अत्यावश्यक सेवाका श्रमिकलाई नरोक्न परिवार तथा घरबेटीलाई आग्रह, जनताका समस्या समाधान गर्न उद्योगव्यवसायीको प्रतिबद्धता

अत्यावश्यक सेवाका श्रमिकलाई नरोक्न परिवार तथा घरबेटीलाई आग्रह, जनताका समस्या समाधान गर्न उद्योगव्यवसायीको प्रतिबद्धता

  • बिहिबार, चैत्र १३, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौँ, १३ चैत ।
लकडाउनका समयमा राष्ट्र र सरकारलाई सहयोग गर्न तथा आपूर्तिलगायत विषयमा जनताका समस्या समाधान गर्न उद्योगव्यवसायीले प्रतिबद्धता जनाउनुभएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगड र विभिन्न उद्योग व्यवसायीबीच राज्यमन्त्रीकै कार्यकक्षमा बुधबार र आज भएको छलफलमा उहाँहरुले लकडाउनका समयमा गरीब, विपन्न तथा मजदूर आदिका समस्या समाधान गर्न आफूहरु दृढ भएको प्रतिबद्धता व्यक्त गर्नुभयो ।

देशमा आवश्यक औषधिलगायत उपचारका उपकरण व्यवस्थापन गर्ने, गरीब, निमुखा तथा सङ्कटमा परेका जनतालाई खाद्यान्न र अन्य सामग्री सुलभ व्यवस्थापन गर्ने, खाद्यान्न तथा अत्यावश्यक वस्तुको उत्पादन, आयात तथा आपूर्तिलाई सहजीकरण गर्ने विषयमा उहाँहरुबीच छलफल भएको राज्यमन्त्रीको सचिवालयले जनाएको छ ।

आर्थिक क्षेत्रमा पर्न सक्ने सम्भावित असरबारे अध्ययन गरी त्यसको निराकरण गर्न सम्बन्धित निकायसँग छलफल गरी सल्लाहसुझाव दिने तथा नेपाल सरकारको अधीनमा रही सरकारको निर्देशनानुसार समन्वयकारी र सहयोगी भूमिका निर्वाह गर्ने विषयमा पनि उहाँहरुबीच छलफल भएको थियो ।

उद्योगव्यवसायीले यस समयमा सरकारलाई सहयोग र सल्लाह दिन बुद्धिजीवी, मिडिया, नागरिक समाज र जनतालाई आह्वान पनि गर्नुभएको छ । कोरोना भाइरसको सम्भावित जोखिमलाई दृष्टिगत गरी सरकारले गरेको लकडाउनका समयलाई सम्बोधन गर्नका लागि उद्योग व्यवसायीहरुको एक समिति शुक्रबार गठन हुने पनि थाहा भएको छ ।

छलफलमा उद्योगव्यवसायी पवनकुमार गोलियान, सतीशकुमार मोर, शेखर गोल्छा, निर्वाण चौधरी, सुलभ अग्रवाल, प्रदीपकुमार श्रेष्ठलगायत हुनुहुन्थ्यो ।

यसैबीच आपूर्ति मन्त्रालयले अत्यावश्यकीय वस्तु तथा सेवाको उत्पादन, ढुवानी तथा बिक्रीवितरणमा संलग्न श्रमिकहरुलाई काममा जानबाट नरोक्न सम्बद्ध परिवार तथा घरबेटीहरुलाई आग्रह गरेको छ ।

कतिपय घरधनीहरुले आफ्नो घरमा बहालमा बस्ने श्रमिकलाई घरबाहिर ननिस्कन दवाव दिएको र कतिपयले आफ्नो परिवारका सदस्यलाई काममा जानबाट रोकेको जस्ता गुनासाहरु आएको भन्दै मन्त्रालयले नरोक्न आग्रह गरेको हो ।

सरकारले संचालनमा रहने उद्योग, ढुवानीकर्ता र बिक्रेताहरुलाई आˆना कामदारहरुलाई निश्चित सवारी साधनमार्फत ल्याउने, पुर्‍याउने, कार्यस्थलमा प्रवेश गर्नुपूर्व र कार्यालय भित्र समय समयमा साबुन पानीले हात धुने, सेनिटाइजरको प्रयोग गर्ने, मास्क तथा पञ्जा लगाउने, निर्धारित न्यूनतम दूरी कायम गरी काम गर्ने, न्यूनतम जनशक्तिबाट काम गराई आलोपालोमा बोलाउने, सेवाग्राहीको भीड हुन नदिन आवश्यक प्रबन्ध मिलाउने जस्ता व्यवस्थाहरु अनिवार्य रुपमा गर्नु पर्ने नियम बनाएको जानकारी दिदैँ  मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले  तोकिएअनुसार भए नभएको सम्बन्धमा नियमित अनुगमन गरिने बताए ।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ