काठमाडौँ फागुण २३ । प्रमुख प्रतिपक्षी दल काँग्रेसका सांसद गगन थापाले कोरोनाविरुद्धको राष्ट्रिय संकल्प आवश्यक रहेको भन्दै संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गरेका छन् ।
संसद्माप्रस्ताव दर्ता गर्दै थापाले नेपालमा कोरोनाको संक्रमण अहिलेसम्म देखिएको छैन भनेर ढुक्क हुन नहुने र त्यसबाट बच्नका लागि तयारी गरिराख्नुृ पर्ने बताए। ‘अहिलेसम्म मुलुकमा संक्रमण देखिएको छैन्न हामी ढुक्क भएका छौं,’ थापाले भने, ‘यस्तै ढुक्क भएर बसिरहँदा इरानमा जस्तै एक्कासि धेरै व्यक्तिमा संक्रमण देखियो भने के गर्ने ?
विश्व स्वास्थ्य संगठनले नेपाललाई भूअवस्थितिले मात्रै जोखिममा नराखेको भन्दै, नेपालसँग भएको क्षमताका आधारमा पनि जोखिममा राखेको बताए ।
कोरोनासँग जुध्ने योजना बनाउने काम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मात्रै नभई सरकार र आम नागरिक सबैको भएको थापाले बताए।
बाहिरबाट नेपाल आउने नागरिकको अनिवार्य जाँच गर्ने व्यवस्था मिलाउने र त्यसका आधारमा जाँच गराउने व्यवस्था मिलाउन पनि माग गरे।
प्रस्तावको समर्थन गर्दै सांसद दिव्यमणि राजभण्डारीले कोरोनाको सुखद अवतरण गराउने चरणमा रहेको चीनबाट कसरी सहयोग लिन सकिन्छ भनेर राजदूतलाई निर्देशन दिनु पर्ने बेलामा उल्टै राजदूतलाई फिर्ता बोलाउनु गैह्रजिम्मेवारपूर्ण कार्य भएको बताए।
जिम्मेवार मन्त्रीबाटै कोरोनामुक्त भन्दै विदेशी पर्यटकलाई नेपाल बोलाइनु लज्जास्पद भएको राजभण्डारीले बताए।
थापाले पेस गरेको प्रस्तावको सांसद राजेन्द्र केसी र नारायण खड्काले पनि समर्थन गरेका थिए। अहिले संसद्मा उक्त प्रस्तावमाथि छलफल भइरहेको छ।