काठमाडौं, १४ चैत । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ्य भएपछि अस्पताल भर्ना भएका छन् । बिहीबार राती ११ बजे प्रधानमन्त्री ओलीले असहज महसुस गरेपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ ।
प्रधानमन्त्री ओलीको मुटुको धड्कन बढ्ने समस्या देखिएको हुनाले बिहिवार राती मनमोहन सेन्टर महाराजगंजमा भर्ना गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।
उनको मुटुको चालमा केही तलमाथि देखिएको भए पनि अहिलेसम्म स्थिति सामान्य बनिसकेको अस्पताल स्रोतले बताएको छ । स्वास्थ्य अवस्था सामान्य भइसकेको हुनाले आजै डिस्चार्ज गरिने ओलीकाे उपचारमा संलग्न चिकित्सक प्राडा दिव्यासिंह शाहले बताइन् ।
ओली गत फागुन ३० गते सोही अस्पतालबाट दोस्रोपल्ट मिर्गौला प्रत्यारोपण गरि ११ दिनमा बालुवाटार फर्किएका थिए ।उनलाई डिस्चार्ज गर्ने समयमा चिकित्सकले उनी अझै पनि संक्रमणको जोखिममा रहेको भन्दै कडा सावधानी अपनाउन भनेका थिए । तर बालुवाटार फर्किएलगतै ओलीले राजनितिक भेटघाटलाई तीव्रता दिएका थिए ।