फागुण २३ काठमाण्डौं । वीरगन्ज चिनी मिलको जग्गा बेच्ने संघीय सरकारको निर्णयविरुद्ध प्रदेश २ को सरकारले संवैधानिक इजलासमा मुद्दा दायर गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले चिनी मिलको जग्गा बिक्री रोक्न र सरकारी कार्यालय आफ्नो मातहत ल्याउन संघीय सरकारलाई विपक्षी बनाएर सर्वोच्च अदालतको संवैधानिक इजलासमा मुद्दा दायर गर्ने निर्णय गरेको हो ।
प्रदेश २ को मन्त्रिपरिषदको बैठकले सरकारी जग्गा हस्तान्तरण, वीरगन्जको चिनी मिलको जग्गा बिक्रीमा रोक र संघीय सरकार मातहत रहेको कार्यालय प्रदेश मातहत ल्याउन संवैधानिक इजलासमा मुद्दा हाल्ने निर्णय गरेको मुख्यमन्त्री लालबाबु राउतले बताए ।
संघीय सरकारले वीरगन्ज चिनी कारखानाको जग्गा बिक्री गर्ने निर्णय गरेपछि प्रदेश सरकारले त्यसविरुद्ध मुद्दा हाल्ने तयारी गरेको हो । ‘संघले नै चलाइरहेको सिंचाइ, मत्स्य विकास र कृषिका ठूला कार्यालयहरु पनि प्रदेश सरकार मातहत ल्याउन संवैधानिक इजलासमा मुद्दा हाल्ने निर्णय गरिएको छ।
यस्तै, मन्त्रिपरिषद्को बैठकले ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत अति विपन्न दलित र मुस्लिम छात्रालाई महिनाको ५ सय रुपैयाँ प्रोत्साहन भत्ता दिने निर्णय पनि गरेको छ। कक्षा १ देखि ८ सम्म अध्ययनरत्त मुस्लिम र दलित छात्रालाई बैंकमार्फत प्रोत्साहन भत्ता उपलब्ध गराइने कार्यविधिे बैठकले पास गरेको छ।