२१ चैत, वीरगन्ज ।
वीरगन्ज महानगरपालिका २४ को वडा कार्यालयमा आगजनी गरिएको छ। लकडाउनकै समयमा बिहीबार राती अज्ञात समूहले वडा कार्यालयमा आगजनी गर्नुका साथै सरसामान चोरेर पनि लगेको छ ।
रामगढवामा रहेको वडा कार्यालयमा आगजनी गरी सोहि भवनमा रहेको स्वास्थ्य चौकीको ढोका तोडेर केही औषधि चोरेर लगेको वडा अध्यक्ष दशरथ राउत कुर्मीले जानकारी दिए ।
वडा कार्यालयको ढोकाको चाल्ता फुटाएर कार्यालयभित्र दिरेर आगजनी गरिएको प्रहरीले जनाएको छ । आगजनीबाट टेबुल १ थान , कुर्सी २ थान र कार्यालयका विभिन्न् अभिलेख रहेका कागजपत्रहरु जलेर खरानी भएका छन् ।
कार्यालयभित्र रहेका २ मध्ये एउटा दराजको ताल्चा तोडेर त्यहाँभित्र रहेका सबै कागपत्र र फाइल झिकेर आगजनी गरिएको वडा सचिव घनश्याम कुर्मीले बताए ।
वडा कार्यालयबाट कम्प्युटर डेस्कटप १ थान , सिपियु १ थान , प्रिन्टर १ थान , युपिएस १ थान , पंखा १ थान , हिटर १ थान , राउटर १ थान र पानी तान्ने मोटर १ थान चोरी भएको छ।
लकडाउनले समस्यामा परेका विपन्न,गरिवलाई राहत वितरणका लागि सर्वदलीय बैठक बस्न शुक्रबार बिहान ७ बजे वडा कार्यालय पुग्दा कार्यालयको ताल्चा तोडेर आगजनी गरिएको देखेपछि प्रहरीलाइ खबर गरिएकाे थियाे ।
आगजनी र चोरीबाट करिब चार लाख बराबरको क्षति भएको जनाइएकाे छ । पर्सा प्रहरीले पनि घटनाबारे अनुसान्धान भईरहेको जनाएको छ ।