बैशाख ४ काठमाण्डौं । राजधानीमा खान बस्न समस्या भए पछि मजदुरहरुले राजधानी छाड्ने क्रम अझै रोकिएको छैन । हिडेरै टाढा टाढा सम्म जान बाध्य मजदुरले बाटोमा समेत थुप्रै अवरोध झेल्नु परेको छ ।
आज बर्दिया हिडेका करीब ४० जना मजदुरहरुले हिड्दै जाने क्रममा बाटोमा एउटा सामान पुर्याएर काठमाण्डौबाट फर्किदै गरेको ट्रक फेला पारेर चढे ।
त्यस पछि त्यो ट्रकलाई धादिङको गल्छीमा पुगे पछि प्रहरीले रोकेर मजदुरहरुलाई फर्काईदियो । केही माथि आएपछि उनीहरु ट्कबाट ओर्लिए र निकै बेर बाटोमै बसे ।
त्यस टिममा सगैँ रहेका बर्दिया राजापुरका लाहुर चौधरी भन्छन्, हामीलाई काठमाण्डौंमा राहत दिदै दिएन, पैसा सकियो, जिल्लामा जनप्रतिनिधिलाई फोन गर्दा बुझ्छु मात्र भन्छ , बिचल्लि भए पछि हामी हिडेका थियौ तर बाटोमा फेरी यो हालत भयो ।
प्रहरीले उनीहरुलाई ट्रकबाट ओराले पछि उनीहरु हिडेर राजमार्गको बाटो अघि बढेका छन् । तर ठाँउ ठाँउमा प्रहरीले रोक्ने काम गरीरहेको उनीहरुले बताएका छन् ।
उनीहरु सहित अन्य मजदुरहरु अहिले धादिङ र चितवनको सिमाना मौवाखोलामा रोकिएका छन् । कामका लागि जिल्लाका विभिन्न भागमा आएका मजदूर काम गर्न नपाइने र खानेकुरा सकिएपछि हिँडेरै घर जान बाध्य छन् ।

लाहुर भन्छन् चुनावमा भोट हाल्नलाई गाडी नै लिएर आउने नेता अहिले फोन पनि उठाउदैनन् उठाए भने पनि बुझ्छु भनेर पन्छिन्छन् यो के गर्या हो ? हामी मजदुरमाथि ?
उनले राहतको लागि बुढानीलकण्ठ नगरपालिकाको वडा कार्यलयमा पुग्दा फारम भर भने , फेरी फारम भर्न जादाँ राहत सकियो अब फर्किदा हुन्छ भने कर्मचारीले लाहुरले भने ।
ती मजदुरहरुको समुहलाई धादिङ कटेर चितवन जानै लाग्दा फेरी प्रहरीले रोकेको छ । बिहानैदेखि तीन सयभन्दा बढी मजदूर रोकिएको र उनीहरु खानेकुरा नपाएर दिनभर सो क्षेत्रमा भोकभोकै परेको स्थानीयवासी विनोद शाहले जानाकारी दिए ।

मजदूर रोकिएपछि मौवाखोला बजारबासीले प्रहरीलाई हिँडेर घर जान दिनका लागि आग्रह गरेका थिए । बजारबासीको आग्रहसमेत अस्वीकार गरी प्रहरीले चितवन क्षेत्र प्रवेश गर्न नदिएपछि बजारबासी र मजदूर मिलेर प्रहरीसंँग झडप गरेका थिए ।
घटनाले उग्ररुप लिने भएपछि धादिङका प्रमुख जिल्ला अधिकारी असमान तामाङ र चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईबीच वार्ता भएको छ ।
वार्तापछि मजदूरलाई खाद्यान्न बोक्ने सवारी साधनमा राखेर घरतर्फ जान दिने सहमति भए पछि भने खाद्यन्न बोक्ने गाडीमा मजदुरलाई हालेर पठाउन शुरु भएको प्रहरीले जनाएको छ ।
