काठमाडौं, २२ चैत । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले महामारीका रूपमा संसारभर फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण नेपालमा रोक्न र जनतालाई आश्वस्त बनाउन आफ्नो पार्टी सबैसँग सहकार्य गर्न तयार रहेको बताएका छन् ।
शनिबार प्रेस वक्तव्य जारी गर्दै विप्लवले कोरोना महामारीबाट जनतालाई जोगाउन सरकारलाई १६ बुँदे सुझाव दिँदै पार्टीले गर्ने ६ कार्यको सूची पनि प्रस्तुत गरेका हुन् । कोरोना सङ्क्रमणले जनता आकुलव्याकुल भएको समयमा पनि सरकारी स्तरबाट भएको भ्रष्टाचारको भन्डाफोर जारी राखिने स्पष्ट पार्दै महासचिव विप्लवले आउने सम्भावित असहज परिस्थितिको सामनाका लागि सचेत रहन पनि पार्टीपङ्क्तिलाई आग्नह समेत गरेका छन् ।
महासचिव विप्लवले कोरोना सङ्क्रमण फैलिँदा पनि सरकारी स्तरबाट पहल नलिइएको र सरकारमा सामेल मान्छेहरू उल्टै भ्रष्टाचारमा रमाएको समेत बताएका छन् । चीनको वुहान सहरमा यो रोग देखिएपछि विश्वका तमाम देशहरूसहित नेपालमा पनि रोकथामका लागि पहल गर्न सकिने सम्भावना रहेकाे भएपनि पुँजीवादी व्यवस्था भएका देशहरूको चरम लापरबाही, जनअनुत्तरदायी, अहंकारी, मुनाफावादी प्रवृत्तिका कारण त्यहाँका जनताले ठूलो क्षति बेहोर्नु पर्ने अवस्था पैदा भएकाे विप्लवले बताएका छन् ।
साथै नेपालको सामाजिक दलाल पुँजीवादी सरकारको चरम लापरबाही, कमिसनखोरी, दलाली प्रवृत्तिका कारण पर्याप्त पहलकदमी लिन सकेन जसको कारणले लाखौँ नेपाली नागरिकहरूले विविध खालका समस्याहरू भोग्नु परिरहेको पनि उनले बताए ।
विज्ञप्तिमा भनिएको छ, ‘विदेशमा रहेका नागरिकलाई हवाईजहाजबाट स्वदेश ल्याउँदा टिकटबाट आउने रकममा समेत कमिसनखोरी गरियो । कोरोनाको आशङ्कामा निजी क्षेत्रबाट चलेका अस्पतालहरूले बिरामीको उपचार गर्न अस्वीकार गरेको र केहीको ज्यानसमेत गएकाले सरकारको सूचनाप्रणालीमा विश्वसनीयता देखिएन ।’
बिरामीहरू कोरोना प्रभावित हुने र कोरोनाकै कारण मरेकाहरूको सूचना सरकारले लुकाएको हुनसक्ने आशङ्का बढेको विप्लवले जनाएका छन् ।
चितवनलगायत विभिन्न स्थानहरूमा सयौँ शैय्याको अस्पताल निर्माण गरेको प्रचारबाजी गरे पनि त्यसप्रकारका अस्पतालको प्रयोजन नभएको वा अस्पताल नै नभैकन प्रचार सामग्री मात्र तयार गरिएको विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएकाे छ, कोरोना भाइरस सङ्क्रमित भएको आशङ्कामा त्यस्ता बिरामीको उपचार गर्नुको बदला केही बिरामीलाई देशका विभित्र अस्पतालहरू घुमाएको पाइयो । क्वारेन्टाइनमा राखिएका मानिसहरूलाई परिवारसँगको भेटघाट तथा असुरक्षित सम्पर्कबाट अलग गर्नुपर्ने अवस्थामा सुरक्षित संयन्त्र बनाएर उनीहरूको खाने, बस्ने, पिउने व्यवस्था गर्नुपर्नेमा त्यसो नगरिएको, नियमित स्वास्थ्य जाँच र औषधी वितरणको व्यवस्था नगरिएको अवस्था देखाप¥यो । कोरोनाको निहुँमा सम्पूर्ण क्षेत्रमा कालोबजारी, भ्रष्टाचार, अनियमितता बढाइएको अवस्था रह्यो । बाहिर भ्रष्टाचार नगर्ने र गर्न नदिने नारा दिए पनि भित्र स्वयम् सरकार भ्रष्टाचारमा संलग्न रहेको देखापर्यो ।’
कोरोना प्रकोप बढिरहँदा सरकारी पक्षबाट देखाइएको नालायकी र गैरजिम्मेवारीका बारेमा प्रस्ट पार्दै विज्ञप्तिमा भनिएको छ, ‘कोरोना प्रकोप देखिएसँगै दैनिक आवश्यक वस्तुमा अत्यधिक मूल्य वृद्धि गरिएको छ । आपूर्ति व्यवस्था कमजोर रहेको छ । स्वास्थ्य क्षेत्रमा उपयोग गर्नका लागि आयात गरिएका उपचारका सामानहरू विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुरूप हुन सकेनन् । चिकित्सकहरूले त्यसको प्रयोग गर्न अस्वीकार गरे । यसबाट के प्रस्ट भएको छ भने कोरोना भाइरस महामारीका विरुद्धको सङ्घर्षमा नेपालको दलाल पुँजीवादी सत्ता र सरकार असफल भएको मात्र छैन, जनताका दृष्टिमा भ्रष्ट र बदनाम पनि हुन पुगेको छ ।’
यी हुन् महासचिव विप्लवले राज्यलाइ दिएकाे १६ बुँदे सुझाव
१) कोरोना नियन्त्रण र निर्मूल गर्नका लागि सरकारले विशेष पहलकदमी गर्नुपर्दछ । सर्वसाधारण नागरिकका लागि सरकारले स्वास्थ्य परीक्षणको सुविधा गाउँगाउँमा उपलब्ध गराउनुपर्छ ।
२) कोरोना भाइरसले समातेपछि देखिने लक्षणहरू, त्यसका लागि अहिलेसम्म पत्ता लागेका प्रतिरोधात्मक विधिहरू, मानिसले अपनाउनुपर्ने व्यवहारका बारेमा सर्वसाधारणले बुझ्ने गरी प्रचारप्रसार गर्नुपर्छ र गरिब जनताका लागि त्यसप्रकारका सामानहरू उपलब्ध गराउनुपर्छ ।
३) श्रमिक जनताका लागि दैनिक खानपानको व्यवस्था सरकारले उपलब्ध गराउनुपर्छ ।
४) अन्तर्राष्ट्रिय उडानबाट नेपाल प्रवेश गरेका सबैलाई विश्व स्वास्थ्य सङ्गठनको मापदण्डबमोजिम क्वारेन्टाइनमा राख्नुपर्छ ।
५) विदेशमा रहेर नेपाल फर्कन चाहने नागरिकलाई देशमा ल्याउन पहल गर्नुपर्छ ।
६) कोरोना नियन्त्रणका लागि आवश्यक व्यक्तिगत सुरक्षा सामग्री (PPE) को उचित प्रबन्ध गर्नुपर्छ र यसप्रकारका सामग्री उत्पादनका लागि नेपाली वैज्ञानिक र फर्मास्युटिकल उद्योगहरूलाई प्रोत्साहित गर्नुपर्छ ।
७) भारतबाट फर्किएर सीमा क्षेत्रमा अड्किएका सम्पूर्ण नागरिकलाई देशमा ल्याएर क्वारेन्टाइनको व्यवस्था, खानेबस्ने व्यवस्था एवम् उपचारको व्यवस्था गर्नुपर्छ ।
८) चिकित्सा क्षेत्रमा आवश्यक पर्ने औजार, उपकरण, औषधीलगायत सामग्रीमा हुने अनियमितता, भ्रष्टाचार, कमिसनखोरी बन्द गर्नुपर्छ ।
९) मानिसले गर्नुपर्ने यात्राको बाध्यताको दुरुपयोग गर्दै हवाई, स्थल तथा जल यातायातमा हुने सरकारी तथा गैरसरकारी भ्रष्टाचार र लुटपाट बन्द गर्नुपर्छ ।
१०) कोरोना सङ्क्रमण्को आशङ्कामा निजी तथा सरकारी अस्पतालहरूले बिरामी भर्ना गर्न हिच्किचाएको अवस्थामा देशका सबै ठूला सहरहरू र गाउँहरूमा व्यापक जनपरिचालनसहित रोगका विरुद्ध प्रतिरोध गर्न विशिष्ट कोरोना अस्पताल, चिकित्सक र उपकरणको व्यवस्था तत्काल गर्नुपर्छ । रातारात अस्पताल बनाएको प्रचार गरेर रातारात कमिसन बटुल्ने धन्दा छाडेर वास्तविक अस्पतालहरू निर्माण गरिनुपर्छ ।
११) कोरोनाको सङ्क्रमणको आशङ्कामा सामान्य बिरामीसमेत अस्पतालहरूले भर्ना गर्न अस्वीकार गरेकोमा त्यस्ता अस्पतालहरूलाई बिरामी उपचार गर्न सक्षम हुने गरी आवश्यक उपकरणहरू तत्काल व्यवस्था गर्नुपर्छ । त्यति गर्दा पनि उपचार गर्न इन्कार गर्नेहरूलाई कारबाही गर्नुपर्छ ।
१२) क्वारेन्टाइनमा राखिएका सबै मानिसहरूलाई स्वस्थ खाना, स्वच्छ बास एवम् व्यवस्थित उपचारको व्यवस्था गर्नुपर्छ ।
१३) कोरोनाको निहँुमा हुने कालोबजारी, तस्करी, मूल्यवृद्धि रोक्नुपर्छ । ‘लकडाउन’ अर्थात एकान्तबास लम्बिने अवस्थामा आपूर्ति व्यवस्था अस्तव्यस्त हुने सम्भावना देखापरेको छ । यसले विषम प्रकारको अराजकता पैदा गर्ने सम्भावना रहनसक्छ । यसप्रकारको अवस्था आउन नदिन सम्पूर्ण नागरिकका लागि आपूर्ति व्यवस्था सहज र सुलभ बनाउनुपर्छ ।
१४) आयात गरिने सामग्री विश्व स्वास्थ्य सङ्गठनको गुणस्तरअनुसार निक्र्योल गरेर मात्र आयात गर्नुपर्छ ।
१५) नेपाल–भारत सिमाना विदेशीका लागि पूर्ण रूपले बन्द गरिनुपर्छ ।
१६) परीक्षण, उपचार र सुरक्षामा संलग्न चिकित्सक, स्वास्थ्य कार्यकर्ता, सुरक्षाकर्मी र स्वयम्सेवकहरूको सुरक्षा व्यवस्था एवम् सुविधामा उचित प्रबन्ध गर्नु पर्दछ ।
कोरोना भाइरसविरुद्धको सङ्घर्षमा पार्टीले गर्ने कामलाई ६ वटा बुँदामा यसरी प्रस्ट पारेका छन् :
१) कोरोना भाइरस सिङ्गो मानवजातिविरुद्धको समस्या हो भन्नेमा हामी स्पष्ट छौँ ।
२) कोरोना भाइरसविरुद्धको सङ्घर्षमा सबै शक्तिसँग पनि सहकार्य गर्न हाम्रो पार्टी तयार छ ।
३) पार्टी कार्यकर्ता र जनसेनाहरू हाल आफ्नो क्षेत्रबाट कोरोना भाइरसविरुद्धको सङ्घर्षमा सहभागी बनिरहेका छन् । आउँदा दिनमा यसलाई अरू व्यवस्थित प्रकारले जनचेतना फैलाउने, विश्व स्वास्थ्य सङ्गठनले निर्देशित गरेका मान्यताहरूलाई जनतामा पु¥याउन र जनतालाई उपचारमा सहयोग गर्नेछ ।
४) भाइरसविरुद्धको सङ्घर्षमा व्यक्त पुँजीवादी अराजकता, सामाजिक सद्भाव बिथोल्ने र जनअनुत्तरदायी शैलीका विरुद्ध समाजवादी अनुशासन, जनसेवा र जनएकतालाई प्रोत्साहित गर्नेछ ।
५) कोरोना भाइरसजस्तो महामारीलाईसमेत मुनाफा सोहोर्ने, भ्रष्टाचार गर्ने र जनतामाथि शोषण गर्ने सामाजिक दलाल पुँँजीवादी सरकारको भण्डाफोर गर्नेछ ।
६) कोरोना भाइरसविरुद्धको सङ्घर्षमा सरकारको असफलता र अस्तव्यस्तताका बावजुत जनताले अपनाएको संयमप्रति धन्यवाद दिन चाहन्छ र आउने सम्भावित असहज परिस्थितिको सामनाका लागि सचेत रहन अपिल गर्दछौँ ।
