काठमाडौँ, १ वैशाख । आज विक्रम संवत् २०७७ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो ।
सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा माधव भट्टराई बताउनुहुन्छ ।
सूर्य मेष राशिमा प्रवेश गर्दा शुरु भएर मीन राशि छोड्दा यो संवत्को पुरानो वर्ष सकिएर नयाँ वर्ष शुरु हुने भएकाले वैज्ञानिक रहेको विद्वानहरूको भनाइ छ । सौरमान र चान्द्रमानको समन्वय पनि यो संवत्मा भएको छ । कलियुग शुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् शुरु भएको हो ।
हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता÷असफलता मूल्याङ्कन गरी असफलता दोहरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गर्दछन् । आज बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, मीठोमीठो खाने, साथी तथा इष्टमित्रसँग भेटघाट गरी एकापसमा शुभकामना व्यक्त गर्ने गरिन्छ ।
यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण नेपालीले घरमै बसेर नयाँ वर्ष मनाउनेछन् । विगत वर्षमा जस्तो घुमफिर एवं मेला महोत्सवमा सहभागी हुने अवस्था छैन । विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रूपमा मनाउँछन् ।
साथीभाइ एवं इष्टमित्रसँग भेटघाट गरेर मनाउन यस वर्ष लकडाउनका कारण सहज छैन । पशुपतिनाथ मन्दिरलगायत देशभरका मन्दिरमा पूजाआराधना एवं दर्शनका लागि लाग्ने भीड पनि यस वर्ष हुनेछैन । भीडभाड भई रोग सर्न सक्ने भएकाले सजगता अपनाउँदै धेरै मन्दिरमा सूचना टाँस गरी मूल ढोकामा ताला लगाइएको छ । मन्दिरमा नित्य पूजामात्र हुने गरेको छ ।
नयाँ वर्षका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउने भक्तजनलाई घरबाटै मानसिक रूपमा दर्शन गर्न आह्वान गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा प्रदीप ढकालले बताउनुभयो । पछिल्लो समय वैशाख १ गते पनि पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड लाग्ने गरेको थियो ।
नयाँ वर्षका अवसरमा नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवं शिक्षण संस्थामा सार्वजनिक बिदा दिने चलन भए पनि यस वर्ष कोरोनाका सन्त्रासका कारण चैत ११ गतेदेखि निरन्तर देशभर बन्दाबन्दी भएकाले मानिस घरमै बसेका छन् ।
काठमाडौँको उत्तरी भेगस्थित गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको सङ्गममा रहेको वाग्द्वार (वाग्मती नदीको उद्गम स्थल), टोखा नगरपालिकास्थित सपनतीर्थ, भक्तपुरमा मनाइने बिस्केट जात्रा, कीर्तिपुरस्थित चम्पादेवीमा लाग्ने जात्रा लगायत देशभर लाग्ने मेला यस वर्ष स्थगित गरिएको छ । मेला स्थगित गरिए पनि वैशाख १ गते हुने विशेष पूजा भने यथावत् रहने जनाइएको छ । विशेष पूजा भीडभाड नगरी पुजारीले मात्र गर्नेछन् ।
चान्द्रमास अनुसार चैत्र शुक्ल प्रतिपदाका दिन नै शुरु हुने नयाँ संवत्सर भने चैत १२ गतेदेखि नै शुरु भइसकेको छ ।
मानव जीवन बचाउन उत्तम विकल्प ‘लकडाउन’ र सामाजिक दूरी हो :राष्ट्रपति
काठमाडौँ, १ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष आगमनको यस उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, भ्रातृत्व, एकताका साथै सर्वाङ्गीण विकास र प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
नयाँ वर्ष २०७७ का उपलक्ष्यमा आज शुभकामना सन्देश दिँदै उहाँले यस धर्तीमा आज कोरोनाभाइरसले एक लाखभन्दा बढी मानिसको जीवन समाप्त पारिसकेको र लाखौंँलाख संक्रमणबाट प्रभावित भई जीवनका निम्ति संघर्ष गरिरहेका बेला आपसी सहयोग, लोककल्याण, त्याग र समर्पणलाई थप सशक्त तुल्याउनुपर्नेमा जोड दिनुभएको छ ।
सन् २०१९ को अन्त्यतिर विश्वव्यापी महामारीको रूप लिएको नोबल कोरोनाभाइरस (कोभिड—१९) को रोकथाम, नियन्त्रण र उपचारलाई प्रभावकारी तुल्याएर अमूल्य मानव जीवन बचाउन अहिलेको सबैभन्दा उत्तम विकल्प ‘लकडाउन’र सामाजिक दूरी कायम गर्नुपर्ने देखिएको जनाउँदै उहाँले अब हाम्रो अर्थतन्त्रमा पर्न सक्ने प्रतिकूल प्रभाव कम गर्नका लागि यहाँका आन्तरिक स्रोत उर्वर भूमि, जलसम्पदा, वनजङ्गल र जैविक विविधता सदुपयोग गर्दै दिगो विकास हासिल गर्न अग्रसर हुनु हाम्रो गहन दायित्व हुन आएको औँल्याउनुभएको छ ।
“नेपाल सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’को साझा राष्ट्रिय आकांक्षा हासिल गर्न अग्रसर भएसँगै विकासका प्रयास तीव्रताका साथ अगाडि बढेका छन् । गत वर्ष हामीले महत्वपूर्ण आर्थिक वृद्धि हासिल गर्न सफल भयौँ । विनाशकारी भूकम्पले भत्काएका निजी आवास तथा ऐतिहासिक र सांस्कृतिक सम्पदाहरूको पुनर्निर्माणमा सफलता हासिल भएको छ । राष्ट्रव्यापी सडक सञ्जाल निर्माणमा निरन्तरता, विभिन्न जलविद्युत् परियोजनाहरू सम्पन्न हुने क्रमले यस वर्ष हाम्रो राष्ट्रिय आय र जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिरहेकै बेला हामी विश्वव्यापी महामारीको चपेटामा परेका छौंँ ”, सन्देशमा भनिएको छ ।
नववर्षको प्रारम्भिक महिनामै कोरोना नियन्त्रण हुने उपराष्ट्रपतिको विश्वास
काठमाडौँ, ३० चैत । उपराष्ट्रपति नन्दबहादुर पुनले नयाँ वर्ष २०७७ ले कोभिड–१९ विरुद्धको सङ्घर्षमा अभूतपूर्व राष्ट्रिय एकता प्रदर्शन गर्न सबै नेपालीलाई प्रेरणा दिने बताउनुभएको छ । नयाँ वर्ष २०७७ को अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिँदै उहाँले नयाँ वर्षको प्रारम्भिक महिनाहरूमै कोरोना महामारी नियन्त्रण हुने र देश पुनः ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पुरानै लयमा छिट्टै फर्कने विश्वास व्यक्त गर्नुभएको छ ।
कोभिड–१९ विरुद्धको सङ्घर्ष सरकार, चिकित्सक तथा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको प्रयासले मात्रै नजितिने भन्दै उहाँले यसमा आमजनताको पूर्ण साथ र सहयोगको खाँचो औँल्याउनुभएको छ । जस्तोसुकै अप्ठ्यारामा धैर्य गर्ने र उच्च मनोबलका साथ चुनौतीको सामना गरेर परिस्थितिलाई अनुकूलतामा बदल्ने हाम्रो विगत भएको स्मरण गर्दै उहाँले सन्देशमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा सरकारको निर्णयमा पूर्ण साथ दिन सबैमा अपिल गर्नुभएको छ । “विषम परिस्थितिका बीच हाम्रो घर आँगनमा आइपुगेको नयाँ वर्ष २०७७ सबै नेपालीका लागि सम्झनायोग्य हुने मैले विश्वास लिएको छु”, सन्देशमा उपराष्ट्रपतिले भन्नुभएको छ ।
अप्ठ्यारो परिस्थितिमा नयाँ वर्षको स्वागतः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले अप्ठेरो परिस्थितिमा नयाँ वर्षको स्वागत गर्नु परेको भन्दै शुभकामना दिनु भएको छ । ट्वीटरमा प्रधानमन्त्री ओलीले हर्षोल्लासका साथ हुनु पर्नेमा त्यस्तो हुन नसकेको भन्दै आम जनतामा सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्नु भएको छ ।
नयाँ वर्षलाई समृद्धि र दिगो विकास वर्ष बनाऔँ : सभामुख
काठमाडौँ, १ वैशाख । सभामुख अग्निप्रसाद सापकोटाले नयाँ वर्ष २०७७ लाई धर्तीका सबै मानिसलाई त्राहिमाम बनाइरहेको कोरोनामाथि जीतको वर्ष बनाउन आह्वान गर्नुभएको छ । नयाँ वर्षका उपलक्ष्यमा सम्पूर्ण नेपाली दिदीबहिनी एवं दाजुुभाइमा शुुभकामना सन्देश दिँदै उहाँले समृद्धि र दिगो विकासको बाटामा अघि बढेको वर्षका रूपमा नयाँ वर्षलाई स्थापित गरौँ भन्नुभयो ।
नयाँ वर्षलाई स्वागत गर्दै गर्दा कोभिड –१९ को महामारीविरुद्ध सङ्घर्ष गरिरहेको प्रसङ्ग उल्लेख गर्दै उहाँले भन्नुभयो, “नयाँ वर्षको आरम्भलाई कोरोना र सम्भावित अन्य महामारीलाई परास्त गर्ने दृढ सङ्कल्प गर्नुपरेकाले सोहीअनुसारको व्यवहारमा रही आपसमा शुुभकामना आदानप्रदान गरेर स्वागत गरौँ ।”
सरकारको आह्वानलाई घरमै बसी परिपालना गर्नुस् : अध्यक्ष तिमिल्सिना
काठमाडाँ, १ वैशाख । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा नयाँ वर्षको उपलक्ष्यमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ । नयाँ वर्ष २०७७ को उपलक्ष्यमा दिनुभएको सन्देशमा उहाँले कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि नेपाल सरकारले लिएका नीति निर्णयहरूलाई अझ बढी प्रभावकारी रूपमा कार्यान्वयन गर्न सफलता प्राप्त हुने विश्वास व्यक्त गर्नुएको छ ।
लामो राजनीतिक सङ्क्रमणकालको अन्त्य गर्दै संविधानसभाबाट जारी भएको नेपालको संविधानबमोजिम तीन तहका सरकारको निर्माण भई भौतिक र आर्थिक विकास गर्दै समृद्ध नेपाल सुखी नेपालीको नारासहित अगाडि बढिरहेको बेला कोरोनाको महामारीले उच्च जोखिममा पारेको अध्यक्ष तिमिल्सिनाले उल्लेख गर्नुभएको छ ।
कोरोना नियन्त्रणमा सफलता मिल्ने अध्यक्ष दाहालको विश्वास
काठमाडौँ, बैशाख १ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ कोरोनाको रोकथाम, नियन्त्रण र उपचारका निमित्त सरकारले अघि सारेका लकडाउनलगायत नीति तथा कार्यक्रमको कडाइपूर्वक पालना गर्न सबैमा अपिल गर्नभएको छ । नव वर्ष २०७७ सालको अवसरमा आज सम्पूर्ण देशवासीमा शुभकामना दिँदै उहाँले उच्च मनोबल, स्वअनुशासन र एकताको बलमा कोरोना (कोभिड–१९) भाइरसविरुद्ध विजय प्राप्त गर्न पनि विशेष अपिल गर्नुभएको छ ।
पूर्वप्रधानमन्त्री दाहालले सबै जाति, समुदाय, राज्य, धार्मिक समुदाय र वर्गीय समुदायमा समेत समानरुपले आक्रमण गरिरहेको कोरोना भाइरसविरुद्धको सङ्घर्षमा नयाँ वर्षले मानव जातिकै नयाँ अन्तर्राष्ट्रिय एकता र राष्ट्रिय एकताको आधार दिने विश्वास गर्नुभएको छ । अध्यक्ष दाहालले नयाँ वर्षले कोरोना भाइरसको महामारीकाविरुद्ध सङ्घर्षरत मानव जाति र आम नेपाली जनतालाई पूर्ण सफलतासहित सु–स्वास्थ्य, शान्ति र समृद्धिको कामनासमेत गर्नुभएको छ ।
सङ्कटमा सँगै लड्न सकिन्छ : सभापति देउवा
काठमाडौँ, १ वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस जिम्मेवार प्रतिपक्षी दलका रूपमा रहेर आजको चुनौती सामना गर्न ‘सरकारमा सँगै नरहेर पनि संकटमा सँगै लड्न सकिन्छ’ भन्ने भावना र दृष्टिकोणका साथ सरकारलाई हरसम्भव सघाइरहेको बताउनुभएको छ ।
नयाँ वर्ष विसं २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै उहाँले विश्वव्यापी महामारीका रूपमा फैलिँदै गएको कोरोना भाइरसको संक्रमणविरुद्ध सबै एकजुट भएर लड्न आवश्यक रहेको उल्लेख गर्नुभएको छ ।
पूर्वप्रधानमन्त्री देउवाले यतिबेला सम्पूर्ण विश्व नै प्राणघातक कोरोना भाइरस (कोभिड–१९) बाट आक्रान्त रहेको र यस वर्षको अन्तिम दिनसम्म विश्वका करीब १८ लाख व्यक्ति संक्रमित तथा एक लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको दुःखदायी घटना विश्वले व्यहोर्नुपरेको बताउनुभएको छ । “कोरोनाको संक्रमणका कारण विदेशमा १४ नेपालीको मृत्यु, ६६५ जना संक्रमित तथा स्वदेशभित्र पनि १२ जनामा कोरोना पोजिटिभ देखिएको घटना हाम्रो सामु विद्यमान छ”, उहाँले भन्नुभएको छ ।
सुख, शान्ति र समृद्धि प्राप्ति होस् : भण्डारी
राष्ट्रिय जनता पार्टीका संयोजक शरत्सिंह भण्डारीले नयाँ वर्षका उपलक्ष्यमा देशविदेशमा रहेका सबै नेपाली परिवारमा सुस्वास्थ्य, सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ । मुलुकमा जारी लकडाउनबाट दैनिक मजदूरी गरी जीवनयापन गरिरहेका तथा विपन्न वर्गलाई रोजीरोटीका लागि परिरहेको समस्या सम्बोधन गर्न प्रभावकारी कदमको आवश्यकता औँल्याउँदै सन्देशमा उहाँले नयाँ वर्षले कोरोना, गरीबी र अशिक्षाबाट नेपालीलाई मुक्त तुल्याउने कार्यमा सफलता प्रदान गरोस् भन्नुभएको छ ।
लकडाउनको पालना गर्नुस् : थापा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले कोभिड–१९ लाई पराजित गरी मानवजातिको सर्वोच्चता र श्रेष्ठता स्थापित गर्न नयाँ वर्ष सफल हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले सुशासन र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने जनताको उत्कट चाहनालाई नयाँ वर्षले सम्बोधन गर्न सकोस् भन्दै सम्पूर्ण नागरिकको सुस्वास्थ्य, सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।
उहाँले भन्नुभएको छ, “लकडाउनको कठोर पालनाबाट मात्र कोभिडको प्रकोपलाई पराजित गर्न सक्दछौँ । यो यथार्थलाई आत्मसात् गर्न म सबैमा अपिल गर्दछु ।”