चैत्र २५, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस विरुद्धको लडाइँका लागि चीनबाट स्वास्थ्य सामग्री खरिदसम्बन्धी विवादास्पद सम्झौताबारे आफूलाई जानकारी नै नभएको दाबी गर्नुभएको छ।
मंगलबार पार्टी सचिवालय बैठकमा नेताहरुले सामग्री खरिदसम्बन्धी विवादास्पद सम्झौताबारे स्पष्ट गर्न माग गरेपछि प्रधानमन्त्री ओलीले स्वास्थ्य सेवा विभागका डीजी (महानिर्देशक) स्तरमा भएको सम्झौताबारे आफू अनभिज्ञ रहेको दाबी गर्नुभयो ।
बैठकमा सहभागी एक नेताका अनुसार प्रधानमन्त्रीले मन्त्री र सचिवसमेत यसबारे जानकार नरहेको र विशुद्ध महानिर्देशक आफैंले निर्णय लिएको बताउनुभएको थियो ।
‘स्वास्थ्य सामग्री खरिदसम्बन्धि सम्झौता र रद्द दुबै प्रकृयाबारे आफु अनविज्ञ छु, यो स्वास्थ्य सेवा विभागका महानिर्देशकले नै गरेका हुन् । कानुनीरुपले महानिर्देशकलाई त्यो अधिकार छ । यसबारे मन्त्री, सचिव कसैलाई थाहा छैन । झन् मलाई कुनै जानकारी छैन ।’ बैठकमा प्रधानमन्त्रीले राखेको भनाइ उद्धृत गर्दै ती नेताले भने । प्रधानमन्त्रीले अनियमितता भए नभएको बारेमा आफैं अनुसन्धान र छानबिनको क्रममा रहेको पनि बताउनु भएको थियो ।
तर, मंगलबार नै दिउँसो राष्ट्रका नाममा सम्बोधन गर्दा भने प्रधानमन्त्रीले नीतिसम्मत नै काम भएको बताउनुभएको थियो । ‘मानव जातिविरुद्ध आइलागेको राष्ट्रिय र विश्वव्यापी संकटको यस्तो परिस्थितिमा एकजुट भई लड्नु पर्ने समयमा सरकारलाई असफल देखाउन र आफ्ना विभिन्न प्रकारका निहीत स्वार्थ पूरा गर्न चलाइएका प्रचारबाजी बेमौसमी बाजा जस्तै हो र यस्तो प्रवृत्ति किमार्थ प्रशंसनीय हुन सक्दैन ।’
प्रधानमन्त्री ओलीको सम्बोधनमा थियो, ‘भ्रष्टाचार नगर्ने र हुन नदिने वर्तमान सरकारको प्रतिबद्धतालाई लगातारको निराधार कूप्रचारले कमजोर पार्न सक्ने छैन । कहींकतै अनियमितता र भ्रष्टाचारजन्य कुरा देखिएमा निर्ममतापूर्वक कारवाही गर्न वर्तमान सरकार किञ्चित पछि पर्ने छैन ।’
स्वास्थ्य सामग्री खरिदसम्बन्धी विवादास्पद सम्झौताबारे नेकपा नेताहरुले सार्वजनिक रुपमै सरकारको आलोचना गरेका थिए । यसअघि ठेक्का रद्द गर्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले ओम्नी समूहले स्वास्थ्य उपकरण खरिद गर्दा गरेको कबोलअनुसार काम गर्न नसकेको र ३ किस्तामा ल्याउने भनेको सामान समयमै ल्याउन नसकेपछि सम्झौता रद्द गरेको बताउनुभएको थियो ।
यो विषयमा समेत छलफल गर्न भन्दै नेकपाले मंगलबार सचिवालय बैठक बोलाएको थियो । बैठकमा सचिवालयका अन्य सदस्यहरुले ओम्नी समूहसँग सरकारको सम्बन्धबारे चासो राख्दै प्रष्ठ पार्न माग गरेका थिए ।
यसैबीच, कोरोना भाइरस विरुद्धको लडाइँमा सरकारले लिएका नीति ठीक रहे पनि कार्यान्वयन अझै प्रभावकारी हुनुपर्ने निष्कर्ष नेकपा सचिवालय बैठकले निकालेको छ ।
बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीलाई एकताबद्ध बनाउने, कोभिड–१९ को विरुद्ध सरकारले ल्याएका कार्यक्रमलाई प्रभावकारी बनाउने र सिंगो देशलाई एकताबद्ध गराएर अगाडि बढाउने निष्कर्ष सचिवालयको रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘सबै सदस्यहरुले राखेको सुझावअनुसार पार्टी र सरकारका नीति, कार्यक्रम कमजोर बनाउन नेतृत्व होस् वा अरु जो कोही संलग्न भएको पाइएमा कडा कारबाही गर्ने पनि बैठकले निर्णय गरेको छ,’
कोभिड–१९ विरुद्ध लड्न सरकारले अहिलेसम्म लिएका नीति निर्णयहरु सही भएपनि अझै त्यसको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्ने सुझाव सचिवालयका अधिकांश सदस्यहरुले दिएका थिए ।