भारतले कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि मानिसहरुको आवतजावतका लागि नेपालसँगका केही प्रमुख नाकाहरुबाहेक अन्य नाकाहरु बन्द गर्ने निर्णय गरेको छ ।
दुई देशका नागरिकहरुको ओहोरदोहर गर्नका लागि वीरगन्ज -रक्सौल, भैरहवा -सुनौली, महेन्द्रनगर -बनबासा र काकडभिट्टा -रानीगन्ज मात्र खुला राख्ने निर्णय गरेको हो । यसबाहेकका नाकाहरुबाट मानिसहरुको आवतजावतलाई तत्कालका लागि बन्द गरिएको छ । तर, कार्गो को ढुवानी भने यसअघिकै व्यवस्था अनुसार सबै नाकाबाट सुचारु रहनेछ ।
भारत सरकारको पछिल्लो निर्णयमा खुला राखिएका नाकाहरुमा पनि मानिसहरुको बृहत् स्वास्थ्य परीक्षण भने हुने जनाइएको छ। यदि कुनै व्यक्तिले पछिल्लो समयमा इटाली, इरान, स्पेन, जर्मनी र दक्षिण कोरियाको गएको पाइएमा राज्य तथा केन्द्र सरकारले तोकेको स्वास्थ्य सुविधाभित्र क्वारान्टाइनमा बस्नुपर्ने निर्णय पनि भारतको गृह मन्त्रालयले गरेको छ।
चारवटा नाकाहरुबाट मानिसहरुको आवातजावत खुला राख्ने भारतको पछिल्लो निर्णयले रोजगारीलगायतका विभिन्न प्रयोजनका लागि भारत आउने नेपालीहरु प्रत्यक्ष रुपमा प्रभावित हुनेछन्। विशेषगरी तराईका ग्रामीण भेगमा रहेका साना नाकाहरु प्रयोग गर्दै आएकालाई बढी असर पार्नेछ। नेपाल–भारतबीचको १७५१ किलोमिटर खुला सिमामा औपचारिक रुपमा करिब दुई दर्जन नाका सञ्चालनमा छन्। जसमध्ये आधा दर्जन प्रमुख नाका पर्छन्।