काठमाडाैं, ३ वैशाख ।कागेश्वरी मनोहरा नगरपालिका ९ मा पर्ने पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका दुई जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टी भएपछि त्यहाँ र्यापिड टेस्ट (आरडीटी) शुरु गरिएको छ । अपार्टमेन्टको ब्लक ‘ए’मा बसोबास गर्ने २९६ जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट कोभिड–१९ को एन्टिबडी परीक्षण गरिएको हाे ।
अपार्टमेन्टभित्र सङ्क्रमित व्यक्तिका नजिकको सम्पर्कमा आएका र विभिन्न खालका स्वास्थ्य समस्या भएकाको पहिले परीक्षण भइरहेको छ ।नगरपालिकाका मेयर कृष्णहरि थापाका अनुसार परीक्षण गरिएका मध्ये कसैको पनि रिपोर्ट पोजिटिभ आएको छैन।
उहाँले भन्नुभयाे, ‘सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य सेवा विभागबाट आउनुभएका चिकित्सकले जानकारी दिएका छन्, संक्रमित परिवारको घरमा काम गर्ने दुई युवकको पहिलोपटक नेगेटिभ आएपछि दोस्रोपटक पनि परीक्षण गरिएको थियो। हामीलाई डाक्टरले सबैको नेगेटिभ आएको बताएका छन् ।’
अपार्टमेन्टभित्रका दीर्घरोगी को-को छन् भनी पहिचान गर्न त्यहाँको व्यवस्थापन समितिले सहयोग गरिरहेको छ । कतिपय दीर्घरोगी उपचारका लागि अस्पताल जानुपर्ने भए पनि परीक्षण गरेर ‘नेगेटिभ’ नआएसम्म जान नसक्ने हुँदा उनीहरुलाई प्राथमिकता दिइएको नगर प्रमुख थापाले बताउनुभयो ।
स्वास्थ्य सेवा विभागको टोली बिहान ९ बजे अर्पाटमेन्ट आइपुगेको थियो । नगरपालिकामा रहेका स्वास्थ्यकर्मी पनि सहभागी रहेको नगरपालिकाले जनाएको छ । बढी आवश्यक देखिएका व्यक्तिको पहिले परीक्षण भएपछि सङ्क्रमित व्यक्ति बस्दै आएको ‘ए ब्लक’ मा बसोबास गर्नेहरुको परीक्षण भएकाे छ । उहाँले भन्नुभयो, “त्यसपछि अरू ब्लकको पनि परीक्षण गरिनेछ ।”
मेयर थापाका अनुसार सो अपार्टमेन्टमा बस्ने सबै व्यक्ति तथा वरपर रहेका पसलधनीको पनि आरडीटी गर्नुपर्ने निष्कर्ष स्वास्थ्य सेवा विभागकाे टोलीको छ। विभागको टोली र हामीले अध्ययन गर्दा लगभग १३सय जनाजतिको आरडीटीबाट परीक्षण गर्नुपर्ने देखेका छौं। उहाँहरूले पनि त्यही भन्नुभएको छ मेयर थापाले भन्नुभयाे ।
भोलि पुनः परीक्षण हुने उहाँले बताउनु भयाे । ‘१२–१३ सय मानिसको परीक्षण गर्न त ३–४ दिन लाग्न सक्ने जनाइएकाे छ ।
अपार्टमेन्टमा बसोबास गर्ने सबै र अपार्टमेन्ट बाहिरकाले समेत आफूहरुको परीक्षण गर्नुपर्ने माग गरेका छन् । अपार्टमेन्ट नजिकमा रहेका पसल र घरले समेत आफू सङ्क्रमितको सम्पर्कमा आएको हुनसक्ने भन्दै परीक्षण गर्नुपर्ने माग गरेको प्रमुख थापाले बताउनुभयो । अपार्टमेन्टभित्र बसोबास गर्नेको परीक्षण सकिएपछि त्यस बाहिरका बैङ्क, पसल, एटीएमलगायत स्थानका व्यक्तिको पनि परीक्षण हुनेछ ।
मेयर थापाका अनुसार आज अपार्टमेन्ट परिसरमा डिसइन्फेक्टेन्ट छर्किने काम पनि भएको छ। बाहिर सडकतिर पनि डिसइन्फेक्टेन्ट छर्किइएको थियो। सबैको परीक्षण नभएसम्मका लागि उक्त अपार्टमेन्टलाई सिल नै गरेर राख्नेबारे छलफल भइरहेको छ ।
वैशाख १ गते नगरपालिकाले विदेशबाट आएका ३६ जनाको परीक्षण गर्ने क्रममा सनसिटीमा बसोबास गर्ने एकै परिवारका तीन जनाको रिपोर्ट पोजिटिभ आएको थियो। त्यसपछि पीसीआरबाट परीक्षण गर्दा ८१ वर्षीया आमा र ५८ वर्षीय छोरामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको थियो। ५२ वर्षीया बुहारीको रिपोर्ट भने नेगेटिभ आएको थियो। काेराेना संक्रमितहरूलाइ पाटन अस्पतालमा राखिएकाे छ ।
https://www.mirmireonline.com/wp-content/uploads/2020/04/SitRep65_COVID-19_14-04-2020_NP.pdf