क्वारेन्टाइनमा बसेका एक सय ८३ जनालाई घर पठाईयो, भन्छन् –शंका मेटियो, मृत्यु जितियो

क्वारेन्टाइनमा बसेका एक सय ८३ जनालाई घर पठाईयो, भन्छन् –शंका मेटियो, मृत्यु जितियो

  • शनिबार, चैत्र २९, २०७६
  • मिर्मिरे अनलाइन

  • 16.3K
    SHARES

२९ चैत, सुर्खेत ।
भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका एक सय ८३ जनालाई घर पठाइएको छ । लकडाउनको समयमा फिर्ता भएकालाई प्रदेश सरकारले वीरेन्द्रनगरस्थित क्वारेन्टाइनमा राखेको थियो।

क्वारेन्टाइनमा बस्नुपर्ने अवधि पूरा भएको र उनीहरुको नमूना परीक्षणपछि रिपोर्टसमेत नेगेटिभ देखिएपछि एक सय ८३ जनालाई शनिबार क्वारेन्टाइनबाट घर पठाइएको हो ।

१४ दिनको क्वारेन्टाइन बसाई सकेर घर फर्किदा मृत्युलाई जितेको अनुभव भएको दैलेखको दुल्लु निवासी विष्णा विष्टले बताईन् ।

क्वारेन्टाइनमा बसिरहँदा मरिन्छ भन्नेसमेत लागेको थियो। तर जब उनको रिपोर्ट नेगेटिभ आयो, तब उनको अनुहारमा खुशीका छायो। उनले भनिन् ।

भारतको सुरतबाट दुईसाता अघि नेपाल आएकी उनलाई क्वारेन्टाइनमा राखिएको थियो। क्वारेन्टाइनबाट विदा भएर बाहिर निस्कदै गर्दा विष्टले भनिन्,‘संक्रमण भएको ठाउँबाट आएकाले हामीमा पनि भाइरस छ होला भन्ने डर थियो, तर परीक्षण गर्दा रिपोर्टमा देखिएन। क्वारेन्टाइनमा बसेर मनको शंका मेटियो, मृत्युलाई पनि जितियो।’

मजदुरीका लागि भारत गएका कोरोनाको त्रासपछि स्वदेश फिर्ता भएका थिए।
‘सुरुमा क्वारेन्टाइनमा बस्नुपर्छ भन्दा जेलमा हाल्न लागेकी भन्ने लागेको थियो’, सुर्खेतको गुटू घर भएका सुरेन्द्र सुनारले भने,‘बाहिर हल्ला गरेजस्तो होइन रहेछ, क्वारेन्टाइनमा बस्दा हामीलाई कुनै समस्या भएन। बरु परीक्षण भएपछि अब ढुक्क भयौं, गाउँले पनि सुरक्षित हुने भए।’

क्वारेन्टाइनबाट विदा भएकाले शंका लागेकालाई क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन्। क्वारेन्टाइनमा नियमित स्वास्थ्य जाँच हुने, मनमा रहेको शंका मेटिने, परिवार र समुदाय सुरक्षित रहने र क्वारेन्टाइनभित्रको सुविधा पनि राम्रो रहेकाले डराउनुपर्ने अवस्था नरहेको उनीहरुको भनाइ छ।
दैलेख घर भएकी भगवती थापाले आफूहरु ढुक्क भएर गाउँ जान लागेको भन्दै छिमेकीले पनि आफूहरुमाथि आशंका गर्ने ठाउँ नरहेको बताइन् ।

कर्णालीमा अहिले पनि भारतबाट फिर्ता भएका अधिकांश व्यक्ति क्वारेन्टाइनमा बस्न मानिरहेका छैनन्। तर क्वारेन्टाइनबाट विदा भएकाले आफू, परिवार र समुदायका लागि भए पनि क्वारेन्टाइनमा बसेर ढुक्क हुन आग्रह गरेका छन्। गाउँ पुगेपछि यही सन्देश प्रवाह गर्ने र क्वारेन्टाइनमा बस्न आग्रह गर्ने उनीहरुको भनाइ छ।

वीरेन्द्रनगरमा रहेको क्वारेन्टाइनबाट विदा हुनेमध्ये सबैभन्दा बढी दैलेखका ८७ छन् । यस्तै सुर्खेतका ५७, जाजरकोटका २०, जुम्लाका १६, कालिकोटका ७ र अछामका एक छन्।

उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको र क्वारेन्टाइन अवधि पनि पूरा भएपछि घर पठाइएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले बताउनुभयो ।
‘उहाँहरुलाई गाउँ पुगेपछि पनि कम्तिमा एक हप्ताघरमै बस्न भनेका छौं’, उहाँले भन्नुभयो, ‘सबैको अवस्था सामान्य देखिएकाले घर पठाएका हौं।’

भारतबाट आएकालाई राख्न प्रदेश सरकारले नेपाली सेनाको सहयोगमा वीरेन्द्रनगरको खुलामञ्चमा चारसय बेडको क्वारेन्टाइन निर्माण गरेको छ। त्यहाँ राखिएका एक सय ८३ जना घर गएपछि अब बाँकी पाँच जना मात्र छन्। उनीहरुको रिपोर्ट आउन बाँकी भएकाले घर नपठाइएको वाग्लेले जानकारी दिए।

यसैबीच सुर्खेतका विभिन्न १९ स्थानमा क्वारेन्टाइन निर्माण गरिएका छन्। जसमध्ये हाल सात वटा स्थानमा मात्र मानिस बसेका छन्। जहाँ हाल ८७ जना रहेको जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ