आजबाट एक साताका लागि भारत र चीनसँगको सीमा बन्दः यात्रुको आवागमनमा रोक, अत्यावश्यक वस्तुको ढुवानी हुने

आजबाट एक साताका लागि भारत र चीनसँगको सीमा बन्दः यात्रुको आवागमनमा रोक, अत्यावश्यक वस्तुको ढुवानी हुने

  • सोमवार, चैत्र १०, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौँ, १० चैत ।
कोरोना भाइरसको सम्भावित सङ्क्रमणको जोखिम नियन्त्रण र रोकथामका लागि आजदेखि एक साताका लागि अन्तर्राष्ट्रिय सीमा नाका(भारत र चीनसँगको सीमा बन्द )बाट यात्रु आवागमनमा रोक लगाईएको छ ।

मन्त्रिपरिषद्को बैठकले आज बिहान १० बजेदेखि चैत १६ गतेसम्म लागू हुने गरी एक साताका लागि अन्तर्राष्ट्रिय सीमाका सबै प्रवेश नाकाहरूबाट यात्रु आवागमन स्थगन गर्ने निर्णय गरेको हो ।

अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाका अनुसार आज बिहान १० बजेबाट नेपालसँग सीमा जोडिएका चीन र भारतसँगका सीमा नाकाबाट आवतजावतमा रोक लगाईएको हो ।
“वस्तुको सीमा वारपार नियमित हुन्छ, यात्रुको मात्र आवागमन मात्र स्थगन गरेका हौँ”, उहाँले भन्नुभयो, “यो सङ्क्रमण धेरै व्यक्तिको आवतजावतबाट र सीमा पार गर्नेबाटै सिर्जना हुने भएकाले अहिले उत्पन्न विषय र छिमेकी मुलुकहरूको हितलाई ध्यानमा राखेर आवागमन स्थगित गर्ने निर्णय भएको हो ।”
अन्तर्राष्ट्रिय रूपमा र क्षेत्रीय रूपमा हेर्ने हो भने दक्षिण एशिया, पूर्वी एशिया, कोरोनाबाट बढी सङ्क्रमित हुँदै गएको अवस्थामा यस्तो निर्णय लिनु परेको सरकारले जनाएको छ ।

उहाँले भन्नुभयो, “हामीले बहुपक्षीय, द्विपक्षीय सहयोगहरू अघि बढाउनुपर्नेछ, एउटा देशमा भएको सङ्क्रमण अर्को देशमा नसरोस्, जोखिम पनि नबढोस्, एकापसमा सहयोग पनि बढाउन र समझदारी कायम होस् भनी यो निर्णय भएको हो ।”

यस्तै सरकारले कोरोनाबाट सङ्क्रमण भइहालेको खण्डमा उनीहरूको उपचारका लागि चन्द्रागिरि नगरपालिकास्थित सशस्त्र प्रहरी बलको अस्पताललाई ‘डेडिकेटेड’ अस्पतालका रूपमा रुपान्तरण गरी व्यवस्थापन गर्ने भएको छ । उक्त अस्पतालमा सेना, प्रहरीलगायतका चिकित्सकहरूको परिचालन गरेर त्यसलाई आवश्यक परेमा कार्यान्वयनमा ल्याउने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

अत्यावश्यक सेवा नियमित

सरकारले अत्यावश्यक सार्वजनिक सरकारी क्षेत्रका सबै कर्मचारी नियमित काममा आउने र सेवाहरू नियमित रूपमा सञ्चालन हुने जानकारी दिएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नियमित रूपमा बैठक बसेर बजारको आपूर्ति व्यवस्थाको अनुगमन गर्ने, आपूर्ति सहज तुल्याउने र बजारमा वस्तु अभाव हुन लागेमा भण्डारणलाई व्यवस्थित गर्ने निर्णय गरेको छ । कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्नेलाई तत्काल कानूनी दायरामा ल्याएर सजाय गर्ने कार्यलाई अघि बढाउने जिम्मेवारी सो मन्त्रालयलाई दिएको छ ।

प्रधानमन्त्रीबाट राष्ट्रका नाममा भएको सम्बोधनमा उल्लेख भएका विषयवस्तु र निर्देशन कार्यान्वयन गर्न बनेको कार्यतालिका कार्यान्वयन गर्न मन्त्रिपरिषद्को बैठकले स्वीकृत प्रदान गरेको छ ।

सम्पूर्ण सरकारी र जनप्रतिनिधिमूलक निकाय तथा संस्थाहरूले कोभिड–१९ नियन्त्रण र रोकथामका लागि गरेका प्रयासलाई सरकारले प्रशंसा गर्नुका साथै अझ सशक्त ढङ्गले अघि बढाउन निरन्तर सहयोग र सहकार्यका लागि आग्रह गरेको छ ।

राजनीतिक दल, सामाजिक संस्था, सञ्चारमाध्यम सबैलाई अहिलेसम्म पु¥याएको सहयोग र सहकार्यका लागि धन्यवाद ज्ञापन गर्दै सरकारले अझ एकताबद्ध भएर सशक्त ढङ्गले सम्भावित जोखिमको विरुद्ध लड्न एकजुट हुन आह्वान गरेको छ ।

मन्त्री खतिवडाले निजी क्षेत्र र सुरक्षा निकायबाट मास्क, सेनीटाइजर र स्वास्थ्यकर्मीले प्रयोग गर्ने केही उपकरण उत्पादन भइरहेको जनाउँदै छिमेकी मुलुक भारत र चीनबाट थप सामग्री ल्याउन पत्रचार गरेको हुँदा केही दिनमा सहज हुने जानकारी दिनुभयो । केही औषधि भारतबाट आउने सुनिश्चित भएको जानकारी दिँदै उहाँले औषधिको अभाव हुने अवस्था नरहेको स्पष्ट पार्नुभयो ।

सङ्क्रमणको शङ्का लागेमा नजिकको स्वास्थ्य चौकी, प्रहरी चौकी, जनप्रतिनिधिमार्फत उपचारमा जान सकिने बताउदै उहाँले परीक्षण प्रयोगशाला, वीर अस्पताल, धुलिखेल र धरानमा व्यवस्था मिलाइएको जानकारी दिइयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ