरोना संक्रमण देखिएपछि उक्त मस्जिदमा पनि अनुगमन गर्ने क्रममा १२ भारतीयको परिचयपत्र रहेको र अन्य ४ जना नेपाली रहेको पाइएको थियो। उनीहरूले मस्जिदमा सामाजिक दूरी कायम गरेको बताए पनि स्थानीयले घुलमिल गरिरहेको दाबी गरेका थिए।
स्थानीयले नै मस्जिदमा विदेशी आएर गुपचुप बसेको भन्दै त्रियुगा नगरपालिका, जिल्ला प्रशासन, प्रहरीलाई सूचना दिएका थिए। भुल्केस्थित मस्जिदमा लुकेर केही भारतीय नागरिक बसेको सूचना आएपछि मंगलबार सुरक्षाकर्मीसहित मस्जिद पुगेको स्वस्थ्यकर्मीको टोलीले उनीहरुको स्वाब नमुना लिएको थियो।
नेपालमा बीरगञ्ज, कैलाली , उदयपुर लगायत अधिकाश कोरोना संक्रमित भारतीय नागरिक वा भारतबाट आएकाहरुमा देखिएकाले थप जटिलता आउने खतरा बढ्दै गएको छ । सरकारले सीमिामा कडाई गर्दा गर्दे पनि संक्रमित वा मानिसहरु छिर्ने गरेकाले समस्या बढेको हुन सक्ने अनुमान गरिएको छ ।
आजै चितवनमा २ जनामा कोरोना पुष्टी भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ ।