काठमाडाैं, २ वैशाख ।सरकारले चैत १३ देखि रोकेको आन्तरिक उडान बन्द गर्ने समय वैशाख १८ सम्म लम्ब्याएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव केदारबहादुर अधिकारीका अनुसार, मंगलबारको मन्त्रिपरिषद् बैठकले वैशाख १८ सम्मै आन्तरिक व्यावसायिक उडान पनि बन्द गर्ने निर्णय गरेको हो ।
यसअघि चैत २५ गते सरकारले अन्तर्रा्ष्ट्रिय कमर्सियल उडान वैशाख १८ सम्म रोक्ने निर्णय गरेको थियो ।
सरकारले गरेको यो निर्णय नागरिक उड्डयन प्राधिकरणमार्फत आन्तरिक वायुसेवा सञ्चालकलाई पत्रमार्फत गराइने छ । सरकारले चैत ९ गते रातिदेखि अन्तर्रा्ष्ट्रिय उडान रोकेको थियो भने चैत १३ देखि आन्तरिक उडान रोकेको थियो ।
नेपालमा हाल सञ्चालनमा २१ वटा घरेलु वायुसेवा कम्पनी छन् । तर, बिरामी तथा पर्यटक उद्धार लगायतका मानवीय सहायताका चार्टर उडानलाई भने रोक लगाइएको छैन ।
यस्तै मंगलवारको मन्त्रीपरिषद बैठकले प्रशासन क्षेत्रका सहसचिव अर्जुन पोखरेललाई सचिवमा बढुवा गरी प्रदेश नम्बर २ को प्रमुख सचिवमा सरुवा गर्ने निर्र्णय गरेको छ ।
प्रदेश नम्बर २ मा रहनुभएका मुख्य सचिवलाई सुदूरपश्चिम प्रदेशमा सरुवा गर्ने निर्णय गरेको छ ।
बैठकले इञ्जिनयिरिङ क्षेत्रका सहसचिव सागर राईलाई सचिवमा बढुवा गरी नेपाल ट्रष्टमा पदस्थापना गर्ने र नेपाल ट्रष्टका सचिव रामकृष्ण सापकोटालाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सचिवमा सरुवा गर्ने निर्णय गरेको छ ।
मंगलबारनै सरकारले लकडाउन १२ दिन बढाएर वैशाख १५ गतेसम्म र्पुयाएको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ को संक्रमण रोक्नका लागि चैत ११ गते बाट थालिएको लकडाउन तेस्रो पटक थप गरिएको हो ।
नागरिकको सुरक्षाका लागि वैशाख १५ गते मध्यरातसम्म लकडाउन कायम राख्ने निर्णय गरेको अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिनुभयो । सुरुमा एक साताका लागि घोषणा गरिएको लकडाउन संक्रमणहरु भेटिएपछि बढाउदै लगेको छ ।
मन्त्री डा खतिवडाले कोरोना भाइरसबाट सुरक्षित रहन छिमेकी मित्र राष्ट्रहरूले चालेको प्रयास र अभ्यासलाई समेत ध्यानमा राखेर काम गरिरहेको जानकारी दिनुभयो ।
लकडाउनका कारण फँसेका र काम नहुँदा अलपत्र परेकालाई राजधानीबाट आआफ्ना घर जान दिने कि भन्ने विषयमा पनि मन्त्रिपरिषद्मा छलफल भएको थियो। तर त्यसरी आवतजावत गर्न दिँदा लकडाउन खुकुलो हुने भएकाले यस्तो कुनै छुट नदिने पनि सरकारले निर्णय गरेको छ।
उहाँले भन्नुभयो, “नेपालमा बसोबास गर्ने सबैलाई सुरक्षा दिनका लागि नेपालमा अन्तर्राष्ट्रिय सिमाना र खुला सिमानाबाट हुने आवतजावत बन्द गर्ने पहिलाको निर्णयलाई नै निरन्तरता दिएको छ, आदेशको पूर्ण पालना नगर्नेलाई कानूनबमोजिम कारवाही गर्ने निर्णय भएको छ ।”
यस्तै सरकारले छिमेकी भारतसँगको सीमामा आवतजावत अनिश्चितकाल सम्मलाई बन्द गरेको छ । लकडाउनको समयमा नै संक्रमितहरु भारतबाट नेपाल प्रवेश गरेको खुलासा भएपछि सरकारले सीमामा थप कडाइ गर्ने पनि निर्णय गरेको छ । कञ्चनपुर र रौतहटका संक्रमित युवा लकडाउन घोषणा गरिएपछि पैदलै नेपाल प्रवेश गरेका थिए ।
अत्यावश्यक सामाग्री र खाद्यवस्तुको आपुर्तिलाई भने रोकिने छैन ।