धनगढी चैत्र १२ । कोरोना विरद्ध खटिरहेका एक श्वास्थ्यकर्मीमाथि धनगढीमा एक सहकारीका व्यवस्थापकले औला टोक्नुका साथै चिरपटले हानेर घाईते पारेका छन् ।
वैतडीको पुरन चौँडी नगरपालिकामा भारतबाट फर्किएका सात जनालाई क्वारेन्टाईनमा राखिएको थियो । त्यही राखिएका सुनिल जागरीका बुवा नरेन्द्र जागरी सहितको टोलीले श्वास्थ्यकर्मीमाथि हमला गरेका थिए ।
नगरपालिकाले बनाएको क्वारेन्टाइनमा भारतबाट फर्केका ७ जनालाई राखिएको थियो । जागरीको आक्रमणबाट स्वास्थ्यकर्मी करनसिंह धामी घाईते भएका छन् ।
बुधबार भारतको बैंगलोरबाट फर्केका सुनील जागरीसहितका ७ जनालाई पुरचौंडी नगरपालिकाले वडा नम्बर ५ कुवाकोटको भुमीराज मावि काटैमा क्वारेन्टाइनमा राखेको थियो । भारतबाट आएका छोरालाई किन राखेको भन्दै स्थानीय सहकारीका प्रबन्धक समेत रहेका नरेन्द्रले क्वारेन्टाइनमै पसेर कुटपिट गरी औंला चपाएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोद कुवरले बताए ।
कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन स्वास्थ्यकर्मीले सुरक्षित तरिकाले क्वारेन्टाइनमा बसालेपछि परिवारका सदस्य आएर स्वास्थ्यकर्मीमाथि निर्धात कुटिपिट गरिएको पुरचौडी नगरपालिकाका स्वास्थ्य शाखा संयोजक विनोद कुँवरले बताए ।
कुटपिटबाट घाइते भएका स्वास्थ्यकर्मीलाई उद्धार गरेर उपचारका लागि स्वास्थ्यचौकीमा र्पुयाइएको छ । ज्यानको बाजी लगाएर कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन चौबीसै घण्टा काममा खटिएका स्वास्थ्यकर्मीमाथि भएको कुटपिटको नगरपालिकाले निन्दा गरेको छ ।
बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै नगरपालिकाले आफ्नो ज्यानको बाजी लगाएर उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि हातपात गर्ने र औंला समेत चपाएर घाइते बनाउनेलाई कारबाहीको माग गरेको छ।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पृथ्बीराज अवस्थी र स्वास्थ्य महाशाखाका प्रमुख विनोद कुवरले संयुक्त रुपमा जारी गरेको विज्ञप्तीमा कोरोना भाइरसको संक्रमणका खतरा बढी रहेका बेला, स्वास्थ्यकर्मीको मनोबल घटने गरी गरिएको घटना निन्दनीय भएको बताएका छन् ।
स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने नरेन्द्रलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।