काठमाडौं, २९ फाल्गुण । मेगा बैंकले बुटवलमा आफ्नै भवन निर्माण गरी त्याहाँको शाखा सारेको छ । मेगा बैंक नेपाल लिमिटेडले रुपन्देही जिल्लाको बुटवलमा रहेको आप्mनै जग्गामा निर्मित भवनको आज उद्घाटन गरेको छ । प्रदेश पाँचका मुख्य मन्त्री शंखर पोखरेलले उक्त भवनको उद्घाटन गर्नु भएको थियो ।
सो भवनबाट बुटवलकै पुष्पलाल पार्कमा हाल सञ्चालनमा रहेको बैंकको शाखा कार्यालयलाई स्थानान्तरण गरिएको हो । यसै अवसरमा बैंकको प्रदेश नम्बर ५ को प्रादेशिक कार्यालय पनि उक्त नवनिर्मित भवनबाटै सञ्चालन गरिएको छ ।
मेगा बैंकले आफ्नै भवनबाट सञ्चालन हुने गरी पहिलो प्रादेशिक कार्यालयका लागि प्रदेश नम्बर ५ लाई रोजेकोमा खुसी व्यक्त गर्दै मुख्यमन्त्री पोखरेलले धन्यवाद व्यक्त गर्नुभयो । अन्य प्रदेशको तुलनामा प्रदेश नम्बर ५ आर्थिक र औद्योगिक हिसाबले अगाडि रहेको भन्दै मुख्यमन्त्री पोखरेलले बैंकिङ क्षेत्रसँगको सहकार्यका लागि प्रदेश सरकार तत्पर रहेको बताउनुभयो ।
कार्यक्रममा मेगा बैंकका अध्यक्ष भोज बहादुर शाहले बुटवलमा मेगा बैंकले आफ्नै जमिनमा अत्याधुनिक भवन निर्माण गरी सञ्चालनमा ल्याएकोमा खुसी लागेको बताउनु भयो । मेगा बैंकको पञ्चवर्षिय रणनीतिक कार्ययोजना अनुसार आफ्नै भवन निर्माण कार्यलाई अन्य प्रदेशमा पनि तीव्रता दिइने उहाँले बताउनुभयो ।
यस क्षेत्रका जनताको बैंकिङ पहुँच वृद्धि गर्न प्रदेश सरकारसँग हातेमालो गर्न मेगा बैंक तयार रहेको भन्दै अध्यक्ष शाहले रोजगारमूलक एवं उत्पादनमूलक क्षेत्रमा गरिने लगानीको पनि बढोत्तरी गर्ने लक्ष्य रहेको बताउनुभयो ।
मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले बैंकको आफ्नै भवन निर्माण भएपछि ग्राहकहरुलाई प्रदान गरिने सेवा, सुविधा लगायत कारोबारमा थप सहज हुने भन्दै उहाँले तत्कालिन पश्चिमाञ्चल विकास बैंकसँगको मर्जरदेखि नै प्रदेश नम्बर ५ मा मेगा बैंकको कारोबार उत्साहजनक भएकोमा अब गण्डकी विकास बैंक गाभिएपछि झन दरिलो उपस्थिति हुने बताउनुभयो । मेगा बैंक ‘बैंक अफ दि एयर २०१९’ बाट सम्मानित हुनुमा प्रदेश ५ का ग्राहकवर्ग, कर्मचारी र सरोकारवालाहरुको पनि श्रेय रहेको भन्दै उहाँले आभार व्यक्त गर्नुभयो ।
ग्राहकको विश्वास जित्दै अघि बढिरहेकाले मेगा बैंकले बैंकिङ कारोबारसँगै वित्तीय साक्षरता र परोपकारी कार्यलाई पनि प्राथमिकता दिएको सिइओ खुञ्जेलीले बताउनु भयो ।