राष्ट्र बैंकको तीन दशक लामो अनुभवसहित बीमा प्राधिकरणको नेतृत्वमा थापा, आजदेखि सम्हाले कार्यभार

राष्ट्र बैंकको तीन दशक लामो अनुभवसहित बीमा प्राधिकरणको नेतृत्वमा थापा, आजदेखि सम्हाले कार्यभार

  • बिहिबार, कार्तिक १९, २०८३
  • मिर्मिरे अनलाइन

  • 114
    SHARES

काठमाडौं, १९ कार्तिक । नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष राजनविक्रम थापाले आजदेखि औपचारिक रूपमा आफ्नो जिम्मेवारी सम्हालेका छन्। बिहीबार प्राधिकरणको कार्यालय पुगेर उनले पदभार ग्रहण गरेका हुन्। सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकबाट थापालाई प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो।

अर्थ मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले थापालाई पद तथा गोपनीयताको शपथ गराएका थिए। शपथपछि अर्थमन्त्री वाग्लेले बीमा क्षेत्रको विकास र विस्तारका लागि निडर तथा निर्धक्क भएर काम गर्न उनलाई निर्देशन दिएका थिए।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रहेका थापा करिब तीन दशकदेखि बैंकिङ तथा वित्तीय क्षेत्रमा कार्यरत छन्। उनी पछिल्लो समय राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागमा कार्यरत थिए। राष्ट्र बैंकमा ३० वर्षे सेवा अवधिका कारण आगामी चैतमा अवकाश पाउने तयारीमा रहेका थापा अब बीमा क्षेत्रको नियामक निकायको नेतृत्वमा पुगेका हुन्।

थापासँग वित्तीय संस्था तथा बैंक सुपरिवेक्षण, नियमन, जोखिम व्यवस्थापन र संस्थागत सुशासनका क्षेत्रमा लामो अनुभव छ। उनले राष्ट्रिय जीवन बीमा कम्पनीको सञ्चालक तथा लगानी समितिको संयोजकका रूपमा समेत काम गरिसकेका छन्। त्यसैगरी निक्षेप तथा कर्जा सुरक्षण कोषको सञ्चालक समिति सदस्य तथा लगानी समितिको संयोजकको जिम्मेवारी पनि सम्हालेका थिए।

शैक्षिक रूपमा व्यवस्थापन, अर्थशास्त्र र कानुन विषयमा उच्च शिक्षा हासिल गरेका थापाले व्यवस्थापनमा एमफिल तथा भारतको सिंघानिया विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) गरेका छन्। बैंकिङ तथा व्यवस्थापनसम्बन्धी पुस्तक लेखन र अनुसन्धानमा समेत सक्रिय उनी सयभन्दा बढी अनुसन्धानमूलक लेखका लेखक हुन्।

बीमा क्षेत्र सुधारको अपेक्षा

तीन दशकको बैंकिङ तथा वित्तीय क्षेत्रको अनुभवसहित बीमा प्राधिकरणको नेतृत्वमा पुगेका थापासामु बीमा क्षेत्रको नियमनलाई प्रभावकारी बनाउने, संस्थागत सुशासन कायम गर्ने र बीमितको विश्वास अभिवृद्धि गर्ने महत्त्वपूर्ण जिम्मेवारी छ।

विशेषगरी बीमा कम्पनीहरूको वित्तीय अवस्था र जोखिम व्यवस्थापनको प्रभावकारी निगरानी, बीमा दाबी भुक्तानीमा देखिने समस्या समाधान तथा बीमितको हित संरक्षण नयाँ नेतृत्वका प्राथमिकताका विषय बन्नुपर्ने देखिन्छ।

त्यस्तै, ग्रामीण तथा दुर्गम क्षेत्रसम्म बीमाको पहुँच विस्तार गर्ने, कृषि तथा लघुबीमालाई प्रभावकारी बनाउने र डिजिटल प्रविधिमार्फत बीमा सेवा सहज बनाउने सम्भावना पनि उत्तिकै छ।

बीमा बजारमा देखिने अस्वस्थ प्रतिस्पर्धा नियन्त्रण गर्दै कम्पनीहरूलाई पारदर्शी, जवाफदेही र व्यावसायिक रूपमा सक्षम बनाउनु प्राधिकरणको अर्को महत्त्वपूर्ण कार्यभार हुनेछ।

बैंकिङ क्षेत्रको नियमन तथा सुपरिवेक्षणमा हासिल गरेको अनुभवलाई बीमा क्षेत्रको सुधारमा उपयोग गर्न सके थापाका लागि यो जिम्मेवारी संस्थागत परिवर्तनको अवसर बन्न सक्छ। अब उनको नेतृत्वमा बीमा क्षेत्रले कस्तो गति लिन्छ र बीमितले सेवा प्रवाहमा कस्तो सुधार महसुस गर्छन् भन्ने विषय आगामी दिनमा चासोका साथ हेरिनेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ