विश्वभर मै विभेदको शिकार महिला फुटबल !

विश्वभर मै विभेदको शिकार महिला फुटबल !

  • शनिबार, चैत्र २२, २०७६
  • नमीन ढकाल

  • 9.5K
    SHARES

विश्वको सवैभन्दा चर्चित खेल फुटबल । २०९ वटै देशमा यसको क्रेज उत्तिकै छ । तर अन्य क्षेत्रमा झै महिला र पुरुषबिचको विभेद पनि उस्तै छ । महिला र पुरुष टिमलाई दिने सुविधा र तलबभत्ता मात्र होइन पुरस्कार राशीमा पनि विभेद रहेको छ । लगानी अनुसारको प्रर्दशनलाई हेर्ने हो भने नेपालको फुटबलमा पुरुष भन्दा महिला फुटबलमा दक्षिण एसियामा अब्बल छ । दक्षिण एशियाली खेलकुद सागमा नेपाली महिला टिम अहिलेसम्म पदकविहीन हुनु परेको छैन । अझ भन्नुपर्दा नेपाली महिला फुटबल टिम दक्षिण एसियाली खेलकुद र महिला साफ च्याम्पियनसिपमा विजेता बन्न नसकेपनि फाइनल खेल खेल्ने टिम हो । नेपाली महिला टिमले सागमा तीन पटक रजतपदक तथा ५ मध्ये ४ वटा महिला साफ च्याम्पियनसिपमा तीनैपटक रजत पदक दिलाएको थियो । भारतमा भएको हिरो गोल्डकप र र्किगिस्तानको नायज्दा कपको उपविजेता टोली हो नेपाली महिला फुटबल टिम । अर्थात १० बर्षको अवधीमा महिला टिमले १० वटा उपबिजेता ट्रफी देशमा भित्र्याएको छ । जबकी पुरुष फुटबल टिमले अहिलेसम्म साफ च्याम्पियनसिपको फाइनलसम्म पुग्न सकेको छैन । सागमा भने ३६ बर्षको अवधीमा फुटबल तर्फ ४ स्वर्ण, २÷२ रजत र कास्य पदक प्राप्त गरेको छ । सन २०१६ को बंगवन्धु कप र सोलिडारिटीमा नेपाल पहिलो बन्यो । पुरुष टोलीलाई दक्षिण एसियाका ६ वटै देशले हराउने सार्मथ्य राख्छन् । महिला फुटबलमा नेपालको प्रतिद्धन्द्धी भारत मात्र हो । भारत बाहेकका टोलीले अहिलेसम्म नेपाली महिला टिमलाई हराउन सकेको छैन् ।
पुरुष र महिलालाई सम्मानजनक सुविधा हुनुपर्ने महिला टिमकी स्ट्राइकर सावित्रा भण्डारीको तर्क छ । ‘तलवमात्र होइन अन्य सुविधामा महिला खेलाडीलाई बिभेद छ ’ उनी भन्छिन, ‘पुरुषको विभिन्न प्रतियोगिता आयोजना गरिन्छ र टोलीलाई व्यस्त बनाइन्छ । तर हामीले एउटा खेल खेल्न बर्षौं कुर्नुपर्छ । धन्न आर्मीले बर्षैपिच्छे प्रधानसेनापती कप आयोजना गर्छ नत्र भने त एउटै प्रतियोगिता नखेली बर्ष वित्ने रहेछ ।’

Nepali-women-team – Bolchha Nepal
अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय टोलीका सदस्यलाई मासिक भत्ता उपलब्ध गराउँछ । पुरुष टोलीका खेलाडीले मासिक १५ हजार पाउँछन् । महिला टोलीका खेलाडीले भने मासिक १० हजार मात्र पाउँछन् । त्यो पनि गत बर्ष ७ हजारबाट बढाएर बनाइएको हो । महिला फुटबलरमाथी विभेद नेपालमा मात्र होइन विश्वभरमा नै हुने गरेको तथ्यहरुले देखाउँछ । सन २०१९ को महिला विश्वकप विजेताले अमेरिकाले ट्रफीसँगै ४० लाख अमेरिकी डलर हात पारेको छ जुन सन् २०१५ मा प्राप्त गरेको पुरस्कारभन्दा दोब्बर हो  । यदपी यो पुरस्कार पुरुष फुटबलको विश्वकपसँग तुलना गर्ने हो भने अत्यन्तै न्यून हुन्छ । विश्वकप २०१८ को च्याम्पियन फ्रान्सले ३ करोड ८० लाख डलर हात पारेको थियो । पुरुष विश्वकपको समुह चरणबाटै बाहिरिने देशले समेत ८० लाख डलर प्राप्त गर्छ । जुन महिला विश्वकपको बिजेताले पाउनेको दोव्वर नै हो । अमेरिकी म्यागजिन फोब्सले सन २०१७ मा प्रकाशन गरेको तथ्यांकले महिला र पुरुष बिचको असमानतालाई प्रष्ट पार्छ ।


क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले बार्षिक रुपमा नेयमारलाई दिने तलब विश्वमा उत्कृष्ट मानिएको ७ महिला लिगमा गरिने तलब भुक्तान भन्दा बढी हो । नेयमारले पिएसजीबाट बार्षिक ४ करोड ३८ लाख डलर पारिश्रमिक लिन्छन् । जुन महिला फुटबलमा फ्रान्स, जर्मनी, स्विडेन, इंग्ल्यान्ड, अमेरिका, अस्ट्रेलिया र मेक्सिकोको लिगमा गरिने खर्च भन्दा पनि बढी हो ।
खेलकुदमा लैंगिक विभेद कम गर्ने विषयमा संयुक्त राष्ट्रसंघअन्तर्गत युएन वुमनको छलफलमा पारिश्रमिक र सेवा सुविधाको मुद्धा पेचिलो रुपमा प्रस्तुत भएको थियो । युएनले आफ्नो फेसबुक पेजको माध्यमबाट तलब, बोनस, व्यवसायिक सम्झौता तथा अन्य आय श्रोतबाट लियोनल मेसीको वार्षिक आम्दानी ८४ करोड डलर प्रस्तुत गरेको छ । जुन विश्वका शीर्ष ७ लिग खेल्ने १ हजार ६ सय ९३ महिला खेलाडीको कुल आम्दानीको दोब्बर हो । सात लिगमा खेल्ने सबै महिला खेलाडीको समग्र वार्षिक आम्दानी ४२ करोड ६० लाख डलर छ । इन्स्टाग्रामबाट मात्रै मेस्सीको बार्षिक २३.३ मिलियन डलर कमाइ हुन्छ । अमेरिकी महिला फुटबल टोलीका खेलाडीहरुले आफूहरुलाई पनि पुरुषसरह पारिश्रमिक दिइनुपर्ने भन्दै गत मार्चमा फुटबल संघविरुद्ध मुद्दा दर्ता गराएका थिए । अमेरिकी टिमका स्टार खेलाडीहरु एलेक्स मोर्गान, मेघान रापिनोई, चार्ली लोइड र बेकी साउरब्रुन लगायतको नेतृत्वमा पुरुषसमान पारिश्रमिक माग गर्दै अदालतमा मुद्दा दायर गरिएको थियो । त्यसको अझै निकास आउन सकेको छैन् । लैङ्गिक समानताका लागी विश्वभरका महिला फुटबलरहरुले आबाज उठाइरहेपनि कार्यान्वयन हुन सकेको छैन् । ग्लोबल फुटबल इम्प्लोयमेन्ट रिपोर्टका अनुसार ३ हजार ६ सय व्यावसायिक महिला फुटबलरको मासिक तलब औसत ६ सय डलर मात्र रहेको छ । त्यसमध्ये आधा खेलाडीले त तलब नै नपाएको बताएका छन । महिला फुटबलको लोकप्रियता भने बढिरहेको छ । फ्रान्समा भइरहेको आठौं विश्वकपको ७ लाख २० हजार टिकट तुरुन्तै बिक्री भएको थियो । नेपालमा राष्ट्रिय टिमका महिला खेलाडीले मासिक १० हजार रुपैयाँ तलब पाउँछन् भने पुरुषले १५ हजार । पुरुषको लिग विजेताले ५० लाखदेखि १ करोडसम्म थाप्दा महिलाको च्याम्पियनले ५ लाख मात्र हात पारेको छ ।

महिला फुटबल र मिडिया

खेलकुद पत्रकार जर्जिना टर्नरले गार्जियनको लागी गरेको अनुसन्धानमा महिला फुटबल प्रति मिडियाको धारणाको बिषयमा उल्लेख गरेकी छन । १९९८ पछि २००९ सम्म गार्जियनमा प्रकाशित फुटबलका समाचारमा उनले महिला फुटबलको बिषयमा ३०३ वटा लेख पाइन । यसको विपरित तत्कालिन म्यानचेस्ट युनाइटेडका मेनेजर सर एलेक्स फर्गुसनको बारेमा १८४ वटा लेखहरु लेखिएका छन भने इङल्यान्डको तत्कालिन प्रिमियर लिग क्लब कोभन्त्री सिटी ( जो हाल रेलिगेसनमा परेर इङल्यान्डको दोश्रो वरियताको प्रतियोगिता लिग वानमा छ । ) को बारेमा मात्र ३३८ वटा लेख पाइएको छ । फिफाको १० बर्षको रेकर्डले फुटबल खेलमा महिलाको सहभागीता अमेरिकामा २१० प्रतिशत, स्विजरल्यान्डमा २५० र जर्मनीमा १६० प्रतिशतले बढेको देखाउँछ । बिशेष गरेर अफ्रिका लगायत अन्य देशमा समेत महिला फुटबलमा बृद्धि भएको छ । टर्नरले मिडियामा महिलाहरुको फुटबललाई मिडियामा सिमान्तकृत गर्नुमा पत्रकारहरुको चाहाना, पुरुषहरुले दबाउने शैली र सामान्यतया महिला फुटबलको लागि सानो बजेट छुटयाईने भनेर जोडेकी छन ।
महिला फुटबल खेलको इतिहासमा सवैभन्दा बढी दर्शक भएको खेलको रुपमा सन १९९९ को महिला विश्वकपको फाइनल अमेरिका र चीन बिचको खेललाई लिइन्छ जहाँ ९० हजार १८५ दर्शकले हेरेका थिए । सन २०१९ को महिला विश्वकपमा नेदरल्यान्ड र अमेरिकाबिच फाइनल खेल ५७ हजार ९ सयले हेरेको फिफाको तथ्याङकले देखाउँछ । जबकी सन २०१८ को रुस विश्वकपको फाइनल खेल ७८ हजार ११ जनाले हेरेका थिए । महिला फुटबल प्रति क्रेज भएपनि पर्याप्त लगानी छैन । विश्वका १८० देशका २६ लाख महिला र बालिकाहरु फुटबल खेल्ने गर्दछन । केही वर्षयता महिला फुटबलको लोकप्रियता ह्वात्तै बढेको छ । महिला फुटबलको क्लबको प्रतियोगितामा पनि ६० हजारसम्म दर्शकले रंगशालामा प्रत्यक्ष खेल हेर्ने भएका छन । तर, फिफाको पुरस्कार र लगानीको ठूलो खाडल रहेसम्म महिला खेलाडीबाट पुरुष टिम समानको खेलस्तर आशा गर्नु बेकार छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ