काठमाडौँ चैत्र ३० । नेपालमा तीन जना भारतीय नागरिकमा कोरोना देखिए पछि सरकारले थप सतर्कताका लागि घरैमा बस्न नागरिकलाई अपील गरेको छ ।
स्वास्थ्य मन्त्रालयले आज पत्रकार सम्मेलन गरी थप जोखिम बढ्न नदिन होम क्वारेन्टाईनमै बस्न अपील गरेको हो ।
मन्त्रालयले आइतबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कोरोना संक्रमितको संख्या १२ पुगेको भन्दै परीक्षणको दायरा बढाईएको बताए ।
मन्त्रालयले विज्ञप्ति जारी गर्दै पर्साको वीरगन्ज महानगरपालिका, वडा न। २, छपकैया स्थित मस्जिदमा शंकास्पद रूपमा रहेका २१ जनाको परीक्षण गर्दा त्यसमध्ये तीन जना वर्ष ३७, ५५ र ४४ का पुरुषहरूलाई कोरोना पोजिटिभ देखिएको जनाएको थियो । उनीहरु भारतीय नागरिक हुन् ।
उनीहरुलाई हाल विरगञ्जको नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ भने उनीहरुसँगै रहेका अन्यलाई क्वारेन्टाइनमा राखिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
प्रवक्ता देवकोटोले तीनजनाको संसर्गमा गरेका व्यक्तिहरु तथा उनीहरु गएको स्थानको पहिचान गरी कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको बताउँदै यसका लागि टोली गइसकेको बताए ।
पहिलोपटक चीनबाट फर्केका ३२ वर्षीय पुरुषमा माघ १० गते कोरोना पोजिटिभ देखिएको थियो । उनी हाल भने निको भइसकेका छन् ।
यसैबीच नेपालमा हालसम्म ५ हजार १ सय ८४ जनाको कोरोना भाइरसको परीक्षण गरिएको छ । २४ घण्टामा ७ सय ९५ नमुना परीक्षण भएको मन्त्रालयले जनाएको छ ।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला हालसम्म ४ हजार २० नमुना परीक्षण भएको छ भने उपत्यकाबाहिर १ हजार १सय ६४ नमुना परीक्षण गरिएको छ ।