फागुण २६ काठमाण्डौं । कोटेस्वरका व्यापारी रामहरी श्रेष्ठको हत्या आरोपमा साढे तीन बर्ष जेल बसेका पूर्व जनमुक्ति सेनाका व्रिगेड कमाण्डर गोविन्द बटालाले सफाई पाएका छन् । सर्वोच्च अदालतले उनलाई सफाई दिएको हो ।
बटालालाई ३ वर्ष कैद गर्ने जिल्ला र तत्कालीन पुनरावेदन अदालतको फैसला उल्ट्याउँदै सर्वोच्चका न्यायाधीशद्वय तेजबहादुर केसी र टंकबहादुर मोक्तानको इजलासले सफाइ दिएको हो ।
अर्का आरोपित ‘संकल्प’ भनिने अर्जुन कार्कीलाई जिल्ला र पुनरावेदन अदालतकै फैसला सदर गरी २० रुपैयाँ जरिवाना गरिएको छ । सर्वोच्चले त्यसलाई सदर गरेको छ ।
यो मुद्दामा जोडिएका ३ जना फरार रहेकाले मुद्दा मुल्तबीमा राखिएको छ । सर्वोच्चले २०६८ असार ६ गते यसमा श्रेष्ठको अपहरणदेखि अपराधसम्मको सिलसिला भएको भनी त्यसमा संलग्नहरू कसुरदार हुने व्याख्या गरेको थियो । सफाइ पाए पनि बटालाले ३ वर्ष १५ दिन कैद भुक्तान गरिसकेका छन् ।
चितवनको शक्तिखोरमा रहेको तेस्रो डिभिजनले कोटेश्वरका व्यापारी श्रेष्ठको घरमा सम्पर्क कार्यालय खोलेको थियो । २०६४ चैत १४ गते सम्पर्क कार्यालयमा १७ लाख रुपैयाँ र एउटा पेस्तोल ‘चोरी’ भयो । घटना छानबिनका लागि भन्दै बटाला सहितको टोलीले केशव अधिकारी, गंगाराम थापा र श्रेष्ठलाई कब्जा गरेर चितवन लगेका थिए ।
डिभिजनका ब्रिगेड कमान्डर बटालाले सोधपुछ गर्दा श्रेष्ठले आफूसँगै नियन्त्रणमा लिइएका अधिकारी र थापाको नाम लिए । बटालाको दाबी अनुसार २०६५ वैशाख ३१ गते बिहान ‘चोरीको रहस्य किन खोलिस ?’ भन्दै श्रेष्ठलाई अधिकारी र थापाले कुटपिट गरी मरणासन्न अवस्थामा र्पुयाए । उपचारका लागि अस्पताल लैजान खोज्दा बाटोमा श्रेष्ठको मृत्यु भयो । उनको शव नारायणी नदीमा फालिएको भन्ने विवरण जनमुक्ति सेनाको तेस्रो डिभिजनले २०६५ जेठ ३ गते प्रहरीमा पठाएको थियो ।
श्रेष्ठकी पत्नी रमिलाले बटाला नेतृत्वको माओवादी टोलीले ‘सानो काम छ भनी कब्जामा लिएको’ भन्दै बानेश्वर प्रहरीमा जाहेरी दिएकी थिईन् । रमिलाको बयानअनुसार वैशाख १५ गते राति बटाला र अरू ३ जनाले श्रेष्ठलाई पेस्तोल देखाई लिएर गएका हुन् । रमिलाले जाहेरीमा कालीबहादुर खाम र बटालाको नाम किटेकी थिइन् । पछि शक्तिखोरमै श्रेष्ठ बन्धक रहेका बेला बटालाले कुरा गराइदिँदै ‘तपाईंका श्रीमान् आउनुहुन्छ’ भनी आश्वासन दिएका थिए ।
प्रहरीसँगको बयानका क्रममा बटालाले खामको अंगरक्षकलाई ३ जनाले नियन्त्रण लिई नगद र पेस्तोल लगिएकाले छानबिनका क्रममा श्रेष्ठलाई आफ्नो नेतृत्वको टोलीले नियन्त्रणमा लिएको स्विकारेका थिए । उनको भनाई अनुसार, पर्सिपल्ट १७ गते घरको शौचालयमा टिसर्टमा पोको पारेको अवस्थामा १७ लाख फेला परेको थियो भने र्भयाङमुनि पेस्तोल भेटिएको थियो । ‘वैशाख १५ गते फेरि शिविरमा ल्याई सोधपुछ गर्दा उनले आरोप स्विकारे, अरूले स्वीकार गरेनन् । पछि सबैले स्विकारे,’ बटालाले बयानमा भनेका थिए, ‘गंगाराम र केशवले घटनाको पोल खोलेकाले पिटेको बताएका थिए ।’
मरणासन्न अवस्थामा रहेका रामहरिलाई उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा नारायणगढ–मुग्लिन सडकको भालुढुंगामा मृत्यु भएकाले गंगाराम र केशवले शवलाई झोलुंगे पुलको बीचबाट नारायण नदीमा फालेको बटालाले बताएका थिए । पानीमै डुबोस् भनेर उनीहरूले शवलाई तन्नामा बेरेर त्यसमा ढुंगासमेत राखेका थिए । शव पछि सड्न लागेको अवस्थामा त्रिशूली किनारमा फेला परेको थियो ।
श्रेष्ठको मृत्यु बटालाले भने जस्तो उपचार गर्न काठमाडौं लैजाने क्रममा भएको नभई वैशाख २६ गते बिहान ११ बजे चितवनस्थित शिक्षण अस्पतालको आईसीयूमा भएको थियो । अस्पतालका चिकित्सक डा. भोजराज अधिकारीले अचेत अवस्थामा श्रेष्ठलाई २५ गते बेलुकी पौने ९ बजे चार जनाले अस्पताल ल्याएको बताएका थिए ।
भेन्टिलेटरको सहायताले श्वास–प्रश्वास गराई राखिएका श्रेष्ठलाई भोलिपल्ट २६ गते बिहान सवा १० बजे डा. सुवास गुरुङले मृत घोषणा गरेका थिए ।
फरार सवारी चालक कार्की पछि अदालतमा उपस्थित भए र गाडी चलाउने बाहेकको काम आफूले नगरेको बताए । फरार रहेका सबैको फाइल मुल्तबीमा राखेर जिल्ला अदालत चितवनले दुई पटक मुद्दाको फैसला गरेको थियो ।