चैत्र २३, धनगढी ।
सुदूरमश्चिममा मात्रै कोरोना संक्रमितको संख्या चार पुगेको र संक्रमण जोखिम दोस्रो चरणमा प्रवेश गरेपछि क्वारेन्टाइन अवधि २१ दिन र्पुयाइएको छ।
सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले आइतबार प्रदेशवासीका नाममा सम्बोधन गर्दै सुदूरपश्चिम कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेकोले हाल १४ दिने क्वारेन्टाइनमा बसिरहेकाहरु अबदेखि २१ दिनसम्म बस्नुपर्ने बताउनु भयो ।
सम्भावित जोखिमको सामना गर्न प्रदेश सरकार गम्भीरतासाथ तयारीमा जुटिरहेको जानकारी दिदैँ उहाँले भन्नुभयो, ‘कोरोना भाइरसको संक्रमणबाट प्रदेशवासीलाई जोगाउन प्रदेश सरकारका सबै संयन्त्र परिचालित छन् ।
प्रदेश सरकारले कोष खडा गरेर सरकारका तर्फबाट ४० करोड जम्मा गरेको छ। उहाँले कोरोनाको उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढीलाई विषेश अस्पताल घोषणा गर्नुका साथै महाकाली प्रादेशिक अस्पताल, जिल्ला अस्पताल, स्वास्थ्य कार्यालयलाई कोरोनाको उपचार व्यवस्थापनका लागि आवश्यक रकम व्यवस्था गरेको पनि जानकारी दिनुभयो ।
भारत लगायतका देशबाट स्वदेश प्रवेश गर्न चाहने नेपाली सीमा क्षेत्रमा अलपत्र परेकोप्रति संघीय सरकारसँग आवश्यक जानकारी गराइएको उहाँको भनाइ थियो।
मुख्यमन्त्री भट्टले अहिले उत्पन्न जटिल अवस्थाका कारण दैनिक ज्यालादारी गरी खाने र असहाय व्यक्तिको जीवनयापनका लागि सरकारले राहत प्याकेज उपलब्ध गराउन पहल गरिएको बबताउनु भयो ।
सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा चार जना कोरोना संक्रमित भेटिएपछि संघीय सरकारले कैलाली कञ्चनपुरर्मा यापिड टेस्टको माध्यमबाट रफ्तारमा नमुना परीक्षण सुरु गर्न लागेको मुख्यमन्त्री भट्टले जानकारी दिनुभयो ।
यसैबीच, सुदूरपश्चिम प्रदेशसँग जोडिएका कर्णालीका नाका बन्द भएका छन्। छिमेकी सुदूरपश्चिम प्रदेशको कैलालीमा कोरोनाको संक्रमण देखिएपछि कर्णालीमा पनि त्रास बढेको छ।
त्रासकै कारण सुदूरपश्चिमसँग जोडिएका कर्णालीका नाका आइतबारबाट बन्द गरिएको हो । छिमेकी प्रदेशसँग नाका जोडिएका स्थानीय तहले सुदूरपश्चिम आउजाउमा रोक लगाएका छन्।
सुदूरपश्चिमसँग जोडिएका कर्णालीका सुर्खेत, दैलेख र कालिकोटका सिमा नाका बन्द भएका छन्। सुदूरपश्चिममा संक्रमण देखिएको र कर्णालीमा पनि भित्रिने सम्भावना बढेको भन्दै नाका नै बन्द गरिएको स्थानीय तहले जनाएका छन्।
सुदूरपश्चिम र कर्णाली प्रदेशलाई जोड्ने कर्णाली नदीमा रहेका पक्की पुल, झोलुङ्गे पुल र तुइन बन्द गरिएकोछ । यस्तै नदीमा डुंगा संचालनमा पनि प्रतिबन्ध लगाइएको छ। मानिसको आवतजावत रोक्न नाकामा सुरक्षाकर्मी पनि खटाइएको छ।