ललितपुर, २ वैशाख। धादिङका ५९ वर्षीय गोविन्द परियारले २५ वर्षसम्म काठमाडौंमा लुगा सिलाउने काम गरे । यही परिश्रमले दुई श्रीमती र सात छोराछोरी हुर्काए, गरिखाने बाटो देखाइदिए । तर, परियार जब मिर्गौलाको बिरामले थलिँदै गए, आफ्नै सन्तान टाढिन थाले, सहयोग गर्न छाडे । पैतृक सम्पत्ति बेच्दै १२ वर्षसम्म काठमाडौंका विभिन्न अस्पताल धाए । सम्पत्ति सकियो, तर रोग निको भएन ।
परियारले केही वर्षदेखि नियमित डायलाइसिस गर्दै आएका छन् । यो सेवा राज्यले निःशुल्क गरिदिएको छ । काठमाडौंमा बस्ने सहारा कान्छी छोरीले दिएकी छिन् । तर, अहिले लकडाउनले परियारलाई मार परेको छ । भीमसेनस्थानस्थित डेराबाट डायलाइसिस गराउन ललितपुरको जावलाखेलस्थित अल्का अस्पताल पुग्नुपर्छ ।
नियमित अस्पताल जानुपर्ने दीर्घरोगीलाई यो बन्दमा पनि राज्यबाट यातायातको कुनै सुविधा छैन । एक मात्र विकल्प बिरामीले आफ्नै खर्चमा एम्बुलेन्स प्रयोग गर्नु हो । तर, छोरीको डेरामा बसेर उपचार गराइरहेका परियारजस्ता विपन्नलाई एम्बुलेन्स आँक्नु असम्भव छ । अझ अहिले त पैसा तिर्न सके पनि बिरामी बोक्न एम्बुलेन्सले आनाकानी गर्छन् । त्यसैले, परियार लौरोको सहारामा कान्छी श्रीमती कान्छी परियारको साथमा हिँडेरै अस्पताल जाने गरेका छन् ।
‘बिहानै ४:३० बजे डेराबाट हिँडेर ७ बजेतिर अस्पताल आइपुग्छु । डायलाइसिस गर्न तीन घन्टा लाग्छ । अनि हिँडेरै फर्किन्छु,’ धोबीघाटमा भेटिएका परियारले भने, ‘के गर्ने एम्बुलेन्स चढ्न पैसा छैन । १२ वर्षसम्म यही रोगको उपचार गर्दा जायजेथा सकियो । ३० लाखभन्दा बढी खर्च भयो । धन्न कान्छी छोरीले बस्ने र हातमुख जोर्ने सहारा दिएकी छे ।’
सरकारले डायलाइसिस निःशुल्क गरिदिएकोमा परियारले खुसी व्यक्त गरे, तर यो बन्दमा सरकारले यातायातको सुविधा नदिँदा घन्टौँ हिँड्नुपरेकोमा दुःख बिसाए । परियारको गुनासो सुनेपछि हामीले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई फोन लगायौँ । बिरामीको सास्ती सुनायौँ । महर्जनले यस्ता बिरामीलाई महानगरपालिकाले निःशुल्क एम्बुलेन्स व्यवस्था गरेको बताए ।
‘मुटु, मिर्गौला र उच्च रक्तचापका बिरामीका लागि हामीले नि:शुल्क एम्बुलेन्स सेवा सुरु गरेका छौँ । एन्फाले दिएको दुईमध्ये एउटा एम्बुलेन्स यस्ता बिरामीका लागि अलर्ट छ । पैसा नलाग्ने नम्बर ११३१ मा फोन गरेर यो सुविधा लिन सक्नुहुन्छ,’ उनले भने ।
तर, महानगरले दिएको सुविधाबारे बिरामीलाई थाहै छैन । न अस्पतालले बिरामीलाई यसबारे जानकारी दिएको छ, न स्थानीय सरकारले सूचना प्रवाह गरेको छ । सुविधा हुँदाहुँदै पनि बिरामीले सास्ती पाइरहेका छन् ।
०००
डायलाइसिस गरेर फर्किँदै गर्दा धोबीघाटमा राहत वितरण गरिरहेको देखेपछि परियारदम्पतीका आँखा त्यतै तानिए । राहत पाइने आसमा पाइला सोझ्याए । ललितपुर– ३ का वडा सदस्य रूपेश थापासामु आफ्ना दुःख पनि बिसाए । तर, थापाले राहत फारम भरेका ज्यालादारी मजदुर र विपन्न परिवारका लागि मात्रै दिन मिल्ने जवाफ दिएपछि उनीहरू निराश भए ।
हामीले सोध्यौँ– तपाईंहरू काठमाडौं महानगरपालिकाभित्र बस्नुहुँदोरहेछ, उतै फारम भर्न भएन ? परियारले भने, ‘के गर्ने आफू रोगी परियो । नियमित डायलाइसिसका लागि हिँडेरै अस्पताल जानुपर्छ । कहाँ राहत पाइन्छ पनि थाहा हुँदैन । फेरि बाहिर जता पायो नहिँड्नु भनेको हुन्छ । यहाँ राहत बाँडेको देखेर छिरेको, तर फारम नभरे नपाइँदोरहेछ,’ परियारले भने ।
धोबीघाटमा राहत नपाएपछि परियारदम्पतीले बाटो तताए । हामी पनि पछिपछि लाग्यौँ । उनीहरू झम्सिखेलस्थित प्रधानसेनापतिको निवासछेउ छहारीमा अडिए । मानवीयताका कारण हामीले त्यहाँ उनीहरूलाई केही आर्थिक सहयोग गर्यौँ । थप सहयोग जुट्न सक्दा सहयोग गर्न सकिन्छ भनेर मैले मोबाइल नम्बर मागें । तर, केही दिनअघि मात्रै चोरी भएको र छोरीको नम्बर थाहा नभएको बताए । नयाँपत्रिका दैनीकबाट