बेइजिङ, ८ चैत । कोरोना भाइरसको प्रकोपले विश्व आक्रान्त भइरहँदा अमेरिका र चीनबीचको रोकथामका विषयलाई लिएर वाकयुद्ध फेरि सतहमा आएको छ ।
शुक्रबार फक्स न्युजसँगको अन्तर्वार्तामा अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले चीनले नोवल कोरोना भाइरस पत्ता लाग्नेबित्तिकै यसको रोकथामका लागि महत्वपूर्ण कदम नचालेको आरोप लगाएका थिए ।
भाइरसको संक्रमण फैलिएपछि पनि चीनले लाखौं मान्छे बाहिर जान दिएको उनले आरोप लगाएका थिए। पोम्पियोले वुहानबाट इटालीलगायतका देशमा थुप्रै मान्छे गएको आरोप लगाएका थिए।
बिहीबार रातिदेखि काेराेना संक्रमणबाट मृत्यु हुनेको संख्या चीनमा भन्दा इटालीमा धेरै भइसकेको छ। पोम्पियोले चीनले लापरबाही गरेका कारण धेरै मानिसको ज्यान जोखिममा पारेको आरोप लगाएका थिए। तर चीनले शुक्रबार साँझ अमेरिकी विदेशमन्त्री पोम्पियोको आरोपको कडा शब्दमा खण्डन गरेको छ।
चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुन्यिङले अमेरिकाले हुँदै नभएको कुरा बनाएर भनेको बताएकी छिन्। ट्विटरमा अंग्रेजी भाषामा ट्वीट गर्दै उनले लेखेकी छिन्, ‘भ्रम नफैलाउ।