फागुण २६ काठमाण्डौं । प्रहरी संरचनामा डिआईजीको संख्या कटौतीको बिषयमा गृह सचिव र प्रहरी प्रमुख आईजीपी बीच विवाद भएको छ ।
स्राेतका अनुसार ‘कुनै करिअर प्लान नबनाई, औचित्य र आधार पुष्टि नगरी डीआईजीको दरबन्दी कटौती गर्ने कुरा कहाँबाट आयो सर ? प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली फागुन दोस्रो साता आफ्नो कार्यकक्षमा जंगिएपछि गृहसचिव महेश्वर न्यौपाने केहीबेर अक्क न बक्क भए का थिए ।
माघ २९ मा आफैंले आईजीपीको फुली लगाइदिएका ज्ञवालीबाट यस्तो आक्रोश पोखिएपछि न्यौपाने छक्क परे । ‘तपाईंलाई जे मन लाग्छ त्यही गर्नुस्, म यस्तो निर्णयमा सहमत हुन सक्दिनँ,’ ज्ञवालीले थपे । त्यसपछि गृहसचिवको कार्यकक्ष केहीबेर सुनसानजस्तै भयो ।
न्यौपानेले समायोजन र संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षण बन्ने क्रममा रहेको र १० वटा डीआईजी पद खारेज गर्ने विषय ज्ञवालीलाई सुनाएका थिए । ‘समायोजन प्रक्रिया अघि बढेको छ, दरबन्दी र पद तलमाथि हुन सक्छ, छलफल गरेरै अघि बढ्ने हो,’ गृहसचिवले यसो भनेपछि ज्ञवाली जंगिएका थिए । ‘केहीबेर भनाभन नै भयो,’ न्यौपाने र ज्ञवालीबीचको भेटबारे स्रोतले भन्यो, ज्ञवाली प्रहरी संगठनबारे गृहसचिवलाई आफ्ना कुरा राखेर निस्कनुभयो ।’ त्यसपछि आईजीपी ज्ञवालीले गृहमन्त्री रामबहादुर थापा र लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीसँग नेपाल प्रहरी कमजोर बनाउने गरी कानुनी प्रावधान ल्याउन नहुने धारणा राखेको स्रोतले बतायो ।
सचिव न्यौपानेले त्यस दिनको भनाभन सामान्य भएको बताए । आईजीपीले आफ्ना कुरा राख्नुभयो, हामीले पनि राख्यौं,’ उनले कान्तिपुरसँग भने, ‘डीआईजीको संख्या घटाउने विषय आएको हो । ओएन्डएम र समायोजन प्रक्रियासँगै यो विषय टुंगोमा पुग्छ ।’
प्रहरीमा हाल कार्यालय सहयोगीदेखि महानिरीक्षकसम्म ७९ हजार ५ सय २३ जनाको दरबन्दी छ तर ६८ हजार ७ सय ७६ जना मात्रै कार्यरत छन् ।
प्रहरीमा साधारण सेवातर्फ डीआईजी दरबन्दी ३४ रहेकामा गत माघ २८ देखि २२ रिक्त छन् । रिक्त दरबन्दी समेत समेटेर समायोजन गर्न लागिएको छ ।न्यौपानेका अनुसार समायोजनपछि प्रदेशमा करिब ५५ हजार र केन्द्रमा २५ हजार जति प्रहरी हुनेछन् । प्रदेश प्रहरीको नेतृत्व अब डीआईजीले गर्ने भएकाले ७ प्रदेशमा ७ डीआईजी हुनेछन् भने केन्द्रमा २७ जना रहनेछन् । ‘२५ हजार प्रहरीका लागि २७ डीआईजी किन चाहियो ?,’ उनले प्रश्न गरे ।कान्तिपुर दैनिकबाट छापिएको खबर