लकडाउनमा पनि बन्द भएनन् भक्तपुरका इँटाभट्टा, २० हजार मजदुरको जोखिममा

लकडाउनमा पनि बन्द भएनन् भक्तपुरका इँटाभट्टा, २० हजार मजदुरको जोखिममा

  • बिहिबार, चैत्र १३, २०७६
  • रमेश गिरी

  • 10.3K
    SHARES

भत्तपुर, १३ चैत ।

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण नेपालमा भेटिएपछि सरकारले विगत तीनदिनदेखि १८ गतेसम्मका लागि देशभर लकडाउन गरेको छ । लकडाउनले यतिखेर देश ठप्प छ । गतिविधि शून्य छन् । तर भक्तपुरका इँटाभट्टा भने अझै चलायमान छन् । यहाँ सरकारको लकडाउनको कुनै असर परेको छैन । नियमित मजदुर काममा खटिरहेका छन् । साँझ नपर्दै मजदुरको भीडभाड एकै ठाउँमा हुन्छ ।

भक्तपुरमा ६२ वटा इँटाभट्टा सञ्चालनमा छन् । आजसम्म कुनै इँटाभट्टा बन्द छैनन् । सबै भट्टामा अरु बेला जस्तै मजदुर नियमित काम गरिरहेका छन् । इँटाभट्टा सञ्चालकको दैनिकी फेरियो तर यहाँ कार्यरत करिब २० हजार मजदुरको दैनिकी भने उस्तै छ ।

चाँगुनारायण नगरपालिकाका–९ ताथलीस्थित इँटाभट्टामा काम गर्ने काभ्रे भकुण्डेबेँसीकी सन्तमाया विकको दैनिकी उस्तै छ । उहाँलाई अहिले बनाएको इँटा सुकाउने, चाङ लगाउने र थन्क्याउने चटारो छ । उहाँलाई सरकारले गरेको लकडाउनबारे थाहा छैन । उहाँ भन्नुहुन्छ, “खै बाहिर सरकारले बन्द ग¥या छरे भन्छन्, यता त बन्द छैन, हामी सधैँ काम गरिरहेका छौँ, छिटो काम सकेर घर जान पाए हुन्थ्यो ।”

ताथलीकै अर्को इँटाभट्टामा काम गर्ने रामेछापका सन्ते तामाङले सरकारले सबैतिर बन्द गरेको छरे भन्ने सुनेको बताउँदै गाउँमा मकै छर्ने, खेतीपाती गर्ने बेला भएकाले गाउँ फर्कन पाए सहज हुने बताउनुहुन्छ ।

“शुक्रबार बजार जाने ग¥याथ्यौँ, अब त बन्द भयो रे, यहाँको बजार भनेकै भट्टी हो, त्यो चलेकै छ, रक्सी खाएपछि कहिलेकाँही झगडा भइहाल्छ”, उहाँले भन्नुभयो । इँटाभट्टामा महिला, बालबालिकालाई ज्वरो आउनु, खोकी लाग्नु सामान्य भए पनि एकपटक सबै मजदुरको स्वास्थ्य परीक्षण गरेर मात्रै घर पठाइदिए ढुक्क हुने उहाँ बताउनुहुन्छ ।

चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले आफ्ना नगरपालिकाभित्रका इँटाभट्टा सञ्चालकलाई भट्टाका काम बन्द गर्न र मजदुरलाई कोरोना सङ्क्रमणबाट जोगाउन गरेको आग्रह अटेर गरेको बताउनुभयो । इँटाभट्टामा बाहिरबाट आउने मान्छेको सम्पर्क भइरहने, भीडभाड भइरहने र सरसफाइमा ध्यान नदिने भएकाले उनीहरु कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको उहाँको भनाइ थियो ।

“भक्तपुरका इँटाभट्टामा मजदुरले काम गरिरहेका छन्, भीडभाड र भेला सधैँ हुन्छ, भट्टी पसलमा सधैँ बाक्लो जमघट हुन्छ, बेलाबेलामा झगडा हुने गरेको गुनासो आउँछ”, नगरप्रमुख मिश्रले भन्नुभयो, “इँटाभट्टा सञ्चालकलाई काम बन्द गर्न र सुरक्षा अपनाउन भनिसके,ँ अटेर गरेका छन्, यसबारेमा मन्त्रालयमा पनि भनिसकेँ, भक्तपुरका सिडिओलाई पनि पटक पटक भनिसकेँ कसैले चासै दिँदैनन् ।”

यता प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भने व्यवसायीलाई काम बन्द गरेर मजदुर घर फर्काउने व्यवस्था गर्न निर्देशन दिएको बताउनुभयो । भक्तपुर इँटा व्यवसायी सङ्घका अध्यक्ष नातिभाइ ह्याम्बाले आठ दिनदेखि नयाँ इँटा बनाउने काम बन्द गरेको बताउँदै अब सबै इँटाभट्टा बन्द गर्ने तयारी गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सिडिओले मजदुरलाई घर पठाउन पास बनाइदिने भन्नुभएको, इँटाभट्टा बन्द गर्ने निर्णयमा पुग्यौँ, अहिलेको विषम परिस्थितिमा राज्यले गरेको निर्णयलाई नमान्ने कुरा भएन, अब १० दिनभित्र इँटा पोल्न बन्द गर्छौं ।”

उनीहरु घर नगएसम्म काम नदिँदा बरालिएर बजार जाने भएकाले बजार जान रोक्न पनि काममा लगाउन बाध्य भएको बताउँदै उहाँले अहिले बनाइसकेको इँटा व्यवस्थापनमा लागेको जानकारी दिनुभयो । जेठ २० गते भट्टामा आगो बन्द गर्ने पुरानो निर्णय भए पनि अहिलेको अवस्थामा मजदुरलाई गाडीमा हालेर घरघर पठाउने र १० दिनभित्र सबै भट्टाको आगो बन्द गर्ने तयारी गरेको अध्यक्ष ह्याम्बाले बताउनुभयो ।

इँटाभट्टामा महिला तथा बालबालिकाका लागि काम गर्ने भन्दै आएका एनजिओ, आइएनजिओ यतिखेर भने गायब भएका छन् । इँटाभट्टामा मजदुर बिरामी भइरहेको अहिलेको समयमा उनीहरुको स्वास्थ्य परीक्षण गरेर घर फर्काउनेबारे भने कसैले चासो नदिएको मजदुरको गुनासो छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ