दाङ बैशाख ३ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाले नेपालमा पनि विस्तारै गाँज्दै लगेको छ । सरकारले लकडाउन गरेर नागरिकहरुलाई घरैमा बस्न भनेको छ ।
यस्तो अवस्थामा समेत नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता पक्राउ गर्न सरकारले छाडेको छैन ।
नेकपाका महासचिव विप्लवले यस अघि नै विज्ञप्ति जारी गरी महामारी अवधिमा आक्रामक कार्बाही रोकेर राहत र उद्धार एवं जनचेतना जगाउन कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए ।
त्यस पछि गोरखाबाट योगेन्द्र कुमाललाई पक्राउ गरिएको थियो भने दाङबाट हिजो अदालतले छाडेका तीनजनालाई पुनः पक्राउ गरी नेपालगञ्ज लगिएको छ ।
यसरी पुनः पक्राउ पर्नेमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा तत्कालीन राप्ती ब्युरो इन्चार्ज केश बहादुर बाठा मगर ‘सुवास’, पार्टीकै तत्कालीन रोल्पा इन्चार्ज सन्तोष सुवेदी ‘प्रयास’ र पोष्टमान घर्ती मगर रहेका छन् । जिल्लामा धरौटी बुझाएर छुटेका उनीहरुलाई पुनः अदालत गेटबाटै पक्राउ गरी नेपालगञ्ज लगिएको छ ।
लामो समय घोराही हिरासतमा रहेको बेला यसअघि नै दाङ देउखुरी जिल्ला अदालतले प्रति व्यक्ति १५ हजार धरौटीमा सबैलाई रिहा गर्न आदेश दिएको थियो । तर त्यतिबेला धरौटी नराखेको भन्दै पुनः गिरफ्तार गरेर दाङ कारागार त्यसपछि रोल्पा कारागार हुदै फेरि तुलसीपुर कारागार ल्याएको थियो ।
विश्वभर धेरे देशले कोरोना संक्रमणको त्रासमा कैदीबन्दीहरु रिहा गरीरहेका बेला नेपालमा भने कोरोना विरुद्ध जुट्ने भनेर घोषणा गरीसकेको पार्टीमाथि सरकारले दमन जारी राखेको भन्दै सो पार्टीका नेताहरुले आपत्ति जनाएका छन् ।