बीरगञ्ज चैत्र १७ । कोरोनाको सन्त्रास बढेसगँै देशभर व्यापारीक उदेश्यले खोलिएका निजी अस्पताल तथा मेडिकल कलेजहरुले जनताको उपचार गर्न नमानेर गैर जिम्मेवारी पना देखाउने क्रम घटेको छैन । राजधानीमा खुलेका ठूला अस्पतालदेखि राजधानी बाहिरका अस्पताल तथा निजी मेडिकल कलेज सम्मले ज्वरो रुघाखोकी लागेका बिरामीहरुको उपचार गर्न नमान्दा बिरामी मर्कामा परेका छन् ।
तर सरकार निजी मेडिकल व्यवशायीहरुसामु निरीह देखिएको छ । सरकारले पटक पटक भर्ना लिन र उपचार गर्नु नत्र कार्बाही हुन्छ भनेर मुखले चेतावनी दिए पनि बिरामी नलिने उपचार नगर्ने क्रम रोकिएको छैन ।
त्यसैको पछिल्लो नमुना बीरगञ्जको नेस्नल मेडिकल कलेजले आज फेरी एक जना ज्वरोको बिरामी भर्ना लिन अस्वीकार गरेको छ ।
बालाको कलैया उपमहानगर २२ निवासी २५ बर्षका बिजय कुशवाहालाई थ्रेसरमा दुर्घटनामा परेर घाउ भए पछि ज्वरो आएको अवस्थामा समेत आज भर्ना लिन नेस्नल मेडिकल कलेजले अस्वीकार गरेको हो । उनलाई टिचिगं अस्पतालमा ल्याईदै गर्दा बाटोमै ज्यान गयो ।
ठूलो लगानीमा सञ्चालनमा आएका अस्पतालले संकटको बेला पनि सुरक्षा सामाग्रीको व्यवस्थापन गरेका छैनन्। नेशनल मेडिकल कलेजले कोरोना संक्रमितको उपचारका लागि ५० शय्याको आइसोलेसन वार्ड समेत बनाएको छ ।
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले डर र त्रासका कारण सामान्य ज्वरो र खोकीका बिरामी पनि निजी अस्पतालले सरकारीमा पठाउने गरेको बताउदै मेडिकल ईथिक्स समेत निजी मेडिकल कलेज र अस्पतालले वेवास्ता गरेको बताए ।
मेडिकल कलेजले उपचार गर्न नमानेपछि नारायणी आएका विजयको तापक्रम चेक गर्दा उनको ज्वरो एकसय भन्दा पनि कम थियो।
सुविधासम्पन्न निजी अस्पतालमै उपचार गराउने भनि उनका आफन्तले यहाँका अन्य अस्पतालमा लग्दा पनि उनीहरुले भर्ना गर्ने मानेन्। आफैं व्यवस्थापनतर्फ नलागी निजी अस्पतालले संकटको बेला पीपीईका लागि सरकारको मुख हेरेर बसेको देखिन्छ ।
यसरी संकटको बेला जनताको ज्यान जोगाउन योगदान दिनुको साटो पैसाको मात्र मुख ताक्ने निजी अस्पताल र मेडिकल कलेजमाथि सरकारले कहिले कार्बाही गर्ला ?
सरकारको निरीहताका कारण बढ्दो लापरबाहीसगैँ यदी महामारी फैलिएमा ठूलो जनधनको क्षति हुने देखिन्छ । सरकार बेलैमा कसिलो र बलियो हुन नसके थप जोखिमको भार कसले बोक्ने ?
