श्रम तथा रोजगार कार्यालयमा भित्रैबाटै चुकुल !

श्रम तथा रोजगार कार्यालयमा भित्रैबाटै चुकुल !

  • मङ्लबार, चैत्र ४, २०७६
  • मिर्मिरे अनलाइन

  • 19.7K
    SHARES

विराटनगर, चैत ४ गते । उद्योगले बिना कारण कामबाट हटाएपछि तीनजना मजदुर महिला मंगलबार श्रम तथा रोजगार कार्यालय विराटनगरमा उजुरी लिएर पुग्दा एकजना पनि कर्मचारी भेटिएनन् ।
कार्यालय सुनसान मात्रै नभई ढोका नै खुलेन । कार्यालय प्रमुख प्रेमप्रसाद सन्जेल आफ्नो कार्यकक्षमा रहेपनि भित्रबाट चुकुल लगाएर बसेपछि पीडित मजदुर हैरानी महशुस गर्दै फर्कनु प¥यो ।
उजुरी बोकेर पुगेका पीडित मजदुर जस्तै कार्यालय समयमै ट्रेड यूनियनसँग सम्वद्ध नेताहरु पनि प्रमुखसँग छलफलका पुग्नु भएको थियो । तर, कार्यालयमा प्रवेश नगरि फर्कनु बाहेक अर्को विकल्प रहेन ।
कार्यालयमा प्रवेश नै नपाएपछि दुई घण्टासम्म बाहिरी परिसरमा ढुकेपछि जिल्ला प्रशासन कार्यालय मोरङमा आफ्ना गुनासो राखेर फर्किएको अखिल नेपाल ट्रेड यूनियन महासंघ प्रदेश १ का अध्यक्ष किशोर धमलालले जानकारी दिनुभयो ।
कार्यालय बन्द भए सुचना टाँस गरेर जानकारी दिनुपर्छ, हैन भने मजदुरको गुनासो सुनुवाई गर्नुपर्छ, धमलाले भन्नुभयो–जिल्ला प्रशासन कार्यालयले वास्तविक कुरा बुझेर जवाफ दिनुपर्छ भन्ने माग राखेका छौं । मजदुरसँग सम्बन्धित धेरै विषयमा छलफल र निर्णय लिनुपर्ने भएकोले संयुक्त ट्रेड यूनियनको टोलि कार्यालय पुगेको हो ।
मोरङको बुढीगंगा गाउँपालिका–३ स्थित सुरभी पोलिमर्स प्रा.लि. मा छ वर्षदेखि कार्यरत पार्वता भट्टराईसहित शोभादेवी करेल र सरस्वती ढकाल क्षेत्री गुनासो सुनुवाई गर्ने निकायमा उजुरी दर्ता गर्न जानु भएको हो । तर, कार्यालयमा प्रवेश नै नपाएपछि उजुरी लिएर फर्कनु बाहेक अर्को विकल्प नभएको पीडित भट्टराईले बताउनुभयो । प्रमुख बाहेक कुनै कर्मचारी नभएको कार्यालयमा श्रम स्वीकृतिको काम गत फागुन ३० गतेदेखि बन्द छ ।
श्रम तथा रोजगार कार्यालयका प्रमुख सन्जेलले आफ्नो आँखाको अप्रेशन गरेका कारण कोहिसँग भेट नगर्ने मनसाय राखेको बताउनुभयो । उहाँले सरकारले नै भीडभाड नगर्न भनेर निर्देशन दिइएको बेला हुल बाँधेर भेट्न जाने उचित समय नभएको दावी गर्नुभयो । श्रमस्वीकृति बन्द गरिएपछि कार्यालय फुर्सद जस्तै भएकोले अन्य कर्मचारीलाई बिदा दिएर आफूले रुँग्ने जिम्मा लिएको उहाँको भनाई थियो ।
केहि बिग्रेको छैन, आँखा अप्रेशन गरेर पनि कार्यालयमा बसेको छु सन्जेलले भन्नुभयो–श्रम स्वीकृति खुलेपछि बिहानदेखि बेलुकासम्म काम गर्ने कर्मचारी यहि मौकामा बिदामा बसेका हुन् । उहाँले आफ्नो कोहिसँग कुनै आग्रह पूर्वाग्रह नरहेपनि पीडित मजदुरलाई श्रम कार्यालयमा उजुरी गर्न लगाएर नेताहरुले उद्योगीसँग बार्गेनिङ गर्ने गरेको आरोप लगाउनुभयो ।
सुरभी पोलिमर्स प्रा.लि.ले यस अगाडी समेत बारम्बार मजदुरलाई बिना कारण कामबाट निकाल्दै आएको र श्रम ऐनले तोकेको पारिश्रमिक नदिएको भन्ने व्यहोराको उजुरी कार्यालयमा दर्ता भएका थिए । अनुगमनमा जाँदा मजदुरलाई थुनेर राखेको समेत भेटिएपछि कार्यालयले कारवाहीका लागि पत्राचार गरेको थियो । तर, पछि मजदुरले आफ्नो बयान फेरेपछि कारवाहीबाट पछि हट्नु परेको थियो ।
उद्योगका सञ्चालक बिनय चौधरीले भने कच्चा अभावका कारण मजदुर कटौती गर्नुपरेको दावी गर्नुभयो । सञ्चालक चौधरीले नयाँ कामदार राखेपछि पुरानालाई हटाउनु पर्ने बाध्यता समेत रहेको बताउनुभयो । उद्योगले दैनिक ज्यालादारीको रुपमा काम गर्ने मजदुरलाई समेत ४५० रुपिँया मात्रै दिने गरेको मजदुर नेता श्याम कामतले आरोप लगाउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ