भारतमा रहेका नेपालीकाे विचल्ली, राेगले भन्दा भाेकले मार्ने चिन्ता- शिव पौडेल, मुम्बई

भारतमा रहेका नेपालीकाे विचल्ली, राेगले भन्दा भाेकले मार्ने चिन्ता- शिव पौडेल, मुम्बई

  • शुक्रबार, चैत्र २१, २०७६
  • मिर्मिरे अनलाइन

  • 20.5K
    SHARES

“तपाईं धेरै फतर फतर नगर्नुस् । त्यहाँ तपाईंका गाउँकाले मात्र दुख पाएका छैनन् । ८० लाख नेपाली छन् भारतमा । तपाईंकालाई ल्याए तिनिहरुलाइ पनि ल्याउनु पर्छ ति सबैलाई ल्याएर यहाँ राख्न सकिन्न। जहाँ हुनुहुन्छ चुप्प लागेर थपक्क बस्न भन्नुस्। के गर्ने के नगर्ने भनेर मलाई नसिकाउनुस् । ”
यो माथिको भनाइ हो प्रधानमन्त्रीका सल्लाहकार सुर्य थापाको।हामीले यहाँबाट फोन सम्पर्क गर्ने धेरै प्रयत्न गर्यौं तर उहाँले कल रिसिभ गर्नु भएन । पछि उहाँकै गृह जिल्लाका साथि मार्फत हाम्रो पीडावारे अवगत गराउदा उहाँले बोलेको भाषा यही हो । ।उहाँसँग कुरा गर्ने साथीले त्यस पश्चात हामीलाइ भन्नु भयो ‘ब्यर्थै आस गरिएछ,जान्दा जान्दै फोहोरमा कुचिएछ,मलाई उनिमाथी अझै घृणा लाग्यो’ ।

यस्तै हो भने त यहीँ हामी रोगले हैन भोकले मर्ने भयौं, साथी भरत जिसिले रुञ्चे स्वरमा आफ्नो ब्यथा यसरी पोखे ।

राष्ट्रिय युवासंघका अध्यक्ष रामप्रसाद सापकोटा,नेकपा स्थायी समिति सदस्य मणि थापा, प्युठानबाट प्रदेश सांसद कृष्णध्वज खड्का,पुर्व सभासद नारायण प्रसाद अधिकारी,दिल्ली स्थित नेपाली राजदुतावास, परराष्ट्र सचिव,पत्रकार मनहरी तिमल्सिना प्रवास स्थित नेपाली संघ संगठनका केन्द्रीय नेताहरु,प्युठानका मेयर अर्जुन कक्षपति लगायत पहुँच पुग्न सक्ने सम्भव भए जतिलाई सम्पर्क गरियो । कसैबाट झिनो आश्वासन पाइयो।कसैले पर्खनुस् भने,कसैले खासै रेस्पोन्स गरेनन् र धेरै जसोले जहाँ हुनुहुन्छ त्यहीँ सुरक्षीत रहनुस भन्ने सल्लाह दिनु भयो ।
कोठामा बेरोजगार भाइहरु आएर बसेका छन् । आफुलाई २१ दिनलाई भनेर भरेको रासन सिद्दिसक्यो । पैसा कसैसँग छैन । मसँग भएको पनि सकिन लाग्यो । कति दिन बाँचिएला यसरी ? बरु अलिकति भएको दानापानी झोलामा हालेर घर जान पाए बाँचिन्थ्यो कि भनेर सबैसँग हार गुहार गरेको हो तर कसैले चित्तबुझ्दो आश्वासन दिएनन् । यस्तै हो भने त यहीँ हामी रोगले हैन भोकले मर्ने भयौं, साथी भरत जिसिले रुञ्चे स्वरमा आफ्नो ब्यथा यसरी पोखे ।
मुम्बईको उल्हासनगर एरियामा सानातिना चाइनिज सेन्टरमा काम गर्ने २२ जना मजदुर भाइहरु घर धनिले कोठाबाट निकालि दिएपछि सडकमा छरीन पुगे । लकडाउनको स्थितिले त्यहाँ हिंड्न बस्न सम्भव थिएन । नजिकै कतै खुला ठाँउमा दुइ दिनसम्म भोकै बसेछन् । सबैको पकेट रित्तिएको रहेछ । कतैबाट एकता मञ्चका साथीहरूले थाहा पाएपछि त्यहाँको नगर प्रमुखसँग सम्पर्क गरि स्थानीय प्रहरी मार्फत उनीहरुलाई नास्ता खुवाएर पालमुनी लगेर राख्ने काम भएछ । त्यसपछिको स्थिति बारे साथीहरूबाट कुनै जानकारी आएको छैन ।
यहाँदेखि एक घन्टाको दुरिमा मेरा केही आफन्तहरु बस्नुहुन्छ । बस्न समस्या छैन। खान गाह्रो छ । दिउँसो १२ र १ बजे एउटा गाडीले खाना लिएर आउछ । एक एक प्लेट दाल भात दिन्छ र फर्किन्छ । दाल भात हो तर फगत उमालेको मात्र स्वाद हिन,तैपनि खुशी छ एक छाकको जो हो भएकोमा । साँझको खाना आफुसँग हुँदासम्म खाइएला त्यसपछि देखा जायगा भन्नुहुन्छ ती आफन्त ।
सिमानाकामा अलपत्र हजारौं नेपालि जनताहरुलाई नेपाल सरकारद्वारा सिमाभित्र प्रवेश गर्न निषेध गरिएपछि यहाँ बस्ने लाखौँ नेपालिहरु अत्यन्तै निराश भएको अवस्था छ । २१ दिने लकडाउन खुलेपछि नेपाल पस्न पाइएला भनेर पोको उचालेर त्यो दिन पर्खिरहेकाहरुमा अर्को चिन्ता स्वदेश पस्न पाइदैन कि भन्ने पनि छ ।
भारतका अन्य प्रदेशको तुलनामा महारास्ट्रमा कोरोनाको प्रकोप दोब्बर देखिन्छ । लकडाउनले केही घट्ला भन्ने आशा गरिएको भएपनी संक्रमितको संख्या निरन्तर माथी माथी उठिरहेको छ । यो रोगले भोलि कस्तो रुप लिने हो भन्ने चिन्ता भन्दा भोलि के खाने र कहाँ बस्ने भन्ने चिन्ताले बढी सताइरहेको छ नेपालीहरुलाई । झट्ट हेर्दा धनीहरुलाई धन्दा डाउन भयो भन्ने पिरलो र मजदुरहरुलाइ पेट कसरी भर्ने भन्ने पिरलोले पिरोलिरहेको देखिन्छ । धनीहरु धन्दा सुरु गर्न,गरिबहरु पेट भर्न र प्रवासीहरु आफ्नो स्वदेश फिर्न आतुर छन् यतिबेला । तर दिनदिनै बढ्दै गएको ग्राफले राम्रो संकेत पटक्कै गरेको छैन ।
जो जहाँ छ त्यहीँ सुरक्षीत हुने भन्ने आदेश सुरुमा सहि लागे पनि कार्यान्वयनमा जाँदा निकै कठिनाइ आँउदो रहेछ । बसेको कोठाबाट निकालिएपिछ जोकोही उत्रने भनेको सडकमै हो । सडकमा सुरक्षा हुने कुरा भएन । पेटमा खाना नभएपछि भोको प्यासो व्यक्ति स्वस्थ पनि रहन सक्दैन । कति सजिलो छ भन्नलाई ? जो जहाँ छ त्यहीँ स्वस्थ र सुरक्षीत रहनुस भनेर । घरबाट खेदिएको र भोकले भयभित मान्छे कसरी सुरक्षीत हुन सक्छ ? यो मन्त्र भनेको पुग्ने खानेको लागी रहेछ । गरिब मजदुरको लागि पहिलो शर्त गाँस र दोस्रो शर्त बास हो अनि कपास । अनि पो बल्ल उनीहरु स्वस्थ र सुरक्षित रुपमा रोगसँग लड्न सक्षम हुँदा रहेछन् ।
आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजीको सम्बोधन आएको छ । नयाँ केही आउला, निकास पाइएला वा कुनै उपाए पो दिन्छन् कि भनेर पर्खिरहेका जनतालाई आउदो आइतबार राती नौ बजे दिप प्रज्वलन गरेर आफू र आफ्नो सरकारप्रतिको एक्यवद्धता जाहेर गर्ने आज्ञा दिनु सिवाय सम्बोधनमा उल्लेख्य अरु केही थिएन । उनको यो सम्बोधन हाम्रा लागि हर्ष न बिस्मत नै भयो । थाल बजाएर वा दिप जलाएर रोग निवारण हुदैन भन्ने थाहा छ पÞmेरि पनि किन अल्मलाउन खोजिदैछ त, आश्चर्य लाग्छ ।

महापिरमा परेका भारत स्थित लाखौं नेपालीहरुको नेपाल फिर्ने दिन आउला त ? के भोली नयाँ बिहानी उदाउला ? हामी अनगिन्ती नेपालीहरुको एउटै चाहना छ हामिले हाम्रो आफ्नो देशको माटो टेक्न पाइयोस् । छातीमा नेपाल बोकेर हामी व्यग्र चिन्ता सहित प्रतीक्षामा छौं।

यतिबेला धनिहरु कोरोनाबाट कसरी बच्ने भन्ने चिन्ताले घरमा खुम्चिएका छन् भने मजदुरहरु भोकबाट कसरी बच्ने भनेर सडकमा निस्कन थालेका छन् । रोगको भन्दा ठुलो महामारी भोकको हुदोरहेछ । रोगले सबैलाई नछोला तर भोकले सबैलाई सताउछ । महामारीबाट बचाउन सरकारले खोजेको प्रयास भोकमरीले भताभुङ्ग पार्ने निश्चित जस्तै छ । यहि हाल रहे पहिलो समस्या दोश्रो बन्दिने र दोश्रो समस्या पहिलो प्राथमिकतामा पर्ने पनि हुन सक्छ मरता क्या न करता भन्ने भनाइको चरितार्थ हुँदैछ ।
अस्तिदेखि मेरो साहुले कम्पनी हल्का हल्का चलाउन थालेको छ । यस एरियाका विभिन्न टोलमा छरिएर बसेका आफ्ना मजदुरहरुलाइ बोलाएर दिउँसोको भोजनको ब्यबस्था पनि मिलाएको छ ।

मुम्बईएको एक ईलाकामा खुल्ला आकाशमुनि यसरी दिन रात विताईरहेका नेपालीहरु

यससँगै लकडाउनको लक्ष्मणरेखा पार नगर्ने नियम साहुकै आदेशमा तोडिएको छ । भोक मारेर रोग निम्त्याउने गल्ती मजदुरहरुले पनि गरेका छन् । छरिएर रहेका मजदुर एकैठाउ एकै समुहमा मिसिदा एउटा सन्त्रासको सिर्जना भए पनि केहि काम पाएकोमा मजदुरहरुको मुहारमा अलिकति आसा पलाएको देखिन्छ । लकडाउनको अवस्थाले सिर्जना गरेको भोकले भयभित मनहरु बढ्दै गरेको रोगको प्रकोपबाट भने त्यति त्रसित देखिदैनन् । एकदिन त मर्नु नै छ तर भोकले मर्न निकै गाह्रो हुदोरहेछ भन्छन् उनीहरु ।

हामी भोलि भैपरी आउने महामारी र महासंकटको चिन्ताले हार गुहार लगाइरहेका छौं। तर हाम्रो देशले हाम्रो पुकार र चीत्कार सुनिरहेको छैन । नेपाली नागरिकताको प्रमाणपत्र झोलामा छ तर हामी अहिले अफ्नै देशबाट अनागरिक र अवान्छित ठहर भएका छौं ।

चाहे सिमा नाकामा अलपत्र परेका नेपालीहरु होउन् चाहे जादाजादै बाटोको बिचमा असरल्ल दुखमा परेकाहरु होउन् वा भारतका विभिन्न ठाउँका खुला आकाशमुनि जमिन ओछ्याएर बसेका सयौंको झुन्डमा थुप्रीएका निमुखा नेपाली मजदुर नै किन नहोउन् । उनीहरुको अवस्था सारै नाजुक छ । क्यामेराका अगाडि पस्केका खाना र राहत सामाग्रीले ती सबैका पेट भरिने कुरै भएन । गुमनाम गल्ली र चोकमा भौतारिएकाहरुको बेथा न यहाँको सरकारले देख्छ न नेपाल सरकारले सुन्छ । यहाँको सरकार भन्छ खाना सबैलाई खिलाउछौ कोहि भोकै बस्नु पर्दैन। नेपाल सरकार भन्छ,तपाईंहरु त्यहीँ सुरक्षीत हुनुस खान बस्नको ब्यबस्था त्यहीँ हुनेछ ।
तर यथार्थमा हेर्दा रोग भोक र शोकको तेहरो मारमा हामी नेपालीहरु परेको कुरा कसैले बुझ्न सकिरहेको छैन । क्वारेन्टाइनमा राखिएका कुरा निराधार हुन् । सयौंको थुप्रोमा एउटा मात्र पनि संक्रमित छ भने के होला त्यसको नतिजा ? त्यतातिर न यहाँको सरकारको चिन्ता देखिन्छ न नेपाल सरकारले वास्ता गर्छ । स्थिति बिकराल बन्दै छ । हामी भोलि भैपरी आउने महामारी र महासंकटको चिन्ताले हार गुहार लगाइरहेका छौं। तर हाम्रो देशले हाम्रो पुकार र चीत्कार सुनिरहेको छैन । नेपाली नागरिकताको प्रमाणपत्र झोलामा छ तर हामी अहिले अफ्नै देशबाट अनागरिक र अवान्छित ठहर भएका छौं ।

                         भारतमा त्रपालमुनि बसेका २२ नेपाली

अरु जेसुकै होस् हाम्रो देश हाम्रो नभैदिदा,हाम्रो सरकार हाम्रो नहुदा र आफ्नो परिवार आफैसित नहुदा मुटु कसरी भक्कानिदोरहेछ भन्ने कुरा आज अनुभुत भइरहेको छ । कथा व्यथाहरु बताइ नसक्नु छ । सुनिदिनेले सुन्छन,बुझिदिनेले बुझ्छन तर सरोकारवालाले न सुन्छ न बुझ्छ न केही गर्छ ।
महापिरमा परेका भारत स्थित लाखौं नेपालीहरुको नेपाल फिर्ने दिन आउला त ? के भोली नयाँ बिहानी उदाउला ? हामी अनगिन्ती नेपालीहरुको एउटै चाहना छ हामिले हाम्रो आफ्नो देशको माटो टेक्न पाइयोस् । छातीमा नेपाल बोकेर हामी व्यग्र चिन्ता सहित प्रतीक्षामा छौं। बाकी हाम्रो भाग्यको फैसला नेपालसरकारसँग निहित छ । हाम्रो पुकार सुनिदेउ नेपाल आमा ।

-पौडेल महाराष्ट्रको एक कम्पनीमा रोजगारी गर्दछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी