चैत्र २२ धरान । कोरोना भाईरसको जोखिम रोकथाम तथा नियन्त्रणका लागि लकडाउन परे पछि समस्यामा परेका ३ हजार विपन्न परिवारलाई राहत वितरण गर्ने धरान उपमहानगरपालिकाले तयारी गरेको छ ।
१३ वटा वडाका करीब ३ हजार परिवार दैनिक ज्यालादारी र विपन्न रहेको निष्कर्ष निकाल्दै आज सम्बन्धित वडा अध्यक्षहरुलाई राहत जिम्मा लगाईएको छ ।
वडा नं २,३ ४, ५, ६, ८,९,११, १३,१५, १७, १९, २० मा रहेका ती परिवारहरुलाई १० केजी चामल, चार किलो आलु, एक लिटर तेल, एक किलो दाल र एउटा साबुनका दरले दिईने छ । पाचँ जना भन्दा बढी परिवारका सदस्य भएमा ५ किलो चामल थप दिने पनि उपमहानगरले जनाएको छ ।
उपमहागरले सम्बन्धित वडा अध्यक्षहरुलाई टोल विकास संस्थाहरुमार्फत विपन्न र ज्यालादारीको पहिचान गर्न समन्वय गर्न भने पनि वडा अध्यक्षहरुले आफ्नै तरीकाले सम्पर्क गरीरहेको गुनासो केही टोल विकास संस्थाहरुले गुनासो गरेका छन् ।
धरानमा छैन कोरोना
धरान उपमहानगरभित्र अहिले सम्म कोरोना फेला परेको छैन । धरानमा रहेको बिपी अस्पतालमा कोरोना परीक्षण अहिले सम्म ३६ जनामा गरिएको र सबैमा नेगेटिभ रिपोर्ट आएको छ भने आईसोलेसनमा कोही पनि छैनन् । साथै क्वारेन्टाईनमा राखिएका ५ जना मध्य आज दुई जना समय पुगेर छुटेका छन् भने अब तीन जना मात्र रहेको धरान उपमहानगरपालिका जनश्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले जानकारी दिए । क्वारेन्टाईनमा सहायता पुर्याउन स्वास्थ्यकर्मीहरु खटिएका छन् । जसमा पुनित बहादुर राई, लक्ष्मी दियाली र सुनिता लिम्बु रहेका छन् स्वास्थ्यकर्मीको रुपमा ।
पानी नभए पछि हात धुने समस्यामा धरानबासी
अहिले कोरोनाको महामारीले गर्दा सबैलाई नियमित साबुन पानीले हात धुन भनिएको छ । तर धराने जनतामा पानीको समस्या अझै पनि हाहाकारकै रुपमा छ । खाने पानी त छैन भने साबुन पानीले पटक पटक हात धुने पानी कहाँबाट ल्याउने स्थानीयवासीको गुनासो छ । एशियाली विकास बैंकको क्रृण लिएर घर घरमा ७२ साल भित्रै पानी पुर्याउने भनेर काम शुरु गरिएको थियो । शहरी विकास परियोजना अन्तर्गत काम थाले पनि अहिले सम्म पटक पटक म्याद थप्दा समेत आयोजना सम्पन्न हुन सकेको छैन । यस आयोजनाले काम गर्न नसक्नुमा प्राविधिक समस्या भनिदै टार्दै आए पनि स्थानीयवासी भने आयोजनाका प्रमुख राजु पोखरेलले काम गर्न नसकेको गुनासो गर्दछन् । आयोजनाले भने करीब ९० प्रतिशत भन्दा बढी काम सकिएकोले छिट्टै पूरा हुने बताउने गरेको छ ।

२०७२ सालबाटै प्रत्यक घरधुरीबाट १० हजार र पछि १२ हजारका दरले करीब ६ करोड रुपैया आयोजनाले संकलन गरे पनि अहिले न पानी न पैसा भएको जनताको गुनासो सुनिन्छ । सुन्दर नगरी धरानको सबै भन्दा ठुलो समस्या पानी बनेको छ । कोरोनाका कारण साबुन पानीले पटक पटक हात धुनु पर्ने भए पनि पानीकै समस्या रहेको जनगुनासो रहेको छ । डिसेम्बर ३१ , २०१९ सम्म भनेर म्याद थपिए पनि आयोजनाले काम पूरा अझै गरेको छैन । म्याद पनि थपिएको छैन र पानी पनि आएको छैन । जनता भन्छन् । पानीका लागि धराने समुदायले पटक पटक आन्दोलन गर्दै आएका छन् । सन् २०१५मा शुरु भएको यो आयोजनाको म्याद पटक पटक थपेर समय दिदा पनि काम गर्न सकेको छैन । एशियाली बिकास बैंकको एक अर्ब ७७ करोड क्रृण सहयोगमा यो आयोजना थालिएको थियो । दैनिक चार करोड बढी लिटर खानेपानीको माग हुदै आए पनि एक करोड २० लाख लिटर मात्रै खानेपानी संस्थानले वितरण गर्दै आएको छ । धरानमा मुख्य गरी माघ देखि जेष्ठ सम्म पानीको हाहाकार मच्चिने गरेको छ ।
- फाईल फोटो