भैरहवा, चैत्र १३ । मुख्यमन्त्री शंकर पोखरेलले दैनिक रुपमा सार्वजनिक आहवन गर्दै घरभित्रै बस्न जनतालाई बारम्बार आग्रह गरिरहनुभएको छ । उहांले लकडाउनको उल्घंन नगर्न बारम्बार अनुरोध पनि गर्नुभएको छ ।
उहांले दैनिक रुपमा जनतालाई आग्रह गर्दै सामाजिक सन्जाल, विज्ञप्ती मार्फत अपील पनि गरिरहनुभएको छ । मुख्यमन्त्री पोखरेलले बुधबार अपील गर्दै लेख्नुभयो ,‘ शहरी आवास क्षेत्रका टोल विकास संस्थाले स्थानिय सुरक्षा निकायको सहयोगमा आफ्नो टोलभन्दा बाहिरको व्यक्तिलाई आउनबाट रोकौ । टोलका बासिन्दाहरु पनि वाहिर नजाउ । खाद्यान्न र तरकारीको व्यवस्था टोलकै पसलहरुमा मिलाऔं । कोरोना भाइरसवाट जोगिन सामाजिक र व्यक्तिगत दुरीलाई निरन्तर कायम राखौं । अत्यावश्यक कामका लागि वाहिर जानु नै परेमा स्थानिय सुरक्षा निकायको अनुमती लिएर मात्र जाऔं ।’
चौबिस घन्टामा १८ घन्टा भन्दा बढी कोरोनाको जोखिम र त्यसको पुर्व तयारी सम्बन्धमा योजना बनाउदैं स्थलगत अध्ययन अनुगमनमा हिडीरहनुभएका पोखरेल चिन्तीत हुनु पनि स्वभाविक हो । १२ जिल्ला रहेको प्रदेश ५ को बर्दिया, नेपालगन्ज, दांग, कपिलवस्तु, रुपन्देही, पश्चिम नवलपरासी भारतसंग सीमा जोडिएको क्षेत्र हो । भारतमा जनता कर्फयू लागेपछि सीमावर्ति शहरबजारमा त्यसको प्रभाव पर्नु स्वभाविक भएता पनि प्रदेशको पहाडी जिल्ला गुल्मी, अर्घाखाची, पाल्पा, प्युठान, रोल्पा, रुकुममा भन्दा तराईका जिल्लामा मान्छेहरुको बलमिच्याई र बढी ओहोर दोहोर गरिरको प्रशासनको ठम्याई छ ।
एकातिर भारतसंग खुल्ला सीमाना अर्कोतिर शहर बजारका मान्छेहरुको जिद्धिपनले पनि संघीय सरकार, प्रदेश सरकार, स्थानिय सरकार र प्रहरी प्रशासनको अपीललाई समेत चुनौति दिईरहेको छ । तथापी मुख्यमन्त्री पोखरेलले दैनिकजसो जनतालाई अपील गर्ने क्रममा मंगलबार पनि भन्नुभएको छ, ‘लकडाउनको अबधिमा अत्यावश्यक सेवा वाहेकका अन्य सवारी साधन र व्यक्तिहरु सवारी साधन सहित सडकमा आउनेक्रम नरोकिएको गुनासो आइरहेकोले निर्देशनको अनिवार्य पालना गर्नुपर्नेछ । निर्माणजन्य सामाग्री ढुवानीका साधनहरु पनि रोकिएको छ । त्यस्ता साधनहरु चलेको पाइएमा सुरक्षाकर्मीले रोक्न र कार्वाहीको प्रकृया अघि वढाउन सक्छन् । सबैले आदेशहरुको पालना गरौ । आफु सुरक्षित होउ अरुलाई पनि सुरक्षित हुन सहयोग गरौ ।’
मुलुकमा ७ वटा प्रदेशका मुख्यमन्त्रीहरुमा कोरोनाको पुर्व तयारीमा प्रदेश ५ का मुख्यमन्त्री पोखरेल एक कदम बढी क्रियासील भएको देखिएको छ । तर केही शहरीया मान्छेहरु जिद्धि गरिरहेका छन् । जसको दृष्टान्त बुधबार दिउंसो भैरहवामा देखियो । भैरहवाको मिलनचौंकमा लकडाउनको अवेज्ञा गरेको भन्दै डयूटिमा खटिएका प्रहरीले केही साइकल चालकलाई सडकमै मुर्गा बनाएर सजाए दिए । उक्त सजाए दिएको भिडीयो र तस्वीर सामाजिक सन्जालमा भाइरल भयो । लगत्तै प्रहरी अधिकारीले ड्युटिमा खटिएका प्रहरी जवानलाई कारबाहि गर्ने बताए ।
तर केहीबेरमै प्रहरी भ्यानमा माईक लगाएर कोरोना भाईरसको संक्रमणबाट आफु पनि बचौं, अरुलाई पनि बचाऔं । अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कऔं भन्दै प्रहरी भ्यान भैरहवा बजार परिक्रमा गर्न थाल्यो । प्रहरीको उक्त दोधारे कृयाकलाप देखेर नागरिक समाजका अगुवाहरु आश्चर्य चकित भएका छन् । विभिन्न बहाना बनाएर हिडडुल गर्नेहरुलाई मुर्गा बनाएको विषयमा ओलोचना गर्नु बेकारको काम भएको नागरिक अगुवा विजय सागरले बताउनुभयो । रुपन्देहीका नागरिक अगुवाहरुको संस्था (विएमजी )का संस्थापक अध्यक्ष सागरले भन्नुभयो, ‘राज्यले बारम्बार आग्रह गरेको छ । माइकिंग गरिएको छ । यति गर्दा गर्दै पनि जथाभावि हिड्नेलाई नैसिहयत दिने ढंगले सडकमै गरिएको उक्त कारबाहि ठीक छ । कमसे कम यसले सन्देश त दिन्छ की सडकमा अनावश्यक हिड्नु हुदैन भन्ने । ’
सहर बजार जिद्धीमान्छेहरुको क्रीडा स्थल बन्न थालेको भन्दै नागरिक सचेतना फैलाउदा फैलाउदैं पनि जिद्धी गर्नेहरुलाई कारबाहि गर्नुको विकल्प नभएको श्रीबहादुर रायमाझीले बताउनुभयो । शिक्षाशास्त्री रायमाझीले भन्नुभयो, ‘सकेसम्म घरमै बस्ने, नसके एकाघर भन्दा यता उता नगर्ने भनेर यतिका प्रचार प्रसार गरिएको छ । तर मान्छेहरु तरकारी किन्ने, बजार गर्ने भन्दै अन्य बन्द हड्तालको समयमा झै अटेर गरी हिडीरहेका छन् । यो गलत हो । ’ रायमाझीले यतिबेला आफुखुसी हिड्ने मान्छेलाई कानूनी कारबाहि गर्न कन्जुसाई गरेमा त्यसले बिकराल रुप लिने पनि बताउनुभयो ।
जिद्धी मान्छेहरुकै कारण समाजमा संकट निम्तिने समाजशास्त्रका जानकार थानेश्वर पान्डेले तर्क गर्नुभयो । उहांले भन्नुभयो, ‘यो अन्य बेलाको बन्द र निषेधाज्ञाको समय होइन कि प्रहरीको आखां छल्दै दौडधुप गर्ने, लुकि लुकि दोकान खोल्ने । यतिबेलाको प्रसंग फरक छ । यो महासंकटको समय हो ’
पान्डेले मान्छेहरु बुझेर पनि बुझपचाई रहेका तर्क गर्दै त्यस्ता मान्छेलाई हदै सम्मको कारबाहि गर्नुपर्ने बताउनुभयो ।
कोभिड १९ लाग्यो भने आफु पनि मर्ने, परिवार पनि मार्ने, छरछिमेक पनि खतरामा पर्ने, अस्पतालमा भर्ना हुदां आफन्तले भेट्न पनि नपाउने र अन्तिम सदगत गर्दा मलामी पनि जान नपाउने बाध्यता रहेको उल्लेख गर्दै पान्डेले वर्तमान विश्व परिवेशमा मानव जातिलाई चुनौति दिने कोभिडको उपचार सेल्फ क्वारेन्टाइन नै भएको बताउनुभयो ।
विश्वमा लकडाउनलाई उल्घंन गर्दा इटलीले ठूलो क्षति ब्यहोरिरहेको छ । शुरुवातमा ५ जनामा देखिएको कोभिड १९ त्यहांका नागरिकले वेवास्ता गरि हिडडुल गर्दा आज इटली तहसनहस जस्तै भएको छ । बेलायतका राजकुमारलाई समेत कोरोनाले छोएको खबर प्राप्त भएका छन् । छिमेकी मुलुक भारतमा जनता कर्फयू नै लगाइएको छ । कोरोनाको उद्गम स्थल चिनमा अनुशासनकै कारण भाइरस नियन्त्रणमा आएको हो । तर हाम्रो देशमा सरकारी निर्देशनको अवेज्ञा गर्दै गाउमा भन्दा सहरमा मान्छेहरु लर्को बाधेंर किनमेल र घुमघामको लागि हिडीरहनु गलत भएको नागरिक अगुवाहरुको तर्क छ ।
स्थानिय वडा सरकारको निगरानीमा टोल स्तरमा खाद्यान्न र अत्यावश्यक बस्तु किनमेल गर्ने प्रबन्ध गरेमा पनि भीड नियन्त्रणमा सहज हुने नागरिक अगुवा सागरको सुझाब छ । सागरले ज्याला मजदुरी गर्नेहरुको लगत संकलन गरेर उनीहरुलाई आधारभूत खाद्यान्नको व्यवस्थापन पनि स्थानिय सरकारले गर्नुपर्ने बताउनुभयो । उहांले भन्नुभयो, ‘बिहान बेलुका हातमूख जोर्नकोलागी काम गर्नै पर्ने बाध्यतामा रहेका मजदुरलाई स्थानिय सरकारले दाल चामल, तेल नुन दिनुपर्दछ । ताकी उनीहरु पनि सेल्फ क्वारेन्टाइनमा बसून् । ’

लकडाउनको कारण दिनभर सुनसान भएको भैरहवा बजार सांझपख भने मान्छेहरुको हुल देखिन्थ्यो । मान्छेहरु तरकारी बजार र किराना पसलमा भीड लागेका थिए । कयौं युवा युवति सांझ पख बजारमा टहलीरहेका थिए । उनीहरुलाई रमाईलो मान्दै हिडीरहेका पनि देखिन्थे । विगतका बन्द हड्तालको बेला साइकल, मोटरसाइकल , कार चलाउदा बन्दको उल्घंन गरेको भन्दै ‘हिम्मतवाला’, ‘ठूलो मान्छे’, ‘साहसी मान्छे’, भन्ने उपमा पाएकाहरु पनि यतिबेला सोही शैलीमा आफ्नो रबाफ देखाउदा प्रहरीलाई सम्झाई बुझाई गर्न धौं धौं भएको छ । रुपन्देही प्रहरीले सरकारी आदेशको अवेज्ञा गरी सवारी चलाएको आरोपमा मोटरसाईकल १ सय १२ , स्कुटी ८ , कार १ र साइृकल ७ वटा नियन्त्रणमा लिएको रुपन्देही प्रहरी प्रवक्ता समेत रहेका डिएसपी खड्क बहादुर खत्रीले बताउनुभयो । उहांले भन्नुभयो, ‘मान्छेहरुको जिद्धीपन देख्दा आश्चर्य नै लाग्छ । चौतर्फी प्रचार प्रसार गर्दा पनि मान्छेहरु अटेर गरिरहेका छन् । ’