काठमाडौं, १ वैशाख ।
सरकारको पछिल्लो निर्णयअनुसार खाद्यान्न, फलफूल, तरकारी, दूध तथा दुग्धजन्य पदार्थ, पशुपक्षी तथा माछाको आहार आदिको ढुवानी निर्बाध रूपमा ल्याउन दिइएको छ । त्यस्ता सामग्रीको आयात तथा ढुवानीका लागि आवश्यक पास नचाहिने व्यवस्था गरिएको छ । स्थानीय प्रशासनलाई जानकारी गराएर अत्यावश्यक सामग्री आयात गर्न सकिने व्यवस्था गरिएको छ ।
लामो दूरीमा ढुवानी गर्ने यातायातका साधन र यातायातकर्मीले सहजीकरणका लागि विभिन्न राजमार्गमा न्यूनतम स्थानको पहिचान गरी पेट्रोल पम्प, सवारीसाधन मर्मत गर्ने वर्कशप र आवश्यक होटहरूको सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ ।
यस्तै कालीमाटी फलफूल तथा तरकारी बजार विकास केन्द्रको वितरण प्रणाली व्यवस्थापन गर्न उपत्यकाभित्र ११ स्थानमा तरकारी तथा फलफूल बिक्री केन्द्र स्थापना गरी सेवा दिइएको छ । त्यसबाट काठमाडौँ उपत्यकामा रहेका नागरिकलाई सहजरूपमा तरकारी तथा फलफूलको खरीदका लागि सहज भएको छ ।
सरकारले कोरोनाको सङ्क्रमण फैलन नदिनका लागि यही चैत ११ गतेदेखि लकडाउन शुरु गरेको हो । लकडाउन शुरु भएपछि यही चैत २८ गतेसम्म भारतबाट कूल ३७ हजार ३३३ मेट्रिक टन खाद्यान्न आयात भएको छ ।
यस्तै १४ हजार ५३ दाल, २१ हजार ६२५ तरकारी, पाँच हजार ९६० फलफूल, ७९ दुग्धजन्य पदार्थ, २२ हजार ९४३ मेट्रिक टन खाना पकाउने एलपी ग्यास आयात भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार रु १० करोड ८७ लाख सात हजार बराबरको औषधिको कच्चापदार्थ र रु ५६ करोड ९७ लाख २८ हजार बराबरको तयारी औषधि आयात भएको छ ।
भारतबाट खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्री आयातमा समेत सुरक्षात्मक उपाय अपनाइएको छ । खाद्यान्न तथा अन्य सामग्रीको आयात गर्दासमेत कोरोनाको सङ्क्रमण हुने खतरा रहेकाले ती सामग्रीलाई निर्मलीकरण गरी आयात गर्ने व्यवस्था मिलाइएको छ । सामान आयातका लागि आउने सवारी चालक तथा सहयोगीलाई समेत आवश्यक सुरक्षात्मक उपाय अपनाउने व्यवस्था मिलाइएको छ ।
यस्तै प्रवक्ता डा देवकोटाले पैसा, मोबाइल जस्ता सामग्रीबाट पनि कोरोना सङ्क्रमण हुने जोखिम रहेकाले आवश्यक अध्ययन भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हातले ती सामग्री चलाउने भएकाले आवश्यक निर्मलीकरण गर्न वा स्यानेटाइजरको प्रयोग गर्न आग्रह गर्दछौँ ।” उहाँले व्यक्तिगत रूपमा पनि स्वास्थ्य सतर्कता अपनाउन तथा नियमित रूपमा साबुन पानीले हात धुन र सामाजिक दूरी कायम गर्नुपर्नेमा जोड दिनुभयो ।