काठमाडौं, २६फागुन ।
नेपाल प्रवेश गर्ने विदेशी नागरिकले मंगलबारदेखि कोरोना भाइरसबाट संक्रमित नभएको स्वास्थ्य प्रमाणपत्र अनिवार्य बुझाउनुपर्ने भएको छ ।अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलका अनुसार गृह मन्त्रालयले नेपालस्थित विदेशी कुनीतिक नियोगलाई पत्राचार गरी यसबारे जानकारी गराइसकेकेा छ।
अबदेखि स्वास्थ्य प्रमाणपत्र अनिवार्य बुझाउने विदेशीलाइ मात्र प्रवेश दिइने छ। यो नियम मंगलबारदेखि लागू गर्न निर्देशन दिएकाे छ । चीन, दक्षिण कोरिया, इटाली, इरान र जापानबाट आउने विदेशीले आफू संक्रमित नभएको स्वास्थ्य प्रमाणपत्र हवाई कार्यालय र अध्यागमन नाकामा बुझाउनुपर्नेछ ।
यी मुलुकलाई ट्रान्जिट बनाई नेपाल प्रवेश गर्न खोज्ने विदेशीका हकमा पनि यो नियम लागू हुनेछ ।नेपालमा संक्रमण नफैलियोस् भनेर गृहले ती मुलुकका नागरिकलाई स्थल मार्गबाट नेपाल प्रवेशमा रोक लगाउन लागेको हो। गृहले यो विषयमा फागुन २२ गते कन्सुलर सेवा विभागमार्फत विदेशस्थित सबै नेपाली नियोगमा पत्राचार गरेको छ।
अध्यागमनले कन्सुलर सेवालाई पठाएको पत्रमा भनिएको छ, ‘अनअराइभल भिसा दिन रोक लगाइएका मुलुकका राहदानीवाहक र ती मुलुकलाई ट्रान्जिट बनाई नेपाल आउने अन्य मुलुकका राहदानीवाहकले पनि आफूलाई कोरोना संक्रमण नभएको हेल्थ सर्टिफिकेट अध्यागमन कार्यालयमा अनिवार्य बुझाउनुपर्नेछ।’